भर्खरै :

प्रस्तावित रङ्गशालाविरुद्ध जनता सडकमा जनता भन्छन्, ‘कुनै पनि हालतमा रङ्गशाला बनाउन दिंदैनौं’

भक्तपुर २१ भदौ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ साविकको ताथली गाविसको तेडोल र डाँडापाटीमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणविरुद्ध जनता सडकमा उत्रिएका छन् ।
सरकारले जग्गा एकीकरण आवास योजनामार्फत अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने एकतर्फी निर्णय भएको भन्दै सो क्षेत्रका जनता सडकमा उत्रिएका हुन् ।
रङ्गशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयका सह—सचिव अनप्रसाद न्यौपानेको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको र भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडाल क्षेत्रमा झण्डै ३८ हजार रोपनीमा आवास योजना सञ्चालन गरी त्यसबाट बचेको दुईहजार रोपनी क्षेत्रफलमा रङ्गशाला बनाएको खण्डमा आफूहरूको उठिबास हुने निश्चित भएपछि रङ्गशाला पीडित जनता सडकमा उत्रिएको पीडितहरूले बताए ।
पीडित जनताले बिहीबार भक्तपुरको भत्केको पाटीदेखि चाँगुनारायण नगरपालिका कार्यालयसम्म जुलुससहित विरोध ¥याली गरेका छन् । उनीहरूले चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रलाई विरोधपत्र बुझाएका छन् ।
उनीहरूले ‘बस्ती उठाउन पाइँदैन– रङ्गशाला हामीलाई चाहिंदैन’, ‘विकासको नाममा विनास–हुन्छ जनताको उठिबास’, ‘रङ्गशाला झेल हो– ‘भूमाफियाको खेल हो’, ‘मनपरी सहन्नौं– चुप हामी रहन्नौं’, ‘बस्दैनौ चुप लागेर– आए जनता जागेर’, ‘जन चाहनाको कदर गरौं–रङ्गशाला बदर गरौं’, ‘जनताको तागत थाहा होला– जनविरोधी तत्वको हालत के होला ?’, ‘जनता कहिल्यै दब्दैन– हातमा दही जम्दैन’ लगायतका नारा लगाई नगरपालिका कार्यालय घेराउ गर्न गएका थिए ।
‘जनताको पक्षमा काम गर्ने कबुल गरी चुनिएका जनप्रनिधिहरूले जनताको गाँस, बास नै नरहने गरी कुनै काम गर्नु जनप्रतिनिधिको धर्मभित्र पर्दैन । सो ठाउँमा रङ्गशाला बन्ने भएपछि हामी जनता दिनरात आतङ्कित भइरहेका छौं । यो विषयमा नगर प्रमुख र केही जनप्रतिनीधिहरूबाट अझ पनि स्पष्ट तथ्य बाहिर नआउनु दुःख र विडम्बनाको कुरा हो ।’ विरोध ¥यालीमा सहभागी ताथलीको तेडोलका सोविता भण्डारीले भनिन् ।
उनले सो क्षेत्रमा रङ्गशाला बने आफ्नोमात्र नभएर आफूजस्ता सयौंको उठिवास हुने जानकारी दिंदै आफ्नो गाँस र बासको लागि पनि आन्दोलनको विकल्प नभएको बताइन् ।
‘डाँडापाटी र तेडोलमा रङ्गशाला बन्नु हुन्न, यसले हाम्रो उठिवास हुन्छ, त्यहाँ सयौं वर्षदेखि बसोबास गरिरहेका स्थानीय मात्र नभएर विभिन्न जिल्लाबाट यस स्थानमा बसाइँ सरी आई दुई– चार आना जग्गामा घडेरी गरी बसिरहेका पीडितहरूको पनि उठिबास हुन्छ ।’ विरोध ¥यालीमै सहभागी अर्का पीडित रामकृष्ण सुवालले भने । सोही कारण जनता आन्दोलित भएको उनको भनाइ छ । उनले सो क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने कामका विषयमा नगपालिकाले कुनै पनि सल्लाह नगरी जनप्रतिनिधिले नै जनताको मतविपरीतको काम गरेको पनि बताए । ‘सरकारबाट त्यो ठाउँमा रङ्गशाला निर्माण गर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने हाम्रो माग छ, त्यो कुरा मेयरसावलाई सुनाउन विरोध ¥याली गरिएको हो ।’ उनले भने ।
विरोध ¥यालीपछि नगरपालिका कार्यालय परिसरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण पीडित सङ्घर्ष समितिले विरोधसभा गरेको थियो । विरोधसभामार्फत प्रदर्शनकारीले चाँगुनारायण नगरपालिका नगर प्रमुख मिश्रलाई जनताको मतविपरीतको काम नगर्न खबरदारी गरेका थिए ।
सङ्घर्ष समितिले बुझाएको विरोध पत्र लिंदै मेयर मिश्रले सो विषयमा आपूmलाई राम्रो जानकारी नभएको भन्दै पन्छिन खोजेका थिए । उनले रङ्गशाला बन्नुपर्ने, कोहीको पनि विस्थापन हुने नहुने जिकिर गरे पनि जनतासमक्ष भने रङ्गशाला बन्नुपर्ने कारण खुलाउन सकेका थिएनन् ।
आयोजक समितिका अध्यक्ष रामचन्द्र बासीले जनताको मागलाई बेवास्ता गरी रङ्गशाला निर्माण कार्य अगाडि बढाएमा अझ सशक्त आन्दोलन गर्ने घोषणा गरिएको उक्त विरोध सभामा समितिका सचिव हरिसुन्दर छुकांले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *