भर्खरै :

वागीश्वरी आमन्त्रण कबड्डीको ट्रफी ख्वप र वागीश्वरीलाई

भक्तपुर, २८ भदौ । वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा आयोजित आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगिता भाद्र २८ गते सम्पन्न भयो ।
काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न दश वटा विद्यालयहरूको सहभागितामा भएको उक्त प्रतियोगिताको छात्रतर्फको फाइनलमा वागीश्वरी मावि (भक्तपुर) ले सकेरेट हर्ट मावि (काठमाडौं) लाई २४ का विरुद्ध ५० अङ्क हासिल गरी प्रथम भयो भने छात्रातर्फ फाइनलमा ख्वप मावि (भक्तपुर) ले वागीश्वरी मावि २६ का विरुद्ध ५१ अङ्कले हराइ प्रथम भयो ।
छात्रातर्फ तृतीय स्थानमा ख्वप्रिङ ई. एकेडेमी (भक्तपुर) र कन्या मन्दिर मावि (काठमाडौं) भए भने छात्रतर्फ तृतीय ख्वप मावि र बेलोर मावि (काभ्रे) भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका छात्र छात्रा छुट्टाछुट्टै टिमहरूलाई क्रमशः रु.७–७ हजार, ५–५ हजार र ३–३ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
छात्रतर्फ उत्कृष्ट रेडर सविन बोहजू (वागीश्वरी), उत्कृष्ट डिफेन्डर राजेन्द्र तामाङ (वागीश्वरी) घोषित भएका थिए भने छात्रातर्फ उत्कृष्ट रेडर यशोधा गिरी (ख्वप) र उत्कृष्ट डिफेन्डर मनिषा भैल (ख्वप) घोषित भएका थिए ।
प्रतियोगिता समापन एवं पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि ३ नं प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले विजयी टिम तथा खेलाडीहरूलाई नगदपुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै खेल मित्रता, अनुशासन र देशभक्तिले युक्त हुनुपर्नेमा जोड दिनुभयो । सरकारले खेल र खेलाडीहरूलाई उचित स्थान नदिंदा देशमा खेलकुदको प्रगति हुन नसकेको चर्चा गर्दै उहाँले समाजवादी देशहरूमा खेल र खेलाडीको उचित सम्मान हुने गरेको विचार व्यक्त गर्नुभयो ।
समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व, अखिल नेपाल कबड्डी सङ्घका महासचिव विनोद प्रजापतिले कबड्डी खेलको महत्वमाथि प्रकाश पार्नुभयो भने स्वागत मन्तव्य प्राचार्य कृष्णप्रसाद धन्छा र धन्यवाद ज्ञापन सहप्राचार्य ज्ञानसागर प्रजापतिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *