भर्खरै :

स्रोताहरूको जिज्ञासा का. रोहितको जवाफ

अघि वैद्यजीले भन्नुभयो, नेपालमा धेरै कम्युनिष्ट पार्टीहरू छन् तर अहिलेसम्म क्रान्ति हुन सकेको छैन, यसको कारण के होला ?
का. रोहित ः वैद्यजी स्वयं पनि कम्युनिष्ट पार्टीका संस्थापक हुनुहुन्छ । उहाँले यो प्रश्न फेरि पनि हाम्रो अगाडि राख्नुभएको छ । व्यापक जनताले बुझेका छैनन् भने क्रान्ति छिटो होस् भन्ने इच्छामात्र राखेर नहुनेरहेछ । मैले बुझेअनुसार क्रान्तिको निम्ति मनोगत र भौतिक परिस्थिति तयार हुनुपर्छ । भौतिक परिस्थिति भन्नाले जनताको सङ्गठनात्मक स्थिति, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति हुन् । हामीले क्रान्तिलाई कतिको नेतृत्व प्रदान गर्नसक्छौँ भन्नेमा पनि क्रान्ति निर्भर गर्दछ । हाम्रो देशको स्थिति अहिले पनि त्यस्तो भइसकेको छैन । यदि त्यस्तो हुँदो हो त ठूल्ठूला क्रान्तिहरू यहाँ पनि हुन्थे । १९२२ तिर लेनिनले भन्नुभएजस्तै क्रान्ति गर्नलाई एकैबाजी भावनाबाट प्रेरित भएरमात्र पुग्दैन, त्यसको निम्ति भित्री र बाहिरी परिस्थिति पनि तयार हुनुपर्दछ । दीर्घकालीन सङ्घर्षको निम्ति हामीसँग जस्तो तयारी हुनुपर्ने हो, अहिलेसम्म त्यस्तो तयारी भइसकेको छैन ।
कम्युनिष्ट घोषणापत्र सबैले नबुझेको कारण सांस्कृतिक तर नभएको भन्नुभयो, यसलाई प्रस्ट पार्नुहुन्छ कि ?
का.रोहित ः कम्युनिष्ट घोषणापत्र नबुझ्नुको एक कारण सांस्कृतिक स्तर पनि हो । सांस्कृतिक स्तर भनेको बी.ए, एम.ए. वा पी.एच.डी. मात्र होइन । प्राध्यापक र दुई विषयमा एम.ए. गर्नेलाई पनि घोषणापत्रको विषयमा ज्ञान नभएको मैले अनुभव गरेको छु । अखबार किन पढ्नुप¥यो भनी भन्नेहरू पनि थुप्रै देखेको छु । कति मानिसहरू बिदा, विज्ञापन र राशी हेर्नमात्र पत्रिका प्रयोग गर्छन् । हिन्दुस्तानमा बस्दा, सायद म दरभङ्गा पुस्तकालयको म्बष्थि ख्ष्कष्तयच थिएँ, त्यहाँका ठूल्ठूला कोठाभरि विद्यार्थीहरू हुन्थे । उनीहरू फिल्मसम्बन्धी विज्ञापन तथा लेखहरू बढ्ता हेर्दारहेछन् । त्यहाँका छात्रवासहरूमा जाँदा अचम्मको दृश्य देखिन्थे । एउटै कोठामा गान्धी, सुभाषचन्द्र बोस, नेहरू, भगवती, सरस्वती र फिल्मका पोष्टरहरू हुन्थे । यसो हुनुको कारण विद्यार्थीहरू एउटा निश्चित विचारबाट निर्देशित नहुनु नै हो । चीनमा १९६७ तिर रेल, प्लेटफर्म र स्टेशनहरूमा मानिसहरू एक मिनेट पनि चूप नलागी किताब, पत्रपत्रिका हेरिरहेका हुन्थे । हाम्रै देशमा पनि संसद् सदस्य किन हुने भन्दा पैसा कमाउन भन्ने मानसिकता देखा परेको छ । वास्तवमा त्यो गलत हो, पैसा कमाउने भए व्यापार पो गर्नुपर्छ । संसद् सदस्य भएर नयाँ विधेयक, नीति निर्माणमा सहयोग गर्ने, आफ्नो वर्ग र पक्षको विषयमा बोल्ने उद्देश्य लिनुपर्ने हो । तर हाम्रो देशमा जनतालाई दुःख दिने ऐन कानुनविरुद्धमा नयाँ–नयाँ विधेयक ल्याउनुपर्ने र समाजमा परिवर्तन ल्याउनुप¥यो भन्ने मनसाय संसद् सदस्यले राख्दैनन् । यसबाट हाम्रा संसद् सदस्यहरूको स्तर छैन भन्ने स्पष्ट हुन्छ । पहिलो अधिवेशनमा त संसद् सदस्यहरूले गोरेटो, घोडेटो, स्कूलको लागि जस्तापाता कर्कटपाता आदिको कुरामात्र उठे ।
कम्युनिष्ट घोषणापत्र बुझ्न हाम्रो अहिलेको स्नातक स्तरको पढाइले नपुग्ने रहेछ भन्ने पनि मेरो अनुभव हो । जस्तो ‘कम्युनिष्टको भूत’ भनेर घोषणापत्रमा उल्लेख छ । ए ! भूत पनि हुँदो रहेछ भनी सोच्न सकिन्छ । त्यो के हो भन्ने बुझ्न सांस्कृतिक स्तर नभएकाहरूलाई गा¥हो हुन्छ । हाम्रो सांस्कृतिक स्तर बढाउनको लागि विभिन्न च्भााभचभलअभ किताबहरू अध्ययन गर्नुपर्दछ ।
वर्ग उन्मूलन कसरी हुनसक्छ ?
का. रोहित ः वर्ग उन्मूलनको गलत व्याख्या गरी कसैले वर्गलाई सफाया गर्ने भनेर धनीहरूलाई मार्न थाले । वास्तवमा वर्ग उन्मूलनको दृष्टिकोण त्यो होइन । क्रान्तिपछि उत्पादनका साधनहरू सामाजिकीकरण गरिन्छ र एउटा जमिनदार वा पुँजीपतिको जमिन र सम्पति सबै जनतालाई बाँडिन्छ ।
कम्युनिष्टहरू स्वास्नीलाई पनि सामाजिकीकरण गर्छन् भन्ने हल्लाको विषयमा तपाईं के भन्नुहुन्छ ?
का. रोहित ः गणेशमानजीले एक पटक भन्नुभएको थियो – “चीनमा १५ दिनको एक पटक लोग्ने स्वास्नीलाई साँढे देखाएजस्तै देखाइदिन्छ ।” सायद उहाँले त्यसबेला हेर्नुभएको कम्युनिज्म प्लेटोको होला । कम्युनिष्टहरूको साम्यवादलाई पनि उहाँले विकृतरुपमा हेर्नुभयो । पुँजीपति वर्गले स्वास्नीमानिसलाई सम्पत्तिको रुपमा हेरेको आँखाले नै कम्युनिष्टहरूलाई हेरेको हुनाले सब सम्पत्तिलाई सामाजिकीकरण गरिन्छ भन्नुको मतलब स्वास्नीलाई पनि सामाजिकीकरण गरिन्छ भन्नेठानेको हो । कम्युनिष्टहरू स्वास्नीमानिसलाई पनि आफूसरहकै समान व्यक्तित्वको रुपमा लिन्छन् ।
कम्युनिष्ट घोषणापत्र अहिलेसम्म धेरै नेताहरूले बुझिसकेका छैनन् भन्नुभयो, फेरि त्यही घोषणापत्रअनुसार समाज परिवर्तन गरिनुपर्छ भन्ने सिद्धान्त छ । त्यसो भए यो कसरी वैज्ञानिक हुनसक्दछ ?
का. रोहित ः मेरो भनाइको मतलब सबै नेताहरूले बुझेका छैनन् भन्ने होइन । नेताहरू केहीले बुझेर पुग्दैन । व्यापक जनताले बुझ्नुपर्ने कुरा हो । दूध नै कम छ भने कममात्र घ्यू बन्छ । यो त व्यापक प्रचार गर्नुपर्ने विषय हो । हामीले यो घोषणापत्र बुझिसकेपछि केही नोटहरू बनाएर अशिक्षित मजदुर किसानहरूलाई बुझाउनुपर्दछ ।
घोषणापत्रमा उत्तराधिकारीको व्यवस्था खारेज गरिनुपर्ने कुरा उल्लेख छ तर कम्युनिष्ट नेताहरूले रुस, कोरिया, चीनमा उत्तराधिकारीको व्यवस्था गरेका छन् । यो कसरी हुनसक्छ ?
का. रोहित ः घोषणापत्रमा उत्तराधिकारीको अर्थ बाबु मरेपछि छोरामा जाने सम्पत्ति भनेको हो । कहिलेकाहीं २÷४ जना दाजुभाइको सम्पत्ति पनि एउटा टाढाको नातेदारले अपुतालीको रुपमा पाउँछ । अझ अरु देशमा यति प्रतिशतमात्र नाताले पाउँछ हैन भने सबै सरकारी हुन्छ भन्ने छ ।
नेतृत्वमा उत्तराधिकारीको प्रश्न रुस र चीनमा पनि उठेको थियो । कम्युनिष्ट आन्दोलनको उत्तराधिकारीका प्रश्नको रुपमा हामी कोरियालाई देख्छौँ । कोरियामा किम इल सुङ्गको ठाउँमा किम जङ्ग इललाई देख्छौँ । सबैले बाबुपछि छोरा यो त राजतन्त्रजस्तै भयो भनेर टिप्पणी गरेका छन् । कोरिया त्यस्तो एउटा क्षेत्र हो जहाँ अमेरिकाजस्तो शक्तिशाली देशको सेना र आणविक हातहतियार छ । कुनै पनि बेला त्यहाँ युद्धको स्थिति छ । त्यस अवस्थामा एउटा सक्षम नेतृत्वको आवश्यकता रहेकोले र त्यो व्यक्ति स्वयं पनि जनताबाट धेरै स्वीकारिएको हुनाले किम इल सङ्गपछि किम जङ्ग इल आएको हुनुपर्छ । अर्काे कुरा कुनै नेता बाबुको छोरा हुँदैमा ऊ नेता नै बन्न हुँदैन भन्ने कुरा हैन । जो योग्य हुन्छ त्यो आउँछ । जस्तै हिन्दुस्तानमा इन्दिरा गान्धी कसरी आइन् त ? मैले केही विश्लेषणहरू हेर्दा के थाहा पाएँ त भने नेहरूसँग काम गर्ने कुनै त्यस्ता नेताहरू थिएनन् जसले हिन्दुस्तानलाई नेतृत्व गर्न सकून् । धेरैजसो नेताहरू क्षेत्रवादी, भाषावादी, स्वार्थी, राष्ट्रिय दृष्टिकोणको अभाव भएकाहरू हुनाले नै नेहरूपछि इन्दिरा गान्धी आउन सकेकी हुन् । त्यस्तै दक्षिण पूर्वी एसियामा भुट्टोपछि अर्को भुट्टोे र बन्दरानायकेपछि अर्को बन्दरानायके सरकारमा छन् किनभने विकासशील देशहरूमा माथिल्ला दर्जाका मान्छेहरू पढेलेखेका, स्वार्थ भएका र राजनीतिमा पनि धेरै सक्रिय नहुने हुनाले र तल्लो वर्ग उठी नसकेको हुनाले पनि यस्तो हुने सम्भावना हुन्छ भन्ने मेरो अनुमान छ ।
कम्युनिष्ट घोषणापत्रअनुसार नेपालको परिवेशमा माओवादी आन्दोलनलाई कसरी तुलना गर्ने ?
का. रोहित ः पहिले चीनमा पनि यस्ता घटनाहरू भएका थिए । वर्ग दुश्मनकोे रुपमा मान्छे मार्ने, त्यसलाई व्यक्तिगत आतङ्कवाद पनि भन्ने चलन छ । माओवादीहरूको आन्दोलन भइसकेका क्षेत्रहरूमा हाम्रो सङ्गठन नभएकोले त्यहाँको ठीक–ठीक सूचना हामीसँग छैन । त्यसैले त्यसबारे हामी टिप्पणी पनि गरिरहेका छैनौँ । तर त्यहाँ पुलिसको आक्रमणबाट जनता मरिरहेका छन् । त्यसले त्यहाँको समस्याको राजनैतिक समाधान हुँदैन । त्यहाँ १०० जना मान्छे बचाउन ५०० पुलिस गइरहेका छन् त्यसले समस्याको समाधान हुँदैन बरु त्यो १०० जनालाई नै काठमाडौंमा ल्याएर राखौँ र पुलिसलाई उपद्रोह गर्न नदिऊँ भन्ने मेरो भनाइ हो ।
अर्को कुरा त्यहाँ धेरै शोषण भएको हुनाले नै “ मर्ता क्या नकर्ता ” भनेजस्तै खान नपाउने र धेरै शोषण भएकोले नै त्यहाँका जनता आन्दोलित भएका हुन् भन्ने म अनुमान गर्छु । दोस्रो कुरा त्यहाँ आन्दोलनमा भाग लिइरहेकाहरूकै प्रतिनिधिहरू जिविस र प्रतिनिधिसभामा पनि थिए तर सरकारले त्यहाँ कुनै पनि विकास कार्यहरू गर्न दिएन । मुद्दामा फसाउने र जालसाझीहरू भएकाले त्यहाँको राजनैतिक पक्षले अब अर्को उपाय छैन हामी जोगिन सङ्घर्ष नै गर्नुपर्छ भनी लागेको अनुमान गर्छु ।
कम्युनिष्ट घोषणापत्र प्रकाशनको १५० औं वार्षिकीको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिले २०५४ चैत १६ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंसँग सहभागीहरूले गरेका विभिन्न प्रश्नको जवाफमा व्यक्त विचार कार्ल माक्र्सको २०० औं जन्म दिवसको सन्दर्भमा सान्दर्भिक भएकोले प्रस्तुत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *