भर्खरै :

हनुमन्ते खोला करिडोर व्यवस्थापनसम्बन्धी छलफल

भक्तपुर, ३१ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भ.न.पा.का जनप्रतिनिधिहरु र अधिकार सम्पन्न बागमती परियोजनाका पदाधिकारीहरुबीच हनुमन्ते खोला करिडोर व्यवस्थापनसम्बन्धी छलफल बिहीबार सम्पन्न भयो ।
छलफलमा प्रमुख प्रजापतिले परियोजना कार्यान्वयन गर्न जनप्रतिनिधिहरुलाई परियोजनासम्बन्धी प्रस्तुति गरी स्पष्ट पार्न सकिएमा कार्य क्षेत्रमा आइपर्ने सम्भावित बाधा अड्चन कम हुने बताउनुभयो ।
परियोजनाको योजना तयार पार्दा हालको स्थलगत अवस्था र २०२१ सालको नापी नक्सालाई समेत मध्यनजर गरी मापदण्डबाट मर्का पर्ने जग्गा धनी र किसानहरु पहिचान गरी उनीहरुको समस्या सम्बोधन हुने गरी तयार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । जग्गा उपयोगको योजनाहरु तयार पार्दा जग्गा कारोवारीहरुले व्यक्तिगत फाइदाको निम्ति विभिन्न चलखेल गर्नसक्ने हुँदा सो विषयमा सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
परियोजनासँग सम्बन्धित सबै सङ्घ संस्थाहरुबीच समन्वय गरी सहकार्य गर्न सकेमा योजना कार्यान्वयन सरल हुनेछ, उहाँले भन्नुभयो ।
अधिकार सम्पन्न बागमती परियोजनाका प्रमुख आशिष घिमिरेले इवामुरा अस्पतालसँगैको पुलदेखि राधेराधेसम्मको हनुमन्ते खोलाको दुवैपट्टि २०÷२० मिटरको सडक मापदण्डमा हरियाली व्यवस्था गरी २०२१ सालको नापी–नक्साअनुसार खोलाको बहाव क्षेत्र कायम गरी योजना कार्यान्वयन गर्न टेण्डर आह्वान गरी स्वीकृत भईसकेको जानकारी गराउनुभयो । उक्त योजना कार्यान्वयनको लागि सम्बन्धित जनप्रतिनिधिहरुलाई निकट भविष्यमै प्रस्तुति तयार गरी पेश गर्ने प्रतिबद्धता उहाँले जाहेर गर्नुभयो ।
छलफलमा उपप्रमुख रजनी जोशी, वडा अध्यक्षहरु उकेश कवां, रवीन्द्र ज्याख्व, श्यामकृष्ण खत्री, राजकृष्ण गोरा, हरिप्रसाद बासुकला, प्रेमगोपाल कर्माचार्य, भ.न.पा.का प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल, इ. रामगोविन्द श्रेष्ठ, इ. श्रीकृष्ण न्याइच्याई, परियोजनाका इ. रमेश प्रधाना·, योगेन्द्र चित्रकार र रेशमबहादुर खत्रीको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *