भर्खरै :

विद्युत् चोरी गर्ने तीन सयलाई कारबाही

चितवन, २८ भदौ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारबाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरूलाई कारबाही गरेको हो ।
कारबाही गरिएका व्यक्तिबाट कार्यालयले रु. २८ लाख २० हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार चुहावट नियन्त्रणका लागि कार्यालयले समय समयमा छड्के अनुगमन गर्ने गरेको छ । जसका कारण चुहावटमा समेत कमी आएको कार्यालयको दाबी छ । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आवको तुलनामा गत आवमा विद्युत् चुहावटमा एक दशमलब १८ प्रतिशतले कमी आएको छ ।
तथ्याङ्कअनुसार अघिल्लो आवमा १२ दशमलब ३९ प्रतिशत विद्युत् चुहावट भएकामा गत आवमा ११ दशमलब २१ प्रतिशत विद्युत् चुहावट भएको थियो । यसलाई घटाएर चालू आवमा शून्य प्रतिशत चुहावट झार्ने उद्देश्य रहेको महतोले बताउनुभयो । कार्यालयले सोही अवधिमा समयमै महशुल नबुझाएका एक हजार १८३ जना सेवाग्राहीको लाइन काटेको छ । यस्तै काटिएका लाइनमध्ये एक हजार १०० जनाको पुनः जडान गरिएको महतोले बताउनुभयो । पुनः जडान गर्ने सेवाग्राहीबाट रु. दुई करोड आठ लाख २९ हजार जरिवाना रकम सङ्कलन गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *