भर्खरै :

बलात्कारबारे विद्यालयको पाठ्यक्रम

रुपान्तरित व्यवस्थापिका–संसदअन्तर्गत महिला, बालबालिका र ज्येष्ठ नागरिक समितिमा नेपाल मजदुर किसान पार्टीका पूर्वसांसद अनुराधा थापामगरले बढ्दो बलात्कारका घटना नियन्त्रण गर्न विद्यालयस्तरको पाठ्यपुस्तकमै बलात्कारसम्बन्धी जानकारी समावेश गर्नुपर्ने माग गरेकी थिइन् । तात्कालीन महिला बालबालिका मन्त्री निलम केसी र गृहमन्त्री वामदेव गौतमले सो प्रस्ताव अस्वीकार गरेका थिए । बलात्कारबारे जानकारी नभएका विद्यार्थीलाई त्यसबारे पढाउँदा अझ बलात्कारका घटना बढ्नसक्ने उनीहरूको भनाइ थियो । बलात्कारसम्बन्धी जानकारी पाठ्यपुस्तकमा समावेश गर्ने सो प्रस्ताव अस्वीकार गरियो । यसबीच नदीमा धेरै पानी बगिसकेको छ । देशमा बलात्कारका घटना दिनानुदिनको समाचार बनिरहेको छ । अझ राज्यका निकाय स्वयंले बलात्कारीलाई संरक्षण दिने काम हुन थालेको छ ।
सरकारले बलात्कारसम्बन्धी जानकारी विद्यालयस्तरको पाठ्यक्रममै समावेश गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भयो । बलात्कारसम्बन्धी घटनाको लागि प्रमुख जवाफदेही नेपाल प्रहरीले कक्षा १० मा पढाउने पाठ्यक्रम तयारी गरिरहेको प्रहरी स्रोतले बताएको छ । पाठ्यक्रमअन्तर्गत विशेषगरी १६ वर्षभन्दा कम उमेरका बालिकाहरू बलात्कारबाट कसरी सुरक्षित हुने, कसरी प्रतिकार गर्नेलगायतका विषय समावेश रहेको बताइएको छ ।
ज्ञान भनेको कुरा कि परेर जानिन्छ कि पढेर जानिन्छ भन्ने भनाइ छ । सबै कुरा आफैंले भोगेरमात्र ज्ञान प्राप्त गर्न सम्भव हुँदैन । अरुले आफ्नो अनुभवमा आधारित भएर बोलेका वा लेखेका कुराबाट पनि हामीले ज्ञान प्राप्त गर्नसक्दछौं । बलात्कारको अचाक्ली बिगबिगीसँगै यसका नकारात्मक पक्षबारे नयाँ पुस्तालाई जानकारी दिन नेमकिपाका सांसदले दिएको सुझावलाई सरकारले अस्वीकार ग¥यो तर समयक्रममा सरकार फेरि आज त्यही बाटोमा अघि बढिरहेको छ । सरकारले त्यत्तिबेला नै यो सुझावलाई गम्भीर भएर कार्यान्वयनमा लान तयार भएको भए आजसम्ममा यस विषयमा केही न केही कदम चालिसकिने थियो । तर शासक दल र नेताभित्र अझै बाँकी रहेको सामन्ती चिन्तनकै परिणाम त्यत्तिबेला त्यो सुझावलाई एउटा कानले सुनेर अर्को कानले उडाउने काम भयो ।
बलात्कार समाजको एउटा रोग र विकृति हो । यो विकृतिविरुद्ध लड्न नयाँ पुस्तालाई यसबारे सचेत बनाउन जरुरी छ । बलात्कार समाजको असभ्यताको चिनो हो भन्ने कुरा बुझाउन जरुरी छ । बलात्कार नियन्त्रण प्रहरी एक्लैको वशको कुरा होइन । बलात्कार सामाजिक रोग भएकाले त्यसको उपचार समाजमा नै खोजिनुपर्दछ । त्यसको एउटा माध्यम भनेको भोलिको कर्णाधार विद्यार्थीहरूलाई त्यसबारे जानकार बनाउनु हो ।
आज बलात्कार घटनामा परेका अधिकांश किशोरीहरू माध्यमिक तहमा अध्ययन गर्ने उमेरका छन् । त्यसकारण बलात्कारको विषयमा यही उमेर समूह पढ्ने शैक्षिक तहमा राख्न जरुरी छ । स्थानीय तह र जनप्रतिनिधिमार्फत पनि यो अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी छ । समय–समयमा विद्यालय तहका विद्यार्थीहरूलाई सहभागी बनाई प्रदर्शन र प्रतियोगितात्मक कार्यक्रम गर्न आवश्यक छ । सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यममार्फत पनि बलात्कारको विषयमा नयाँ युवा पुस्तालाई जानकार बनाउन जरुरी छ ।
बजारमा अश्लील साहित्य र श्रव्यदृश्यहरूलाई पूर्णतः बन्द गर्न प्रहरीले भूमिका खेल्न आवश्यक छ । इन्टरनेटमार्फत फैलिने अनेकन अश्लील श्रव्यदृश्य आज बलात्कारको प्रत्यक्ष कारक बनिरहेको छ । यस्ता रोगका कारकलाई नियन्त्रण गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *