भर्खरै :

बाटस्वानामा झण्डै एकसय हात्ती मारिएको दावी

गाबोरोन, बोटस्वाना १९ भदौ  ः दक्षिण अफ्रिकी मुलुक बोटस्वानामा हात्तीका दारा (आइभरी) तस्करीका ठूलो सङ्ख्यामा हात्ती मारिएको भेटिएको पशु अधिकारका लागि कार्यरत एक संगठनले मङ्गलबार जनाएको छ ।
“मृत भेटिएका हात्तीमध्ये ठूला दारा हुने प्राय भाले हात्ती रहेका छन्,” एलिफन्ट विदाउट बोर्डर नामक संस्थाले सामुहिक रूपमा हात्ती मारिएको यो घटना सम्भवत पहिल्ला केही बर्ष यताकै दुखद घटना भएको जनाउँदै उक्त क्षेत्रमा हात्ती संरक्षणका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गरेको छ ।
ठूलो सङ्ख्यामा हात्ती मारिएको सूचनाका आधारमा उक्त संस्थाले विगत केही दिन यता गरेको हवाई अनुगमनमा दारा निकालिएको अवस्थामा ९० भन्दा बढी हात्ती मृत भेटिएको हो ।
बोटस्वाना वन्यजन्तु विभाग तथा राष्ट्रिय निकुञ्जको एलिफन्ट विदाउट बोर्डरसका निर्देशक माइक चेजले भन्नुभयो, “यो बर्षको जुलाई १० देखि हवाई अनुगमन थालेको र सो क्रममा ९० हात्तीका दारा निकालिएको अवस्थामा मृत शरीर भेट्यौँ ।”
हवाई सर्भेक्षणका क्रममा हरेक दिन दुई चार वटा मृत हात्ती भेटिएको उहाँले बताउँनुभयो ।
प्राय हात्ती पानी खान जलाशययुक्त क्षेत्र नजिक पुगेका समय शक्तिशाली राइफलको प्रयोग गरी उनीहरूलाई मारिएको अध्ययनका क्रममा थाहा भएको माइक चेजले बताउनुभयो ।
हात्ती मारिएको स्थान ओकाभाङ्गो नदीले बनाएको त्रिभुज आकारको जङ्गली क्षेत्र रहेको र उक्तस्थान निकुञ्ज क्षेत्र भएको बताइएको छ ।
उहाँले भन्नुभयो, “अफ्रिकामा हात्तीको यति ठूलो सङ्ख्या तस्करले मारेको खबर अहिलेसम्म मैले नत पढेको थिए न देखेको नै थिएँ ।”
अफ्रिकामा हात्तीको सङ्ख्या करिब एक लाख ३५ हजार रहेको विभिन्न अफ्रिकी सङ्घसंस्थाले बताउने गर्छन् ।
विगतका केही दशक यता अफ्रिकी हात्तीको जनसङ्ख्या चार लाख १५ हजारबाट घटेर एक लाख ११ हजारमा झरेको अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) ले जनाएको छ । हात्तीको दारा महङ्गो रकम लिएर तस्करहरूले विश्वका विभिन्न क्षेत्रमा लाने गर्छन् । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *