भर्खरै :

सडक दुर्घटनामा प्रत्येक वर्ष पाँच हजारको मृत्यु

काठमाडौं, २१ भदौ । मुलुकमा सडक दुर्घटनाका कारण प्रत्येक वर्ष करीब पाँच हजारले ज्यान गुमाउने गरेका छन् ।
नेपाल इञ्जरी अनुसन्धान केन्द्रद्वारा बिहीबार आयोजित ‘दुर्घटनाका घाइतेलाई प्राथमिक उपचार’ विषयक अन्तरक्रियामा विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको प्रतिवेदनमा दुर्घटनामा ती यात्रुको मृत्यु हुने जनाइएको छ ।
त्यसैगरी दुर्घटनामा सामान्य र गम्भीर गरी १० हजारभन्दा बढी घाइते हुने गरेको उल्लेख छ । सडकमा खाल्डाखुल्डी, चालकको हेलचेक्र्याइँ, निरन्तर ट्राफिक नियमन र सवारी साधनको बिगं्रदो अवस्थाजस्ता कारण दुर्घटना हुने गरेको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले दुर्घटना भएपछि घटनास्थलमा हुने मृत्युबाहेक गम्भीर घाइते भएकालाई प्रारम्भिक उपचार गरेरमात्र अस्पताल लैजान सकेमा मृत्यु हुने बिरामीको सङ्ख्या घट्ने बताउनुभयो । उहाँले राजमार्ग तथा त्यसवरपर क्षेत्रमा बढी सडक दुर्घटना हुने गरेको बताउँदै घाइतेलाई समयमा उपचार पाएमा निको पार्न सकिने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य सरीता न्यौपानेले दुर्घटना न्यूनीकरणका लागि सडकको गुणस्तर राम्रो र सुरक्षित बनाउनपर्ने र ट्राफिक नियम तथा अनुशासनलाई कडाइका साथ पालना गर्न लगाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्यद्वय सुशील भट्ट र डा. उषा झाले पूर्वाधार निर्माणमा यातायातको सञ्जाललाई जोडने सडक भएको बताउँदै खतरामुक्त सडक निर्माण गरी जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *