भर्खरै :

त्रिभुवन विमानस्थल दैनिक २२ घण्टा चल्ने

काठमाडौं, भदौ १६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल शनिबारदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो ।
सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि सुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
यसअघि बिहान ६ बजे खुलेर ६ः४५ देखि ७ बजेपछि मात्र आन्तरिक उडान हुने गरेको थियो । अब भने बिहान ठीक ६ बजे विमान उडिसक्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।
नजिकिएको चार्डपव, पर्यटकीय मौसम तथा विमानस्थलको चापलाई समेत मध्यनजर गरी विमानस्थलले विमान ५ बजे नै सेवा सुरु गरेको हो । सबैरै विमानस्थल खुलेपछि अन्तर्राष्ट्रिय उडान पनि केही समयअघि ल्याउने गरी विमानस्थलले व्यवस्थापन गर्न लागेको बताइएको छ ।
अन्तर्राष्ट्रिय विमानमध्ये बिहान पहिलो अवतरण (६ः४५ बजे) गर्ने टर्किज एवरवेजको अवतरणको समय २० मिनेट अगावै हुने भएको छ ।
शनिबारदेखि विमानस्थलको टावर बिहान ५ः४० बजे नै खुलेको छ । यसअघि ६ बजे खुल्ने गरेको थियो । यसअघि विमानस्थल जाडो याममा बिहान ६ः३० र गर्मी याममा बिहान ६ बजे खुल्ने गरेको थियो ।
विमानस्थलले थपेको समय राति १२ः३० देखि ३ बजेको समयमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान भर्ने गरेका छन् । अन्य अन्तर्राष्ट्रिय एयरलाइन्ससँग पनि छलफल भइरहेको बताइएको छ ।
यसैबीच कतार एयरले शनिबारदेखि एक उडान थपेको छ । दोहा–काठमाडौंमा दैनिक पाँच वटा उडान भर्दै आएको कम्पनीले आगामी २७ अक्टोबरसम्म बिहान १ बजे आउने र २ बजे फकर्ने विमानस्थलले जनाएको छ ।
हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रियमा ३० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *