भर्खरै :

अन्तर्राष्ट्रिय खेलकुद परिसर बनाउन कुनै पनि ठाउँ टुङ्गो लागिसकेको छैन–मन्त्री सुनार

काठमाण्डौ, २५ भदौ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा) ले अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर(रङ्गशाला) बनाउने राष्ट्रिय गौरवको योजनाअन्तर्गत काठमाण्डौ उपत्यका र वरपरका जिल्लाका विभिन्न स्थानमा उपयुक्त स्थानको खोजी र अध्ययन भइरहेको बताएका छन् । भक्तपुरको सुर्यबिनायक नपा र चाँगुनारायण नपाका विभिन्न वडा समेटेर बनाउने भनी प्रचार गरिएको अन्तर्राष्ट्रिय खेलकुद परिसरको विरोधमा सङ्घर्षका विभिन्न गतिविधि गर्दै आएको सङ्घर्ष समितिको प्रतिनिधिमण्डलसँग सोमबार आफ्नो कार्यकक्ष सिंहदरबारमा भेट्दै उनले कुन स्थानमा बनाउने भन्ने विषयमा कुनै निर्णय भइनसकेको र सबैतिरको अध्ययन चालु रहेको बताए ।
‘‘भखारीमूलमै बनाउने भन्ने कुनै निर्णय भएको छैन ।’’, उनले भने,‘‘तपाईहरू आतङ्कित हुनुपर्ने कुनै कारण छैन ।’’
युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद परिसर निर्माणको लागि उपयुक्त स्थानको खोजी गर्न चालु आवमा ५० लाख बजेट विनियोजन गरेको छ ।
प्रतिनिधिमण्डललाई मन्त्री सुनारले अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर बनाउन सरकारसँग पैसा नभएको बताए ।
‘‘जहाँ बनाउने हो, त्यहींको जग्गा ल्याण्डपुलिङ मार्फत एकीकरण गरी उठेको आम्दानीले खेलकुद परिसर बनाउन खर्च जुटाउने हो ।’’, मन्त्री सुनारले भने ।
उनले काठमाण्डौ उपत्यकाभित्रै सुन्दरीजल क्षेत्रमा पनि उपयुक्त जग्गाबारे अध्ययन भइरहेको जानकारी दिए ।
उनले खेलकुद परिसर निर्माणको लागि सिफारिस भएका स्थानहरूको भूगोल, वातावरणीय तथा सांस्कृतिक पक्ष आदिको विज्ञ समूहबाट अध्ययन हुने पनि बताए ।
भेटमा उनले काठमाण्डौ उपत्यकाभित्र अन्तर्राष्ट्रिय स्तरको खेलकूद परिसर, सातै प्रदेशमा एक–एक वटा सुविधासम्पन्न रङ्गशाला र ७५३ वटै स्थानीय तहमा एक–एक वटा रङ्गशाला बनाउने सरकारको योजना रहेको बताए ।
सहभागी पदाधिकारीले भकारीमूल कृषियोग्य जमिन भएकाले सो स्थानलाई रङ्गशाला बनाउन भन्दा कुनै कृषि क्षेत्र बनाउन उपयुक्त हुने विचार राख्दा मन्त्री सुनारले बारीमा मकै फलाउनुभन्दा पसल राखेर धेरै आम्दानी हुने धारणा राखे ।
‘‘मकैको गेडा गनिरहनुभन्दा पसल थप्दा धेरै फाइदा हुन्छ भने त्यही गर्नुपर्छ’’, उनले भने ।
उनले देशको राजधानी अन्यत्र सारे मात्र काठमाण्डौ उपत्यकाको खेतीयोग्य जमिन जोगिने नत्र केही वर्षभित्र उपत्यकाभित्र खाली जग्गा बाँकी नहुने बताए ।
रङ्गशाला पीडित सङ्घर्ष समितिको प्रतिनिधिमण्डलले काठमाण्डौ उपत्यकाभित्र जनसङ्ख्या केन्द्रिकरण भएका कारण देशको सन्तुलित विकासका लागि अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर उपत्यका वरपरका कुनै जिल्लामा राख्नु उपयुक्त हुने विचार राखेका थिए ।
उनीहरूले खेतीयोग्य जमिन म्हासेर कृषिमा आधारित रैथाने जनताको संस्कृति नष्ट गर्न नहुने बताए ।
‘‘भखारीमूल राजमार्गसँग सटिएको ठाउँ हो । खेलकूद परिसर बनाउन राजमार्गबाट कम्तीमा तीन किमि पर हुनुपर्ने प्रावधानअन्तर्गत सो क्षेत्र उपयुक्त होइन ।’’, उनीहरूले भने ।
स्थानीयसँग बिना कुनै सरसल्लाह एकतर्फी केही मानिसहरू रङ्गशाला बनाउने कुरालाई दम्भपूर्वक थोपर्न लागिरहेको उनीहरूको भनाई थियो ।
भेटघाटमा प्रतिनिधिमण्डलले मन्त्रीसमक्ष विरोध पत्र पनि बुझाएको थियो । पीडित सङ्घर्ष समितिको तर्फबाट शिवशरण कार्की, प्रकाश थापा, शेरबहादुर ङाकुसी, कृष्ण भुजेल, सुर्यभक्त त्वाती, लक्ष्मण कार्की, कृष्णराम जाकिबञ्जार, नीरज लवजूलगायत सहभागी भएका थिए ।
त्यस्तै मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, सहसचिव गणेशप्रसाद पाण्डेय र सहसचिव अन्नप्रसाद न्यौपानेको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *