भर्खरै :

यमन हवाई आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४०

साना, यमन, ३० साउन (एएफपी) । यमनको उत्तरी क्षेत्रमा रहेको सादा प्रान्तमा गत बिहीबार साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाई आक्रमणमा परी मृत्यु हुने यमनी सर्वसाधारणको सङ्ख्या ५१ पुगेको छ ।
मृतकमध्ये ४० जना बालबालिका रहेका अन्तर्राष्ट्रिय रेडक्रस समितिले मङ्गलबार जनाएको छ । उक्त हवाई आक्रमणमा ७९ जना घाइते भएका थिए ।
यमनमा हुथी विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको गठबन्धनले यहाँको सरकारलाई सघाउँदै आएको छ । अमेरिका तथा केही पश्चिमा देशहरूका सरकारले पनि हुथी समूहविरुद्धको कारबाहीमा हतियार तथा युद्धक विमान सहयोग दिई यमनी राष्ट्रपति अवेद्रब्वो मन्सुर हाडीको सरकारलाई सघाउँदै आएका छन् ।
यमनमा पटकपटकका आक्रमणमा निर्दोष नागरिक तथा बालबालिकाको मृत्यु भएपछि अमेरिका तथा युरोपका कतिपय मुलुकले गठबन्धनलाई संवेदनशील भएर हुथी विद्रोहीविरुद्धको कारबाहीमा अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
संयुक्त राष्ट्रसङ्घले बालबालिकामाथि लक्षित गरी भएको आक्रमणको आलोचना गरेको छ भने साउदी नेतृत्वको गठबन्धनले घटनाबारे छानबिन गर्ने जनाएको छ ।
घटनापछि यमनमा अमेरिका र साउदी अरबको विरोध गर्दै हजारौंको सङ्ख्यामा प्रदर्शनहरू भएका बताइएको छ ।
यमनमा हुथी विद्रोहीले यमनी सरकारविरुद्धको आन्दोलनलाई राजधानी सानातर्फ लक्षित गरेपछि साउदी गठबन्धनले सन् २०१५ मा हस्तक्षेप गरेको थियो । द्वन्द्वमा परी १० हजारभन्दा बढी यमनी नागरिकको मृत्यु भएको राष्ट्रसङ्घको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *