भर्खरै :

मासु पसलमा अनुगमन

भक्तपुर, ३० साउन । भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा बुधबार भ.न.पा. २ स्थित साना व्यासी र कासंघाट क्षेत्रमा सञ्चालित कुखुरा, राँगो, खसीबोका गरी आठवटा मासुपसलमा अनुगमन गरियो ।
टोलीले इन्द्रायणी मिटशपमा अघिल्लो अनुगमन गरेको समयमा तराजुमा फलामको टुक्रा झुण्ड्याएकोले सझाव दिएको तर पछिल्लो पटक अनुगमन गर्दा पनि तराजुमा कैफियत देखिएको हुँदा टोलीले तराजु थान १ नियन्त्रणमा लिई एक हप्ताभित्र साइनबोर्ड र भित्तामा कार्पेट राख्न सुझाव दिएको छ । सोही स्थानमा रहेको अर्को मासु पसललाई पनि भित्तामा कार्पेट लगाउन र साइनबोर्ड राख्न सुझाव दिइको छ ।
जयकाली मिटशपमा ६ किलो राँगोको मासु गन्हाएको अवस्थामा रहेकोले टोलीले उक्त मासु नष्ट गर्न जफत गरेको छ र मासुलाई जालीले छोप्न र १ हप्ताभित्र साइनबोर्ड राख्न सुझाव दिएको छ ।
कालिका कोल्ड स्टोरमा मासु काट्ने खिया लागेका चुपीहरू प्रयोग गरेकोले चुपी थान २ जफत गरिएको छ । कासं सडकको न्यू सञ्जीव मिटशपमा ७ किलो ६ सय ग्राम राँगोको मासु गन्हाएको अवस्थामा भेटिएकोले नष्ट गर्न टोलीले जफत गरेको छ । जफत गरिएको १३ किलो ६ सय ग्राम मासु सरोकारवालाहरूको रोहवरमा मुचुल्का उठाई महेश्वरी स्थानमा पुर्न लगाई नष्ट गरिएको छ ।
अनुगमनमा वडा अध्यक्ष हरिराम सुवाल, नगर कार्यपालिका सदस्य रोशनमैंया सुवाल, नगर निरीक्षक दिलिपकुमार सुवाल, जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक उमेशलाल प्रधान, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापा, उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छें, जिल्ला जनस्वास्थ्य कार्यालयका धनञ्जय अर्याल महानगरिय प्रहरी प्रभागका राजबहादुर डगौराको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *