भर्खरै :

तार र केवुल व्यवस्थापन गर्न सर्वपक्षीय बैठक

भक्तपुर, १३ भदौ । ऐतिहासिक एवं साँस्कृतिक नगर भक्तपुरको सौन्दर्य कायम राख्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सुरक्षा निकायका सरोकारवालाहरू, बिजुली, टेलिफोन, केबुल नेटवर्क तथा ईन्टरनेट सेवा प्रदायकलगायतका सरोकारवालाहरूको उपस्थितिमा बुधबार भनपा सभाकक्षमा बैठक बस्यो ।
बैठकमा बोल्दै प्रमुख प्रजापतिले भक्तपुरको सुन्दरता र स्वच्छतामा बाधा पु¥याइरहेका तार र केबुलहरू व्यवस्थित गर्न सम्बन्धित सबै सङ्घ संस्थाहरू र व्यवसायीहरूले इमानदारीपूर्वक नागरिक भावनाअनुरूप काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले २०७४ साल चैत्र २० गते नै अव्यवस्थित तारहरू सम्बन्धित पक्षहरू आफैले व्यवस्थित गर्ने निर्णय भएको स्मरण गराउँदै यसको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
नपाले सबै सरोकारवालाहरूसँग छलफल र सहमतिमा नगरको तार व्यवस्थापन गर्दै जाने बताउँदै प्रमुख प्रजापति व्यवसायीहरूले नियमानुसार नपामा दर्ता गरी आ—आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुर नगरको वातावरणीय र सौन्दर्यताको दृष्टिले समेत तार र केबुलहरू व्यवस्थापन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । बिजुली र टेलिफोन तार र केबुलबाहेक अन्य सबै केबुल र तारहरू नेपाल विद्युत् प्राधिकरणको पोलहरूमा राखिएकोले यसको व्यवस्थापनको अगुवाइको लागि प्राधिकरण जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण भक्तपुरका कार्यालय प्रमुख प्रज्वलमान श्रेष्ठले गाईजात्रा मार्गमा तार र केबुलहरू व्यवस्थापन गर्ने क्रममा बाटो काटेर राखेका केही तार केबुलहरू काट्नुपर्ने अवस्था आएकोमा दुःख व्यक्त गर्दै यसको लागि सम्बन्धित सरोकारवालाहरूले पूर्वनिर्णय कार्यान्वयन नगर्नु दुःखद् भएको बताउनुभयो । उहाँले हाल भक्तपुरमा १५ वटा केबुल नेटवर्क र इन्टरनेट प्रदायक संस्थाहरू कार्यरत रहेकोमा १० वटा मात्रै संस्थाहरूले प्राधिकरणको पोल प्रयोग गर्न अनुमति लिएको जानकारी गराउंदै बाँकी संस्थाहरूलाई नियमानुसार पोल प्रयोग गर्न अनुमति लिनको लागि अनुरोध गर्नुभयो ।
नेपाल टेलिकमका कार्यालय प्रमुख वीरेन्द्ररत्न शाक्यले भक्तपुरको प्रसिद्ध गाईजात्रा पर्व व्यवस्थित गर्न काटिएका टेलिफोन तारका कारण ग्राहकहरूमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै एक हप्ताभित्र काटिएका सबै टेलिफोन लाइनहरू पुनः जडान गर्न तिब्र गतिमा काम भइरहेको जानकारी गराउनुभयो । उहाँले सहरको तार र केबुलहरू व्यवस्थापन गर्न उपलब्ध आधुनिक प्रविधि प्रयोग गर्दै जानुपर्नेमा समेत जोड दिनुभयो ।
बैठकबाट नगरभित्रका अव्यवस्थित तारहरू व्यवस्थित गर्न सम्बन्धित कार्यालय तथा संस्थाहरूले तत्काल काम अघि बढाउने, नगरका केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरूले २०७५ भदौ मसान्तभित्र नियमपूर्वक सेवा प्रवाहको तथ्याङ्कसहित नगरपालिकामा दर्ता गर्ने, निर्धारित समयभित्र दर्ता नगर्ने सेवा प्रदायकलाई कानुनबमोजिम कारबाही गर्ने, केबुल तथा इन्टरनेट सेवाका तार र केबुलहरूमा नेपाल टेलिकमले उपलब्ध गराएको नमुना अनुसार आफ्नो परिचय खुल्ने ट्याग तारमा झुण्ड्याउने, नगरका अव्यवस्थित सम्पूर्ण तार र केबुलहरूलाई क्रमशः भूमिगत गर्दै जाने र हाल नगरमा छरपष्ट रूपमा काटिएर फालेका तारहरू यथाशिघ्र सफा गरी सेवा सञ्चालन गर्न र दीर्घकालीन रूपमा तारहरू व्यवस्थापन गर्न वडाअध्यक्ष रवीन्द्र ज्याख्वको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *