भर्खरै :

गणतन्त्रमा शासक दलको पञ्चायत शैलीको शासन

काठमाडौं, १० भदौ । नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले लेनिनवादी नीतिअनुसार २०१९ सालदेखि नै तत्कालीन निर्दलीय पञ्चायती चुनावको उपयोग गरी देश र जनताको सेवा गर्नुभएको हो । नेपालको सुस्तामाथि भारतीय विस्तारवादले अतिक्रमण गरेको विरोधमा पार्टीका अग्रजहरूले भक्तपुरमा जुलुस प्रदर्शन गर्नुभएको थियो । विसं २०३१ सालमा नेपाल मजदुर किसान पार्टी (तत्कालीन सङ्गठन) को औपचारिक रूपमा स्थापना भएपछि पार्टीले २०३६/३७ सालको जनमतसङ्ग्रहमा बहुदलको पक्षमा प्रचार प्रसार ग¥यो । पार्टीका यी गतिविधिहरूप्रति पूर्वाग्रह राखेको पञ्चायती सरकारले पार्टीका नेता र कार्यकर्ताविरूद्ध झूटो मुद्दा भक्तपुर काण्ड खडा गरेको हो । यो मुद्दाकै कारण पञ्चायती व्यवस्थाको अन्त्यको मार्ग प्रशस्त भयो ।
पार्टीको काठमाडौं टोखा सरस्वती नगरपालिकाले भक्तपुर काण्डको भत्र्सना एवं विरोध गर्न शनिबार आयोजित कार्यकर्ता भेलामा पार्टीका सचिव प्रेम सुवालले उक्त भनाइ राख्नुभएको हो ।
पार्टीको तर्फबाट प्रतिनिधिसभामा सदस्यसमेत रहनुभएका सुवालले नेमकिपाविरूद्ध षड्यन्त्र गरेका पञ्चायती हस्तीहरू बहुदलीय व्यवस्थाको पुनःस्थापनालगत्तै सरकारमा गएका पार्टीहरूभित्र प्रवेश गरी देश र जनताविरुद्ध आफ्ना गतिविधिहरुलाई चालू राखेको बताउनुभयो ।
उहाँले चुनावमा धेरै स्थान जितेर पालैपालो सरकारमा गएका पार्टीहरूले पञ्चायती शैलीमा पक्षपात र भ्रष्टाचार गरेको हुँदा नेपाली जनताले दुःख पाएको उल्लेख गर्दै जन्मको आधारमा नागरिकता दिने कानुन बनाउने सरकारमा गएका पार्टीहरूकै कारण सिक्किमजस्तै नेपालको सार्वभौमिकता गुम्ने खतरा बढेको बताउनुभयो ।
पार्टीका प्रकाशनहरू अध्ययन गरी कार्यकर्ताहरूले राजनीतिकस्तर उठाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले नयाँ पुस्तालाई पार्टीको सिद्धान्त र अनुशासनबाट शिक्षित र दीक्षित गर्नुपर्ने उल्लेख गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले भक्तपुर काण्डविरूद्धको सङ्घर्षमा महिलाहरूले उल्लेख्य योगदान गरेको चर्चा गर्नुभयो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा ३ का सदस्य सृजना सायजूले भक्तपुर काण्ड नेमकिपाविरूद्ध राजनैतिक आक्रमण भएको तर पार्टी र कार्यकर्ताहरूले त्यसको डटेर प्रतिरोध गरेको स्पष्ट गर्नुभयो ।
इञ्जिनियर समाज नेपालका सहसचिव सुजन माकले सन् १९३३ मा जर्मनीका प्रतिक्रियावादीहरूले संसद भवनमा आगो लगाई त्यहाँका कम्युनिष्टहरूलाई दमन गरेजस्तै २०४५ सालमा तत्कालीन पञ्चहरूले झुटो मुद्दा खडा गरी नेमकिपालाई दमन गरेको चर्चा गर्नुभयो ।
पार्टी नगर समितिका अध्यक्ष कृष्णमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा अन्य वक्ताहरुले पनि प्रतिक्रियावादीहरूको षड्यन्त्रविरूद्ध जनता सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सुर्खेतमा भक्तपुर काण्डबारे प्रशिक्षण
नेमकिपा जिल्ला समिति सुर्खेतको आयोजनामा भक्तपुर काण्डबारे प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर काण्डबारे प्रशिक्षण दिंदै नेमकिपाका केन्द्रीय सदस्य तथा प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले भक्तपुर काण्ड कुनै ठाउँ वा जिल्ला विशेष विरुद्धको षड्यन्त्र नभई नेमकिपाले जनताको पक्षमा गरेको सङ्घर्षको विरोधमा भएको षड्यन्त्र भएको बताउनुभयो ।
उहाँले भक्तपुर काण्डजस्ता षड्यन्त्र फेरि फेरि पनि हुनसक्ने भएकोले कार्यकर्ताहरू सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य हरिसुन्दर वासीले जनताको सेवा गर्ने भन्दा आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्य भएका शासक दलहरूकै कारण देशको विकास हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले भक्तपुर काण्डको इतिहासबारे प्रकाश पार्नुभयो ।
नेमकिपा जिल्ला समितिका उपाध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा नेमकिपा दैलेखका निरकबहादुर शाही, नेमकिपा सुर्खेतका पूर्वअध्यक्ष प्रेमकुमार थापा, नेक्राविसङ्घ सुर्खेतका खेमराज कँडेल, नेमकिपा वीरेन्द्रनगरका गणेश खड्का, नेक्रामहिला सङ्घका कल्पना शाह, नेक्रामजदुर सङ्घका गगन विक, नेक्रायुसङ्घका गोविन्दनाथ योगी, नेमकिपा सुर्खेतका धनेन्द्र विक, शेरबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
डुङ्गेश्वरमा भक्तपुर काण्ड दिवसको भत्र्सना
त्यस्तै भक्तपुर काण्डको विरोध तथा भत्र्सनामा दैलेखको डुङ्गेश्वर गाउँपालिकामा नेमकिपाको स्थानीय समितिको आयोजनामा आइतबार प्रवचन कार्यक्रम भयो । कार्यक्रममा नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजङ्ग शाहीले राज्य कति आक्रामक हुन्छ र आफ्नो स्वार्थपूर्तिका लागि कुन हदसम्म गिर्न सक्छ भन्न्रे प्रमाण भक्तपुर काण्डले देखाएको बताउनुभयो ।
देश र जनताको लागि काम गर्ने देशभक्तले जहिल्यै सजग हुनुपर्ने पाठ उक्त घटनाले सिकाएको उहाँले बताउनुभयो । उहाँले भेरी–कर्णालीमा नेमकिपाका कार्यकर्तामाथि भएको दमनबारे पनि चर्चा गर्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य जगत वलीले स्थानीय तहको निर्वाचनपछि समाजमा भाँडभैलो र बेथिति फैलिएको र यसको कारण पुँजीवादी शासक दलहरु भएको बताउनुभयो
कार्यक्रममा जिल्ला समितिका सदस्य चन्द्रमणि शर्मा, बिन्दु रेग्मी, देवी रेग्मी, लीलाप्रसाद दाहाल, डिल्लीप्रसाद न्यौपानेलगायतले बोल्नुभएको थियो । सोही दिन गाउँ समितिले विविध विषयमा जिल्ला समिति सदस्य तथा नेमकिपा डुङ्गेश्वर गाउँपालिका अध्यक्ष जगत वलीको नेतृत्वमा डुङ्गेश्वर गाउँपालिकालाई एक ज्ञापनपत्र बुझायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *