भर्खरै :

जिल्ला–जिल्लामा भक्तपुर काण्डको भत्र्सना

काठमाडौं
काठमाडौं, ९ भदौं । नेपाल मजदुर किसान पार्टी काठमाडौं जिल्ला समितिको आयोजनामा २०४५ साल भदौ ९ गते राज्यस्तरद्वारा रचिएको षड्यन्त्र भक्तपुर काण्डको कालो दिनको स्मरणमा शनिबार तारकेश्वर नगरपालिका मनमैजुमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्डको पृष्ठभूमि, काण्डको क्रममा जेलमा भोगेको जेल जीवन र काण्डले पारेको असरबारे प्रस्ट पार्नुभयो ।
उहाँले लेनिनवादी नीतिअनुसार पञ्चायती व्यवस्थामा प्रवेश गरी देश र जनताको लागि गरेको सेवा पञ्चायती शासकलाई असह्य भएपछि भक्तपुर काण्डको षड्यन्त्र रची पार्टीलाई नष्ट पार्न खोजेको बताउनुभयो ।
पञ्चायती चुनावलाई उपयोग गरी पञ्चायती व्यवस्थाको जरा काट्न सफल भएको बताउँदै उहाँले भक्तपुर काण्डकै कारण पञ्चायती व्यवस्था अन्त्य भएको बताउनुभयो ।
अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि नेमकिपाले देश र जनताको इमानदारीपूर्वक सेवा गरिरहेको बताउँदै जनतालाई सचेत र सङ्गठित पारी समाजवादी क्रान्तिको लागि पूर्वाधार तयार गर्न अघि बढ्नुपर्ने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जनले भक्तपुर काण्ड असफल षड्यन्त्र भएको बताउँदै उहिले भक्तपुर काण्डमा सघाउनेहरू अहिले विभिन्न पार्टीमा प्रवेश गरेको बताउनुभयो ।
प्राध्यापक समाज नेपालका सुजन माकले ८५ वर्षअघि जर्मनमा राइगस्टाग आगलागीमा हिटलर सरकारले गरेको षड्यन्त्रमा कम्युनिष्टलाई दोष लगाएझैं ३० वर्षअघि राज्यस्तरद्वारा षड्यन्त्र गरी २०४५ भदौ ९ गते भक्तपुर काण्ड गरी नेमकिपालाई नष्ट गर्न खोजेको स्मरण गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सचिव राजवीर डङ्गोल र सदस्य धर्मसेन महर्जनले पनि बोल्नुभएको थियो ।
काभ्रे
नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिको आयोजनामा शनिबार भक्तपुर काण्डको भत्र्सना कार्यक्रम भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले पञ्चायतभित्र गएर पञ्चायतको विरोधमा देश र जनताको सेवा गर्ने काममा लागेको हुनाले नेमकिपालाई समूल अन्त्य गर्न पञ्चहरूले षड्यन्त्र गरेको बताउनुभयो ।
नेमकिपा काभे्रका सल्लाहकार नारायणबहादुर दुवालले भक्तपुर काण्डजस्ता घटना फेरि फेरि पनि दोहोरिन सक्ने भएकाले जनताका कार्यकर्ता सजग हुन आवश्यक भएको बताउनुभयो ।
क्रान्ति सहज र सरल कुरा नभएको चर्चा गर्दै उहाँले सैद्धान्तिक र राजनीतिक रुपमा सचेत र सङ्गठित कार्यकर्ताले देशमा आमूल परिवर्तन गर्नसक्ने बताउनुभयो ।
नेमकिपा बनेपा नगर समितिका अध्यक्ष त्रिरत्न साय्मीको सभापतित्वमा भएको कार्यक्रममा हरिप्रसाद मानन्धर, ओमप्रसाद मानन्धर, ज्ञानेन्द्र डङ्गोल, तारा तामाङ, तारा न्यौपाने, ऋषिराम दुलाल, धनबहादुर तामाङ, पूर्णसिंह वाइवालगायतले बोल्नुभएको थियो ।

जुम्ला
नेपाल मजदुर किसान पार्टी जुम्लाले पनि कालो दिवस मनाएको छ । पार्टी कार्यालय जुम्लामा प्रवचन कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको हो ।
प्रवचन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले भक्तपुरका सङ्घर्षशील जनता र उनीहरूलाई सङ्गठित बनाएको नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट पार्न पञ्चायती सरकारले भदौ ९ मा काण्ड रचेको बताउनुभयो ।
देश र जनताको सेवामा निरन्तर सङ्घर्ष गर्ने नेमकिपाको जनपक्षीय गतिविधिबाट शासकहरू सधैं डराउने उल्लेख गर्दै उहाँले नेमकिपाको सङ्गठन विभिन्न बहानामा ध्वस्त पार्ने काममा सरकार लागिरहेकोमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य जयबहादुर शाहीले भक्तपुर काण्डबाट पाठ सिकेर सङ्घर्ष अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्दै २०४१ सालमा जुम्लामा नेमकिपाका दर्जन नेता कार्यकर्तालाई राज्यले थुन्ने र यातना दिएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।
नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले जुम्लाका नेता तथा कार्यकर्ताले पनि पटक पटक राज्यको यातना सहनुपरेको उल्लेख गर्दै आगामी दिनहरू पनि पार्टीका लागि कठिन भएकोले सङ्गठन मजबुत पार्नुपर्नेमा जोड दिनुभयो ।

कैलाली
भक्तपुर काण्डको भत्र्सनामा शनिबार कैलालीमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पञ्चायती सरकारले नेमकिपाको सङ्गठन भएका कार्यकर्तालाई दुःख दिए पनि प्रतिकूल परिस्थितिबीच पनि कार्यकर्ताहरु जनताको सेवामा निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय सचिव ज·बहादुर तारामी, नेक्राशिसङ्घका गुप्तबहादुर शाही, नेक्रायुसङ्घका इन्द्र ढकाल, नेक्राविसङ्घका तिलक सिजापतिले भक्तपुर काण्डको विषयमा चर्चा गर्नुभयो ।
भेला नेमकिपा कैलालीका अध्यक्ष रमेश रावलको सभापतित्वमा भएको थियो ।
चितवन
नेपाल मजदुर किसान पार्टीको बल भनेको सिद्धान्त, विचार, नैतिकता र इमान हो ।
उक्त विचार नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सदस्य सुरेन्द्रराज गोसाईले शनिबार चितवनको रत्ननगरमा आयोजित भक्तपुर काण्ड भत्र्सना तथा विरोध कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
नेमकिपा चितवन जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा उहाँले पञ्चायतभित्र पसेर पञ्चायतलाई नै कमजोर बनाउन र देश तथा जनताको निःस्वार्थ रुपमा सेवा गर्न नेमकिपाले निर्वाचनको उपयोग गरेको कारण पञ्चायतले नेमकिपालाई षड्यन्त्रमा फसाएर भक्तपुर काण्ड घटाएको बताउनुभयो ।
भ्रष्टाचारी, बलात्कारी, ठगहरूलाई संरक्षण गर्दै न्यायको लागि आवाज उठाउने जनतालाई गोली प्रहार गर्ने वर्तमान सरकार मजदुर र किसानको पार्टी नभएको उहाँले बताउनुभयो ।
नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालको सभापतित्वमा भएको कार्यक्रममा विष्णु शर्मा, सुमित्रा महत्तो, प्रकाश गुरुङ, पदम मगर र ज्ञानेन्द्र चेपाङले भक्तपुर काण्डको इतिहासबारे चर्चा गर्नुभएको थियो ।

बाल विकासमा विचार गोष्ठी
भक्तपुर काण्डको विरोध तथा भत्र्सनामा बाल विकास सेकेण्डरी स्कूलमा विचार गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले तत्कालीन निरङ्कुश पञ्चायती सरकारले नेमकिपालाई समूल नष्ट गर्न राज्यस्तरबाट ह्योजू काण्ड रचेको बताउनुभयो ।
उहाँले नेमकिपाले देश र जनताको सेवा गरिरहेको देखेर आफ्नो मुटुको काँडा सम्झेर नेमकिपालाई सिध्याउन खोज्दा ३० वर्ष लामो पञ्चायती व्यवस्था आपैm समाप्त भएको बताउनुभयो ।
कार्यक्रममा सीतालक्ष्मी प्रजापति, सुलोचना छ्वाजू, गंगा वैद्य, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य र पुनेन्द्रप्रसाद कुसीले पनि भक्तपुर काण्डको बारेमा आ–आफ्नो धारणा राख्नुभयो ।

 
पर्सा
पर्सा जिल्लाको चखुवा पर्सौनी गाउँपालिकामा शनिबार भक्तपुर काण्डको भत्र्सना र विरोध कार्यक्रम भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले प्रतिकूल परिस्थितिमा जनताको सेवामा प्रतिबद्ध कार्यकर्ता नै क्रान्तिको असल सिपाहीं बन्ने बताउनुभयो ।
उहाँले भक्तपुर काण्डमा राज्यले गरेको दमनको सिलसिलामा कतिपय पढेलेखेका भनिएका कार्यकर्तासमेत विचलित भएको स्मरण गर्दै कार्यकर्ताको राजनीतिक र सैद्धान्तिक चेतनास्तर उकास्न निरन्तर काम गर्नुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले समाजवादी क्रान्तिको बाटो लामो र कष्टसाध्य भएकोले सानातिना समस्याबाट कार्यकर्ता आत्तिन नहुने बताउनुभयो ।
नेमकिपा पर्साका अध्यक्ष सरोजकुमार साहको सभापतित्वमा भएको कार्यक्रममा इम्मामुल अन्सारीले पनि बोल्नुभएको थियो ।
बारा
नेमकिपा बारा जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको भत्र्सनामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
भेलामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले समाजमा आमूल परिवर्तन र कामदार जनताको सेवा नै नेमकिपाका कार्यकर्ताको दायित्व र लक्ष्य भएको बताउनुभयो ।
नेमकिपा बारा जिल्ला समितिका अध्यक्ष मुक्ति यादवको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्यहरू रवीन्द्र ज्याख्व र सरोजकुमार साह तथा परल मियाले पनि बोल्नुभएको थियो ।
कालीकोट
भक्तपुर काण्डको भत्र्सनामा कालीकोट जिल्लाको सदरमुकाम मान्ममा पनि शनिबार स्थानीय कार्यकर्ताहरूको भेला पार्टी कार्यालय मान्म बजारमा भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले पार्टीको सही विचारलाई सिध्याउन प्रतिक्रियावादी राज्यसत्ताले भक्तपुरलगायत कालीकोट, दैलेख, जुम्लामा अनेक जालझेल रची कार्यकर्तालाई फसाएको चर्चा गर्नुभयो ।
बाँके
नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा शनिबार भक्तपुर काण्डको भत्र्सनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले भक्तपुर काण्ड तात्कालीन नेमकिसंलाई समूल नष्ट गर्न राज्यस्तरबाट रचिएको षड्यन्त्र भएको प्रस्ट पार्दै पञ्चायती व्यवस्थाले नेमकिसंका कार्यकर्ता र सर्वसाधारण जनतालाई दिएको यातनाबारे चर्चा गर्नुभयो ।
नयाँ पुस्ता भक्तपुर काण्डजस्ता अरु काण्ड हुन सक्नेप्रति सचेत हुनुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो, ‘षड्यन्त्रको सम्भावना अझै टालिएको छैन ।’
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थामा पसेर जनताको सेवा गर्ने नीतिअनुरुप नेमकिसंका कार्यकर्ताले पञ्चायती संयन्त्रको उपयोग गर्दा पञ्चायतलाई अपाच्य भएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेमकिपा बाँकेका अध्यक्ष बखतबहादुर थापा, गौरीकान्त आचार्य, प्रकाश शाही, प्रभा मल्ललगायतले बोल्नुभएको थियो ।

मध्यपुर
शनिबार मध्यपुरको तुलननीमा नेक्रायुसङ्घ मध्यपुर नगर समितिको आयोजनामा कालो दिवसको विरोधमा विचार गोष्ठी भयो ।
गोष्ठीमा नेमकिपाको केन्द्रीय सदस्य सुनिल प्रजापतिले तत्कालीन नेमकिसंले जनताको निम्ति राम्रो काम गरेको, लेनिनवादी नीतिअनुरुप पञ्चायतमा भाग लिई पञ्चायतविरुद्ध जनतालाई सचेत बनाएको, कक्षा ७ सम्म निःशुल्क अध्यापन गर्ने व्यवस्था नगर पञ्चायतले गरेको, आर्थिक पारदर्शिता, सरसफाइमा नमुना कार्य गर्दै आएको हुनाले पञ्चहरूले पराजित मानसिकताबाट भक्तपुर काण्ड रचेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला सदस्य पाण्डव सुवालले ह्योजू काण्ड रोहित समूहले नै गरेको हो भन्ने भ्रम हटाउन प्रतिकूल परिस्थितिबीच ‘फाँसी दे’ पुस्तक प्रकाशन भएको चर्चा गर्दै वर्गीय मुक्तिका लागि तमाम जनताले समाजवादको निम्ति सङ्घर्ष गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेक्रायुसङ्घ मध्यपुर नगर समिति अध्यक्ष सुरेन्द्रथा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा मध्यपुर नगर समिति अध्यक्ष सूर्यराम थाश्रेष्ठ, नेक्रायुसङ्घका एच. एस. सुवाल, राजु कैती, राजकुमार प्रजापतिलगायतले बोल्नुभयो ।

वागीश्वरीमा शिक्षक भेला
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वागीश्वरी माध्यमिक विद्यालय एकाइ समितिको आयोजनामा शुक्रबार शिक्षक भेला गरी भक्तपुर काण्डको कालो दिवस मनाइयो ।
नेपाल प्राध्यापक समाजका संयोजक सरोजराज गोसाईंले जनताको सेवामा समर्पित पार्टीविरूद्ध राज्यस्तरबाटै हुनसक्ने षड्यन्त्रबारे नयाँ पुस्तालाई सचेत बनाउन २०४५ सालको भक्तपुर काण्ड कालो दिवस बर्सेनि मनाउँदै आएको प्रस्ट पार्नुभयो ।
पञ्चायती राज्यकालमा कहिल्यै पञ्चहरूले चुनाव जित्न नसक्दा राज्यस्तरबाटै नेपाल मजदुर किसान पार्टीविरूद्ध प्रतिशोधपूर्ण भावनाले प्राकृतिक प्रकोपको बेलामा एक व्यक्तिलाई बलिको बोका बनाई षड्यन्त्र रचेको चर्चा गर्दै उहाँले अरूलाई खसाल्न खनेको खाडलमा पञ्चायत आफै उम्कनै नसक्ने गरी जाकेको बताउनुभयो ।
भेलामा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले राजनीतिक कार्यकर्ताका निम्ति भक्तपुर काण्ड एउटा ठूलो राजनीतिक पुँजी र परीक्षा भएको चर्चा गर्दै राजनीतिमा रगतको भन्दा विचारको नाता गाढा हुने विचार राख्नुभयो ।
आयोजक सङ्घका अध्यक्ष विश्वेश्वर मानन्धरको सभापतित्वमा भएको उक्त भेलामा प्राचार्य कृष्णप्रसाद धन्छाले षड्यन्त्रका दृष्टान्तहरू प्रस्ट्याउनुभयो भने शिक्षक विश्वराम प्रजापतिले प्रहरी हिरासतमा आफूले भोगेका यातनाको वर्णन गर्नुभयो ।
शिक्षिकाद्वय शोभालक्ष्मी गोसाई र मीना प्रजापतिले पनि कार्यक्रममा बोल्नुभएको थियो ।
विद्यार्थी भेला
भक्तपुर काण्डको विरोध र भत्र्सनामा शनिबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडौं उपत्यका क्याम्पस परिचालन समितिको आयोजनामा उपत्यकास्तरीय विद्यार्थी भेला भयो ।
भेलामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजूले भक्तपुर काण्डको घटनाक्रमबारे प्रशिक्षण दिनुभयो । उहाँले देश र जनताको सेवामा लाग्ने पार्टीहरूविरुद्ध प्रतिक्रियावादी वर्गले फेरि पनि अनेक जालझेल गर्नसक्ने भएकोले विद्यार्थी कार्यकर्ता सजग हुनुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष आरजीको सभापतित्वमा भएको कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजू, अनिल फोजूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *