भर्खरै :

विभिन्न सङ्घीय मन्त्रालयमा भक्तपुर नपाको प्रतिनिधिमण्डल

काठमाडौं, ४ भदौ । भक्तपुर नगरपालिकाले जग्गा धनी र मोहीबीच जग्गा बाँडफाँडको म्याद थप गर्न अनुरोध गर्दै सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिब निवारण मन्त्रालयमा पत्र बुझायो । नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको टोलीले मन्त्री पद्माकुमारी अर्याललाई भेटी उक्त पत्र बुझाएको हो ।
मन्त्रालयको जग्गामाथि द्वैधस्वामित्व अन्त्य गर्ने उद्देश्यले भदौ ४ गतेसम्म अन्तिम म्याद दिई जग्गा धनी र मोहीबीच जग्गा बाँडफाँडको निवेदन दर्ता गर्न सूचना दिएकोमा अझै जग्गा बाँडफाँड गर्न धेरे बाँकी रहेको उल्लेख गर्दै नगरपालिकाले म्याद थप गरे वास्तविक किसानहरू लाभान्वित हुनेमा जोड दिएको हो ।
प्रमुख प्रजापतिले भन्नुभयो– “विभिन्न कारणले अझै पनि जग्गा बाँडफाँडको निवेदन दिन नसकेकाहरू धेरै सङ्ख्यामा छन्, पुर्खौदेखि जग्गा जोतिरहेका किसानहरूले जग्गामाथिको स्वामित्व पाउनुपर्छ ।”
जग्गा जोत्ने वास्तविक मोहीको जग्गामाथिको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले जनताको हितमा मन्त्रालयले जग्गा बाँडफाँडको निवेदन दिने म्याद थप गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जवाफमा मन्त्री अर्यालले किसानको पक्षमा नगरपालिकाले अगुवाइ गरेकोमा खुसी व्यक्त गर्दै म्याद थप सम्बन्धमा आफू सकारात्मक रहेको जानकारी गराउनुभयो । भक्तपुर नगरपालिकाको टोलीले सङ्घीय मामिला मन्त्री लालबाबु पण्डितसँग भेटेर नगरका समस्याबारे ध्यानाकर्षण गरायो ।
टोलीले ख्वप विश्वविद्यालयको विधेयक प्रक्रियामा अघि बढाउन शिक्षा मन्त्रालयमा पत्र बुझाएको छ । त्यस्तै सो टोलीले रक्षामन्त्रालय पुगेर भक्तपुरको टुँडीखेल २०५५ सालमा तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर जबरासँग भएको सहमतिअनुसार सर्वसाधारण जनतालाई खेलको लागि खुला गर्न तथा भक्तपुर नगरभित्र सेनाको नियन्त्रणमा रहेको सार्वजनिक जग्गा जनताले उपयोग गर्न माग गरेको छ ।
प्रमुख प्रजापतिको नेतृत्वमा गएको टोलीमा वडा अध्यक्षहरू रवीन्द्र ज्याख्व र उकेश कवां सहभागी हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *