भर्खरै :

तालाबन्दीविरूद्ध आदर्श माविमा विरोध सभा

मध्यपुर, २ फागुन। थिमिस्थित आदर्श उच्च माविमा भएको तालाबन्दीको विरोधमा सोही विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थी समाजको आयोजनामा विरोधसभा सम्पन्न भयो।
उक्त सभामा संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापाले राष्ट्रको मुहार फेर्ने शिक्षा दिने विद्यालय कुनै पनि अवस्थामा जुनसुकै निकायले बन्द गर्नु गलत भएको विचार राख्नुभयो। विद्यालयमा उत्पन्न मतमतान्तर र असामञ्जस्यतापूर्ण स्थितिलाई सल्लाह र सुझावमार्फत समाधान गर्न सकिने कुरामा जोड दिदंै उहाँले सोही विद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट नियुक्त भई आएका उद्धव सुजखूले आदर्श उमाविलाई जिल्लाकै उत्कृष्ट नमुना विद्यालयको रूपमा स्थापित गरी कलेज तहसम्मको कक्षा सञ्चालन गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो।
पूर्वविद्याथी मदनसुन्दर श्रेष्ठले जनप्रतिनिधि भइसकेका व्यक्तिहरूसमेत शैक्षिक क्षेत्रमा तालाबन्दी गर्न उत्रनु अशोभनीय भएको भन्दै नयाँ प्रअ नियुक्ति पूर्णरूपमा नियमसङ्गत भएकोले विरोध गर्नुको कुनै औचित्य नभएको बताउनुभयो।
समाजसेवी बालकृष्ण दुगुले विद्यालयका शिक्षक शिक्षिकाहरूसमेत नयाँ प्रअ नियुक्तिबाट हर्षित भई बधाई ज्ञापन गरिसकेको अवस्थामा नेका सम्बद्ध व्यक्तिहरूले विद्यालयमा तालाबन्दी गर्नु राजनीतिक अपराध भएको औंल्याउनुभयो।
कार्यक्रममा भूपू विद्यार्थी समाजका पूर्व अध्यक्ष उमेश श्रेष्ठले विद्यालयसँग कुनै किसिमको सम्बद्धता नभएका व्यक्तिहरूले तालाबन्दीको अगुवाइ गर्नु कुनै पनि कोणबाट सही मान्न नसकिने विचार राख्नुभयो।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *