भर्खरै :

घडियाल जोगाउन माछापालनलाई प्रोत्साहन

रत्ननगर, १३ भदौ । नारायणी र राप्ती नदीमा घडियाल गोही जोगाउन मध्यवर्ती क्षेत्रका विपन्न समुदायलाई माछा पालनमा सहयोग गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकको नदीमा मानवीय चाप घटाई संरक्षित वन्यजन्तु र तिनका आहाराका विभिन्न प्रजाति जोगाउन मध्यवर्ती क्षेत्रका बोटे, माझी, मुसहर तथा थारु समुदायलाई माछापालनमा आकर्षित गराइएको हो ।
यहाँका विपन्न र नदीमा आश्रित समुदायलाई सीप सिकाएर सक्षम बनाई आर्थिक सहयोग गरेर माछापालनमा सहभागी गराइएको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका सूचना अधिकारी सन्तोष भट्टराईले जानकारी दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लण्डन र हिमालयन नेचरको सहकार्यमा उक्त कार्यक्रम थालिएको हो । यहाँका केही स्थानमा माछापालन सुरु भइसकेको र केही स्थानमा यो वर्षदेखि माछापालन सुरु हुने भट्टराईको भनाइ छ ।
जगतपुरस्थित केरुङगा मध्यवर्ती क्षेत्रको दुई ठाउँ र नवलपुरको पिठ्यौली र देवचुलीको तीन ठाउँ गरी पाँच स्थानमा माछापोखरी निर्माण गरी स्थानीय विपन्न समुदाय माछापालनमा सहभागी भइसकेका छन् ।
यस्तै पूर्वी चितवनको कुमरोजस्थित दराइबोटे माछापालन समूह र सिर्जनशील माछापालन समूहले दराई बोटे तालमा माछापालन सुरु गरेका छन् ।
उनीहरूलाई माछापालनमा मत्स्य विकास केन्द्र भण्डारा चितवनले प्राविधिक सहयोग गरेको छ । तीनवर्षे कार्यक्रमअन्तर्गत उनीहरूलाई हरेक पोखरीमा रू. पाँच लाख सहयोग गरिएको सुवेदीले बताउनुभयो ।
खैरहनी नगरपालिका–१२ की लक्ष्मी दराईले सीप सिकेपछि कुमरोजको दराइबोटे तालमा माछापालन थालेको बताउनुभयो । गरीब परिवारलाई माछापालनमा गरिएको सहयोग महत्वपूर्ण छ भन्दै उहाँले पोखरीमा माछापालन हुँदा नदीको माछा जोगिने र नदीमा हुने गोहीसमेत संरक्षण हुने बताउनुभयो । चितवन कठारका भैराम दराई र विकना चौधरीले माछापालन र गोही जोगाउने उपायको बारेमा जानकारी पाएको भन्दै गोही बचाउन समुदायलाई समेत गराउने गरेको बताउनुभयो ।
गोहीको मुख्य आहारा माछा हो । नदीमा मानवीय चाप बढ्दा माछाको अभावमा अतिसङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोहीको अस्तित्व खतरामा पर्छ । त्यसैले स्थानीयवासीलाई वैकल्पिक आयआर्जनमा सहभागी गराई गोही जोगाउने कार्यक्रम थालिएको हो । संरक्षणकर्मीका अनुसार दुर्लभ पाटेबाघभन्दा घडियाल गोहीको २० गुणा बढी सङ्कटमा छ ।
नदी छेउका बासिन्दा माछा मार्न नदीमा जान्छन् । प्रयोगमा अनुमति नदिइएको तियारी जालको प्रयोगले माछामात्रै नभई जाल अड्किएर गोहीसमेत मरेको उदाहरण छ ।
त्यसैले यस्ता क्रियाकलाप रोक्न वैकल्पिक कार्यक्रम जरुरी रहेको बताउनुहुन्छ चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेद खड्का । उहाँले अझै नदीमा मानवीय चाप घटाउन नसकिएको भन्दै चिन्ता प्रकट गर्नुभयो ।
सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा १९८ घडियाल गोही रहेकोमा चितवन राष्ट्रिय निकुञ्ज आसपास नारायणी र राप्ती नदीमा मात्रै १६६ वटा घडियाल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *