विचार
- बैशाख ११, २०८३
– लक्ष्मीप्रसाद सापकोटा
पर्वत, ६ भदौ (रासस) :ऐतिहासिक महत्वको चौबिसे पैंयुराज्यको दरबार ओझेलमा परेको छ । महाशिला गाउँपालिका–१ होस्राङ्गदीस्थित सो दरबार उचित संरक्षण र प्रचारको अभावमा ओझेलमा परेको हो । सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयास थालिएको छ ।
धार्मिकरुपमा पनि महत्वपूर्ण पैँयुकोटमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटकीय क्षेत्रका रुपमा विकास थालिएको हो । पाँच सय वर्ष पुरानो दरबार र कालिका मन्दिरलाई पैँयुक्षेत्रको ऐतिहासिक सामग्रीसहितको सङ्ग्रहालय बनाउने र पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने उद्देश्यले अभियान थालिएको हो । एक वर्षभित्रमा सङ्ग्रहालयका लागि भवन निर्माणको काम थालिने पैँयुकोट संरक्षण समितिका पूर्वअध्यक्ष टीकाराम भुसालले जानकारी दिनुभयो ।
“ऐतिहासिक र धार्मिक तथा पर्यटकीय महत्वको क्षेत्र भएकाले यसको विकास र प्रर्वद्धनको काम थालिएको छ,” उहाँले भन्नुभयो । यसलाई मध्य दक्षिण पर्वतको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।
पाँच सय वर्ष पहिले सेन राजाले बनाएको मन्दिर र अग्लो डाँडा रहेकाले दृश्यावलोकन तथा घरबास क्षेत्रका रुपमा विकास गरी शालिग्रामशिलादेखि पैँयुकोट हुँदै गोर्लाङको लेकसम्म पदयात्रा मार्ग बनाउन सकिन्छ । यसलाई दक्षिण एशियाकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी तथा डहरे, पञ्चासे हुँदै पोखरासम्मको पदयात्रा मार्ग बनान सकिन्छ । पर्वतको पर्यटन गुरुयोजनामा समेत पञ्चासेदेखि पैँयुकोट हुँदै सेतीवेणीसम्मको सो बाटो प्रस्तावित छ ।
यो पदयात्रा मार्गमा पर्ने शालिग्रामको छापाको मगर बस्ती, त्रिवेणीको चिन्नेखर्कको मगरबस्ती, उरामको गेप्ताङको मगरबस्ती, होस्राङ्दीको जम्मपुरको मगरबस्ती र भोक्सिङको गुरुङबस्तीमा घरबास सेवा शुरु भइसकेको छ । पदयात्रामा आउने पर्यटकलाई खान र बस्न सुविधा पु¥याउन घरबास सेवा शुरु गरिएको जम्पुर होमस्टेकी अध्यक्ष नैनकला रानाले बताउनुभयो ।
पैँयुकोटमा १५०२ देखि छ जना सेन राजाले राज्य गरे । राजा रामसिंह सेनले राज्यभिषेक गरेपछि लाभसिंह, चामसिंह, दागम्बरसिंह, सङ्ग्रामसिंह, भूपभैरव र अकबरसिंह सेनले राज्य गरेको पाइन्छ । राजा अकबर सिंह सेनलाई नेपाल एकीकरणको समयमा आक्रमण गरेपछि उनले आफ्नै बारुदखानामा आगो लगाएर आत्महत्या गरेपछि पैँयुकोट राज्य नेपालमा गाँभिएको थियो । त्यसअघि मगर जातिका आले, राना, थापा र चितौरेले पालैपालो गरी राज्य सञ्चालन गर्दै आएका थिए ।
मगरका बीचमा राज्य सञ्चालनमा विवाद भएपछि भारतको बाँसीघार भन्ने ठाउँबाट सेन राजालाई ल्याएको सेन राजाका सन्तान कर्णप्रताप सेनले जानकारी दिनुभयो । सेन राजाको राज्य रहेको क्षेत्र भएकाले अहिले यसको संरक्षणमा जुटेको उहाँको भनाइ छ । अहिले पैँयुकोट र हुवासमा रहेको फूलबारी दरबार संरक्षणका लागि जिल्ला विकास समिति र संस्कृति तथा पर्यटन मन्त्रालयले काम गरिरहेका छन् ।
Leave a Reply