भर्खरै :

मन्त्री पुनलाई प्रश्न ः महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर

–रमेश लम्साल
काठमाडौं, १० भदौ । “मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह ग¥यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र ?”
पाँचथरबाट सन्तोष नेपालीले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई टेलिफोन गरेर गुनासो गर्नुभयो । मन्त्री पुनले नियमित टेलिफोनमा गुनासो सुन्ने र समाधान गर्ने संयन्त्रको विकास गरेको थाहा पाएपछि सन्तोषले पैसा नलाग्ने टेलिफोन नं ११५१ मा फोन गरेर गुनासो राख्नुभयो ।
सन्तोषको थप गुनासो थियो, “मन्त्रीज्यू एक÷एक महिनामा ट्रान्सफर्मर पडकन्छ, सानातिना उद्योग व्यवसाय गर्नसमेत समस्या भयो । समस्या समाधान हुँदैन र मन्त्रीज्यू ।” सन्तोषले पाँचथरका ग्रामीण भेगमा निरन्तर विद्युत् अवरोध भइरहेको यथार्थ सुनाउनुभएको थियो ।
सन्तोषको गुनासो सुनेपछि मन्त्री पुनले तत्कालै पाँचथर वितरण केन्द्र प्रमुखलाई फोन गरेर समस्या समाधान गर्न निर्देशन दिनुभयो । यही भदौ ८ गते शुक्रबार दिइएको निर्देशनानुसार नयाँ ट्रान्सफर्मर जडान हुने भएको छ । पाँचथर उमाइ गाउँपालिकामा नियमित विद्युत् उपलब्ध हुने भएको छ । मन्त्रीको उक्त निर्देशनसमेत सुन्नुभएका सन्तोषले आफ्नो समस्या समाधान भएकोमा खुसी भएर फोन राख्नुभयो ।
मन्त्रालयले तीन सातादेखि हरेक शुक्रबार १२ देखि १३.०० बजेसम्म हटलाइनमा नागरिकको गुनासो सुन्ने र समस्याको समाधान गर्ने कार्यक्रम सुरु गर्नुभएको छ । सातामा न्यूनतम १५ देखि अधिकतम २० सम्म गुनासो आउने गरेका छन् । धेरै गुनासो नेपाल विद्युत् प्राधिकरणसँग जोडिएका छन् । प्राधिकरणले पोल उपलब्ध नगराएको, ट्रान्सफर्मर नपाएको, लामो समयदेखि पोल गाडेको भए पनि विद्युत् नपाएको, उच्च क्षमताका प्रसारण लाइनका कारण प्राकृतिक सौन्दर्य बिग्रेको जस्ता गुनासा धेरै आउने गरेका छन् ।
पाँचथरका देवेन्द्र खालिङले मन्त्री पुनलाई फोन गरी पहिलो संविधानसभाको निर्वाचनको समयमा पोल गाडे पनि हालसम्म बत्ती बाल्न नसकेको गुनासो गर्नुभयो । स्थानीय साना लगानीमा सञ्चार उद्यम गर्न समस्या भएको खालिङको भनाइ थियो ।
अर्घाखाँची पाणिनीका नारायण गिरीले काठे पोलका कारण दुर्घटनाको जोखिम बढेको भन्दै तत्कालै त्यस्ता पोल विस्थापन गर्न आग्रह गर्नुभयो । गिरीको गुनासोपछि मन्त्री पुनले काठे पोल विस्थापनको प्रक्रिया सुरु भएको र चालू आवदेखि नै काम सुरु हुने जानकारी दिनुभयो ।
बझाङका माइकल क्षेत्रीले सदरमुकाममा विद्युत् आउने जाने गरेका कारण समस्या परेको छ भन्नुभयो । माइकलको गुनासो बझाङ वितरण केन्द्रले समाधान गर्ने भन्दै सचिवालयलाई तत्काल व्यवस्था मिलाउन निर्देशन दिनुभयो । मकवानपुरबाट अयोध्या भट्टराईले बिना जानकारी विद्युत्भार कटौती भइरहेको र कार्यालय प्रमुख तथा कर्मचारीसँग भेट नहुने समस्या समाधानमा चासो राखिदिन आग्रह गर्नुभयो । बिर्तामोड–२ चारपानेका दिवाकर शिवाकोटीले आफ्नो टोलमा चार वटा पोल नभएका कारण विद्युत् विस्तार गर्न समस्या भएको बताउनुभयो ।
भोजपुर षडानन्द नपा कुदाक काउलेका भेषराज ढु·ानाले विसं ०६४ मा पोल गाडेको भए पनि हालसम्म विद्युत् नपुगेको र स्थानीयवासी अँध्यारोमा बस्नुपरेको छ भन्नुभयो । निर्माण व्यवसायीले आयोजना अलपत्र पारेको उहाँको भनाइ थियो । सोही नगरपालिकाको नेपालेडाँडामा पनि पोल गाडिएको लामो समय भएपनि हालसम्म तार नतानिंदा विद्युतीकरण हुन सकेको छैन ।
अधिकांश समस्या विद्युतीकरण हुन नसकेको, पोल नपाएको, प्राधिकरणका कर्मचारीले उपभोक्ताको समस्या नसुनेको जस्ता समस्या बढी आएका छन् । ती समस्या समाधान गर्न प्राधिकरणलाई आवश्यक निर्देशन दिइएको मन्त्री पुनको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *