भर्खरै :

बिम्स्टेक देशबीच विद्युत् ग्रीड बनाउने ऊर्जा केन्द्र भने भारतमा बन्ने

काठमाडांै, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीका देशहरुको प्रयत्न (बिम्स्टेक) को बिहीबारबाट काठमाडौंमा सुरु हुने चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा बुधबार बिम्स्टेक देशका मन्त्रीस्तरीय बैठक बस्यो ।
बिम्स्टेकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । बैठकमा ज्ञवालीले बिम्स्टेक देशहरूबीच स्वतन्त्र व्यापार सम्झौताको लागि भएका संवाद सकारात्मक बनेको, बिम्स्टेक देशबीच यातायात सम्पर्क विस्तारको लागि गुरुयोजना तयार भएको, आतङ्कवाद तथा अन्य अन्तरदेशीय आपराधिक गतिविधि रोकथामका लागि पहल भएकोमा खुसी व्यक्त गरे ।
उनले चौंथो शिखर सम्मेलनमा बिम्स्टेक देशबीच विद्युत् ग्रीड निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने बताए ।
बैठकमा बिम्स्टेकका महासचिव एम ससिदुल इस्लामले बिम्स्टेकको स्थायी सचिवालय बङ्गलादेशमा, सांस्कृतिक उद्योग केन्द्र भुटानमा, मौसम तथा जलवायु केन्द्र भारतमा स्थापना भएको जानकारी गराउँदै यसले बिम्स्टेकको संस्थागत विकासको लागि मद्दत पुग्ने बताए । उनले बिम्स्टेक ऊर्जा केन्द्र भारतमा र बिम्स्टेक प्रविधि हस्तान्तरण केन्द्र श्रीलङ्कामा स्थापना गर्न लागिएको जानकारी पेश गरे । बिम्स्टेक स्वतन्त्र व्यापार क्षेत्र स्थापना सम्बन्धमा विभिन्न समयमा गरी बीस चरणको बैठक बसिसकेको महासचिव इस्लामले जानकारी दिए ।
बिहीबारबाट सुरु हुने बिम्स्टेकको चौंथो शिखर सम्मेलनले बिम्स्टेक देशबीच विद्युत् ग्रीड स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने सन्दर्भमा भारतमा स्थापना गरिन लागेको बिम्स्टेक ऊर्जा केन्द्रलाई ऊर्जा क्षेत्र आफूमा केन्द्रित गर्ने भारतीय प्रस्तावको रुपमा विश्लेषकहरूले हेरेका छन् ।
बैठकले बिहीबार र शुक्रबारको शिखर सम्मेलनबाट जारी हुने घोषणापत्र तयार गरेको थियो ।
बिम्स्टेकको सो¥हौं मन्त्रीस्तरीय बैठकले आगामी सत्रौं मन्त्रीस्तरीय बैठक आयोजनाको जिम्मेवारी श्रीलङ्कालाई सुम्पेको छ ।
कस्तो छ कार्यक्रम ?
बिम्स्टेक सम्मेलनमा सहभागी हुन नेपालमा आएका सबै प्रतिनिधिमण्डल प्रमुखले बिहीबार मध्याह्न १२ः३० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने छन् । शीतलनिवासमै नेताहरूको स्वागतमा राष्ट्रपतिले दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ ।
शिखर सम्मेलनको उद्घाटन बिहीबार अपरान्ह ३ः०० बजे ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा हुनेछ । सम्मेलनको मुख्य हलमा बिम्स्टेक देशका राज्य तथा सरकार प्रमुख, प्रथम पुरुष वा महिला र हरेक देशका दस–दस जना प्रतिनिधिलाई मात्र बस्न दिइनेछ । अन्य सहभागीहरूको लागि अलग अलग कोठामा प्रत्यक्ष प्रसारणमार्फत सम्मेलन हेर्ने बन्दोबस्त गरिनेछ ।
बिम्स्टेकको अध्यक्ष देशको सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ ।
बिहीबार नै साँझ ६ः३० देखि ९ः३० बजेसम्म होटेल हायातको गाला कक्षमा सांस्कृतिक कार्यक्रमसहितको रात्रीभोज आयोजना गरिएको छ । रात्रीभोजमा हरेक देशले ५–६ मिनेटसम्मको नाच देखाउने कार्यक्रम तय गरिएको छ ।
शुक्रबार मध्यान्ह १२ बजेदेखि सोल्टी होटलमा सम्मेलनमा बाँकी कार्यक्रमलाई निरन्तरता दिइनेछ । सम्मेलनले काठमाडांै घोषणापत्र जारी गर्नुका साथै नेपालले अध्यक्षताको जिम्मेवारी श्रीलङ्कालाई हस्तान्तरण गर्नेछ ।
त्यसबाहेक खाली समयमा विभिन्न देशका प्रतिनिधिबीच द्विपक्षीय साइडलाइन बैठक पनि हुने बताइएको छ ।
हतार–हतार बाटो सम्याउँदै, हिलोमा रङ्गरोगन
सरकारले बिम्स्टेकको तयारको नाममा अन्तिम समयमा हतार हतारमा उपत्यकाका मुख्य मार्गका खाल्डाखुल्डी पुरेको छ ।
सो कार्यको लागि सरकारले चालू आर्थिक वर्षमा रु. तीन अर्ब ५० करोडको बजेट विनियोजन गरेको छ ।
“सडकको खाल्डाखुल्डी मर्मत सम्भारका लागि रु. १५ अर्ब माग गरेका थियौं, सडक बोर्ड नेपालले रु. तीन अर्ब ५० करोडको मात्र व्यवस्था गरेको छ, यस वर्ष बिम्स्टेकको बैठक परेकाले थप बजेट आवश्यक परे अर्थमन्त्रालयले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ”, सडक विभागका एक कर्मचारीले भने ।
बिम्स्टेकका लागि विशेष सवारीको मार्ग परेको त्रिपुरेश्वर–कालीमाटी–कलङ्की र चाबहिल–बौद्ध–जोरपाटी–थली मार्गको अन्तिम समयमा निकै कमसल जीर्णोद्धार गर्ने काम भएको छ ।
सडकमा विशेष रङरोगनसमेत गरिएको छ । केही स्थानमा जेब्रा क्रससमेत बनेको छ । तर हिलाम्य बाटो र फुटपाथमा समेत रङ्गरोगन गर्नु झाराटार्ने काममात्र भएको स्थानीय जनताले गुनासो गरेका छन् ।
खानेपानीको पुरानो वितरण सञ्जालको पाइप फुटेर सडकमा पानी जमी धेरै खाल्डाखुल्डी हुने गरेको विभागको भनाइ छ । बिम्स्टेकको मुखमा मुख्य मार्गका खाल्डाखुल्डी टालिए पनि अतिथिको मार्ग नपर्ने सडकमा कसैको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ ।
गोकर्ण रिसोर्टमा बिम्स्टेकका पाहुनाको कार्यक्रम राख्दा त्यहींसम्मको मात्र सडकको खाल्डाखुल्डी टाल्ने काम भएको तर साँखुसम्म काम नगरिएको स्थानीय जीवनाथ सिम्खडाले गुनासो गर्नुभयो । यसैगरी भित्री सडकमा बनेका खाल्डाखुल्डी पनि टालिएको छैन ।
घण्टौं जाममा
बिम्स्टेक सम्मेलनका लागि नेपाल आएका पाहुनाको स्वागत र सुरक्षाको नाममा काठमाडौंका अति व्यस्त सडकमा यातायात बन्द गर्दा मङ्गलबार र बुधबार राजधानीवासीको जनजीवन अस्तव्यस्त भयो । सरकारले वैकल्पिक सडकको बन्दोबस्त गर्न नसक्दा लाखौं सर्वसाधारणको दैनिकी अस्तव्यस्त भएको थियो । कार्यालय जान हिंडेका कर्मचारी तथा मजदुरहरूले सडकमै जाम घण्टौ खेपे । प्रशासनले जोडाबेजोडा गाडी चलाउने भन्ने सूचना जारी गर्दा पनि अत्यधिक सवारी साधनको चापका कारण जामको समस्यामा कुनै फरक परेको थिएन ।
सवारी साधनको व्यवस्थापनलाई ध्यानमा राखी सरकारले बिहीबार र शुक्रबार उपत्यकाका सबै शैक्षिक संस्था बन्द गर्न सार्वजनिक सूचना जारी गरेको छ । सरकारले उचित बन्दोबस्त गर्नुको सट्टा यसरी जनताको जीवनलाई प्रभावित बनाउने कामलाई सर्वसाधारण जनताले सकारात्मक रुपमा लिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *