भर्खरै :

आपराधिक क्रियाकलाप नियन्त्रण गर्नु जरुरी

–गोपाल नगरकोटी
घर परिवारलाई बेवास्ता गरेर, पढाइ छोडेर दिनरात कटाउने युवा तथा विद्यार्थीहरू बेलाबखत एकान्त स्थानमा समूह–समूहमा गन्थनिरहेको हामी पाउँछौँ । अभिभावकको नियन्त्रणमा नरहेका तर कुलतमा फसेका ती युवा–विद्यार्थीहरू कहिले बिहान त कहिले दिउँसो र राति अबेलासम्म कुनै एकान्त स्थानमा कहिले गाजा, भाङ, चुरोट, रक्सी खाएर त कहिले लागूऔषध सेवन गरेर मज्जाक लिइरहेका हुन्छन् । तिनीहरू मनपरी गफ हाक्छन्, एकले अर्कालाई गाली गर्छन् र लागूऔषध सेवन गरेर जीवन बिताउने कुरा फुक्छन् । यिनीहरूको संसार नै पढाइमात्र होइन घर परिवार र समाजबाहिर रहेर कुलतहरुसँगै एकान्त स्थानमा बिताउनु हो । तिनीहरु गाजा, भाङ, चरेस खान्छन्, लठ्ठ हुन्छन्, नसामा परेर आधा–आधा दिन पनि सुतेर दिन कटाउँछन् । मनपरी बोल्नु, गाली गर्नु, अश्लील शब्द उच्चारण गर्नु उनीहरूको दिनचर्याजस्तै भइरहेको छ । समाजमा देखिन थालेको यी विकृत दृश्यहरू कहिलेसम्म टुलुटुलु हेरेर थुक निलिरहने ?
समाजमा देखिएका यस्ता विकृत समस्याको उपचार समयमै हुनुपर्छ । समयमा उपचार नखोजे यो रोग अर्काे नयाँ पुस्तामा सर्न बेर लाग्दैन । यसबाट परिवार र स्वयं कुलतमा फसेका युवा–विद्यार्थीहरूले दुःख पाउँछन् । जानी या नजानी कुनै पनि व्यक्ति कसैको लहै लहैमा लागी भए गरिएका सामाजिक अपराधहरूको समयमै पहिचान गरिनुपर्छ । कुलतमा लागे लागोस् भनेर बेवास्ता गरिए त्यसले पछि समस्या ल्याउनेछ । त्यो एउटा टोलबाट अर्काे टोल या बस्तीमा सर्नेछ र सामाजिक अपराधीहरूको सङ्ख्या र थलो बढ्नेछ । यसको समयमै पहिचान गरी निकास खोज्नुपर्छ । यस कार्यको अन्त्य गर्न परिवारका सदस्य, शिक्षक, सामाजिक कार्यकर्ता, बुद्धिजीवी या प्रबुद्ध वर्ग अघि बढ्नुपर्छ ।
समाजका कति बुद्धिजीवी र शिक्षितहरू नदुखेको टाउको किन दुखाउने भनी जो जस्तो दुव्र्यसनमा लागे पनि चासो राख्दैनन् । यो समस्याको निकास कुनै एक दुई जनाको प्रयासले समाधान हुने पनि होइन । तर समस्या समाधान हुँदैन भनेर त्यसै बस्नु पनि ठीक होइन । कहीं न कहींबाट या कसैले न कसैले चिन्ता र चासो राख्नुपर्छ र समाधानको उपाय खोज्न पहल गर्नुपर्छ । कुलतमा फसेका या आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्न प्रहरी प्रशासनको ध्यान जानुपर्छ । प्रहरी प्रशासनले अलिकति मात्र चासो राखे आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *