भर्खरै :

सरकारको आदिवासी विस्थापित गर्ने चालबाजी

भक्तपुर, ७ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कृषि योग्य जमीनमा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने प्रस्ताव ल्याएर सरकारले भक्तपुरका आदिवासी किसानहरुलाई विस्थापित गर्न खोजेको बताउनुभयो ।
जय ब्रह्मायणी कृषि समूह भक्तपुरको १५ औं वार्षिक साधारणसभामा बौल्दै उहाँले भूमाफियाहरुले किसानहरुसँग सस्तोमा जग्गा खरिद गरेर रातारात अर्बपति बन्ने सोचले यस्ता प्रस्तावहरु अगाडि सारेका हुन् भन्नुभयो ।
नेकपाको वर्तमान सरकार किसानविरोधी भएको बताउँदै उहाँले भन्नुभयो, ‘‘कृषि प्रधान देशमा वर्षको अर्बौं रुपैयाँको खाद्यान्न आयात गर्नुपर्छ । देशको लागि आवश्यक रसायनिक मल कारखाना खोल्नेतिर ध्यान दिंदैन । बीउ विजनसमेत विदेशबाट आयात गर्नुपर्ने स्थितिमा देश पुगेको छ । यो सरकार किसानविरोधी नभए के हौ ?’’
किसानहरुको हितलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले माटो परीक्षण, च्याउ खेती, कौसी खेतीजस्ता तालिमहरु सञ्चालन गरेको उल्लेख गर्दै उहाँले जग्गाधनी र किसानहरुबीच जग्गा बाँडफाँटको समय घटाउन भूमिसुधार तथा सहकारी मन्त्रीलाई ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका कृषि समितिका संयोजक राजकृष्ण गोराले नगरपालिकाले किसानको हितलाई ध्यानमा राखेर विभिन्न गतिविधिहरु गरिरहेको बताउनुभयो ।
कृषि समूहका अध्यक्ष कान्छा स्यामाको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रबहादुर कोजू, विजयबहादुर कोजू र जगतबहादुर खयरगोलीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *