भर्खरै :

भूकम्पपीडित अझै टहरामा

चौतारा, ७ भदौ (रासस) । भूकम्प गएको ४१ महिना बितिसक्दा पनि अति प्रभावित सिन्धुपाल्चोकमा हालसम्म ५२ प्रतिशतले मात्र नयाँ घरमा बस्न पाएका छन् भने ४८ प्रतिशत पीडित परिवारले अझै पनि टहरोमा नै कष्टकर जीवन बिताइरहेका छन् ।
जिल्लामा कूल लाभग्राही ८६ हजार ९७१ परिवारमध्ये ४४ हजार ७३४ परिवारले मात्र नयाँ घर निर्माण गरी बसिसकेका छन् । ७७ हजार ५८२ परिवारले निर्माण कार्य सुुरु गरेका र नौ हजार ३८९ परिवारले अहिलेसम्म घर निर्माण सुरु नै नगरेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनियर टङ्क गौतमले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म ७६ हजार १७७ परिवारको दोस्रो र ४८ हजार परिवारको तेस्रो किस्ता सिफारिश गरिसकिएको छ । जिल्लामा शुरुको अवस्थामा ७८ हजार ५३७ परिवार लाभग्राहीको सूचीमा थिए । गुनासोमा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएपछि लाभग्राही सूचीमा पनि वृद्धि भई ८३ हजार ९७१ पुगेको हो । २०७४ मङ्सिर मसान्तसम्म गुनासोमा दर्ता गर्नेको सङ्ख्या २३ हजार ९५८ मध्ये आठ हजार ४३४ परिवारले अनुदान पाउने निर्णय भएको र बाँकीको टुङ्गो लाग्न बाँकी भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जानकारी दिएको छ ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्येको सिन्धुपाल्चोकका विभिन्न स्थानमा बसोबास गर्दै आएको कतिपय परिवारको जमीन पहिरो गएको तथा जमिन भास्सिएर चिरा परी बस्नै नहुने अवस्थाका छन् ।
अति जोखिममा रहेका ६९३ परिवारमध्ये १५३ परिवारलाई रु. दुई लाखका दरले उपयुक्त ठाउँमा घडेरी खरीद गरिएको छ र बाँकीको हकमा चाँडै टुङ्गो लगाइने स्थानीय पूर्वाधार कार्यालयप्रमुख जिल्ला इञ्जिनियर माधवजङ्ग कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *