भर्खरै :

समाजवादी मूल्य–मान्यता बाल्यकालदेखि नै अभ्यास गर्दै लैजानुुपर्दछ

सि चिनफिङ
प्यारा विद्यार्थी तथा शिक्षक र साथीहरू,
शुभप्रभात ! आज युवा अगुवाहरूको समारोह र युवा अगुवाहरूलाई अभिमुखीकरण दिने समारोहमा यहाँ तपाईंहरूसमक्ष उपस्थित हुन पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ । अन्तर्राष्ट्रिय बाल दिवस नजिकै आउँदै छ, आज म यहाँ तपाईंहरू र चीनका सबै जनजातिका बालबालिकाहरूलाई यस चाडको उपलक्ष्यमा शुभकामना दिन चाहन्छु ।
नैतिकताको विकासलाई अत्यधिक महत्व दिँदै हाइतियान जिल्लाको मिन्चु प्राथमिक विद्यालयले धेरै कार्यक्रमहरू आयोजना गरेको छ र राम्रो सफलता प्राप्त गरेको छ । भर्खरै मैले विद्यार्थी, शिक्षक र अभिभावकहरूबाट विचारोत्तेजक वक्तव्यहरू सुनें । तपाईंहरू सबैले नैतिक शिक्षालाई बलियो बनाउने र बालबालिकालाई बाल्यकालदेखि आधारभूत समाजवादी मूल्य र मान्यतालाई व्यवहारमा उतार्न पथप्रर्दशन गर्नुपर्ने आवश्यकतामाथि बोल्नुभयो । यो धेरै राम्रो कुरा हो र मेरो पनि त्यस्तै विचार छ । म यही विषयमा तपाईंहरूसित छलफल गर्न चाहन्छु ।
राष्ट्रको सांस्कृतिक प्रगति र देशको विकासका लागि पुस्तौंपुस्ताका सतत् प्रयासहरू र कैयौं प्रेरणामूलक शक्तिहरूको आवश्यकता पर्दछ । ती शक्तिहरूमध्ये आधारभूत मूल्य र मान्यताहरू सबैभन्दा गहन र दिगो रहन सक्छन् । चिनियाँ राष्ट्र ७००० वर्ष लामो इतिहास र उत्कृष्ट संस्कृतिप्रति गर्व गर्दछ र हाम्रो सभ्यता प्राचीनकालदेखि आजसम्म अविच्छिन्न रुपमा विकसित भएको छ । इतिहासको लामो कालखण्डमा हाम्रो सभ्यता कसरी बच्न र विकसित हुनसक्यो होला ? यसको एउटा महत्वपूर्ण कारण के हो भने हाम्रो राष्ट्रको नैतिकताको लक्ष्य र लोकाचार छन् जो पुस्तौंपुस्तादेखि हस्तान्तरित हुँदै आएका छन् । हामीले अहिले प्रयोग गर्ने चिनियाँ अक्षरहरू (१६००–१०४६ बी.सी) साङ शासनकालका हाडमा दिव्य पुरुषहरूले कुँदेका अक्षरहरूभन्दा पृथक छैनन् र उच्चतम दूरदृष्टि भएका लाओज, कन्फ्युसियस, मेन्सियस, चुवाङ ज र अन्य प्राचीन सन्तहरूले आफ्नो दर्शन हामीलाई हस्तान्तरण गरेर गएका छन् । हजारौं वर्षदेखि बिना कुनै अवरोध हाम्रो सभ्यता विकसित भएर आएको छ । विश्व इतिहासमा यो एउटा अनुपम उपलब्धि हो ।
आज हाम्रो देश अझ बढी विकास गर्ने दिशामा लागेको छ । हामीले वर्तमान समयको लेखाजोखा गर्नुपर्छ र हाम्रो राष्ट्रिय गतिलाई खासगरी परम्परागत मूल्य र मान्यतालाई अगाडि बढाउनुपदर्छ ।
आजका हाम्रा आधारभूत समाजवादी मूल्य र मान्यता भनेको प्रगति, प्रजातन्त्र, सभ्यता, सौहार्दता, स्वतन्त्रता, समानता, न्याय र कानुनको शासन, देशभक्ति, समर्पण, इमानदारी र मैत्रीभाव हुन् । यी गुणहरूले प्राचीन कालका सन्तका विचारलाई समाजप्रेमी जनताका विचार, एक क्रान्तिकारी सहिदका आदर्श र आम जनताको आशालाई पनि प्रतिनिधित्व गर्दछन् । सबै चिनियाँ जनताले यी मूल्य र मान्यतालाई बढाउन र व्यवहारमा लागू गर्न सावधानीपूर्वक काम गर्नुपर्दछ ।
मैले धेरै अवसरहरूमा यसलाई जोड दिने गरेको छु । यस वर्षको फेबु्रअरीमा पार्टीको केन्द्रीय समितिको पोलिटब्युरोले यस विषयमा एउटा विशेष समूह अध्ययनको आयोजना गरेको थियो । मैले आफ्नो भाषणमा यस सम्बन्धमा सम्पूर्ण समाजका लागि यो आवश्यक भएको कुरा उठाएँ । मैले गत मे ४ मा पेइचिङ विश्वविद्यालयका विद्यार्थीलाई भेट्दा र त्यसअघि उच्चस्तरीय अधिकृतहरूसँग साङ्घाईमा भेट्दा पनि यही कुरा उठाएको थिएँ । आज म त्यही कुरा विद्यार्थीहरूसमक्ष राख्न चाहन्छु । किनभने कुनै विचारलाई दीर्घकालीन रुपमा स्थापित र विकसित गर्न हामीले हाम्रा केटाकेटीहरूलाई त्यो कुरा भनेर सुरु गर्नुपर्छ ।
बालबालिका हाम्रो देशका भविष्य हुन् र चिनियाँ राष्ट्रका आशा हुन् । “चिनियाँ युवा” नामक आफ्नो कृतिमा लियाङ छी छाओेले भन्नुभएको छ, “यदि युवा ज्ञानी भए भने देश ज्ञानी हुन्छ । यदि युवाले प्रगति गरे भने देशले पनि प्रगति गर्छ । यदि युवा बलिया भए भने देश पनि बलियो हुन्छ ।” पुरानालाई नयाँले प्रतिस्थापित गर्नु अपरिवर्तनीय नियम हो र आजका विद्यार्थीले नै भोलिको भविष्यको निर्माण गर्नेछन् । गत वर्ष अन्तर्राष्ट्रिय बाल दिवसमा मैले भनेको थिएँ, प्रत्येक मान्छे बालकबाट ठूलो हुँदै आएको हुन्छ । हाम्रोे सपना साकार हुने कुरा हामीमा र विशेष रुपमा तपाईं युवाहरूमा भरपर्दछ । बालबालिका संवेदनशील हुन्छन् र सबै राम्रा कुरा सिक्न तयार हुन्छन् । “प्राचीनकालदेखि प्रमाणित भएको कुरा के हो भने युवाहरूबीचबाट नै देशका नायक जन्मन्छन् । हाम्रो देशको राम्रो भविष्य निर्माणका लागि हामीले हाम्रा बालबालिकालाई प्रोत्साहित गर्नुपर्छ र नयाँ एवं ठूला लक्ष्यहरू बनाउन र तिनीहरूको चरित्र त्यसअनुरुपको बनाउन उत्साहित गर्नुपर्छ जसले गर्दा उनीहरूको स्वस्थ विकास सुनिश्चित हुन सकोस् ।”
केटाकेटीहरूले आधारभूत समाजवादी मूल्य र मान्यताहरूलाई कसरी बढाउनु र व्यवहारमा लागू गर्नुपर्छ ? उनीहरूले आफ्नो उमेरलाई सुहाउँदो हुने गरी, बूढापाकाभन्दा भिन्नै प्रकारले गर्नुपर्छ । यस सम्बन्धमा म चारवटा कुराहरू राख्न चाहन्छु । ती हुन् ः आवश्यकतालाई राम्ररी बुझ्ने, आदर्श नायकहरूको अनुसरण गर्ने, बाल्यकालदेखि सुरु गर्ने र सहयोग स्वीकार गर्ने ।
पहिलो कुरा, आवश्यकतालाई बुझ्ने भनेको आधारभूत समाजवादी मूल्य र मान्यतालाई हृदयदेखि सिक्ने हो र तिनलाई उनीहरूले आफ्नो मनमस्तिष्कमा राख्नु हो । तपाईं विद्यार्थीहरू अहिले पनि स्कूलमा पढ्दै हुनुहुन्छ र तपाईंहरूलाई धेरै सामाजिक अनुभव छैन । त्यसैले तपाईंहरूले यी कुरालाई पूर्णरुपले बुझ्न नसक्नुहोला तर बढ्दै हुर्कदै जाँदा तपाईंहरूले यी कुराहरूबारे नयाँ ज्ञान प्राप्त गर्दै जानुहुनेछ । त्यसपछि तपाईंहरूलाई तिनको बारेमा ती कुराहरूलाई मस्तिष्कमा राखेपछि झन् धेरै राम्ररी बुझ्न हुनेछ । यस सिलसिलामा तपाईंहरूमा आवश्यकताका बारेमा र अध्ययन र जीवनबारेमा राम्रो समझदारी हुनुपर्छ । विगतदेखि नै ठूलो उपलब्धि हासिल गरेका अधिकांश मानिसहरूले बाल्यकालदेखि आफूमाथि नियन्त्रण राख्दै आएका छन् ।
दोस्रो कुरा, नायकहरूलाई अनुसरण गर्ने भनेको बालबालिकाले देशका नायकहरूबाट सिक्नुपर्छ र अध्ययनको माध्यमबाट असल चरित्रको निर्माण गर्नु हो । हाम्रो इतिहास र क्रान्तिमा निर्माण र सुधारको सञ्चालनमा पार्टीको नेतृत्वअन्तर्गत धेरै नयाँ युवा नायकहरू छन् । तपाईंहरूले ‘राता बालबालिकाहरू’, ‘चाङका सिपाही केटा’, ‘प्वाँख भएको चिठी’, ‘साने नायक सिपाही’ र ‘मङ्गोलियन घाँसमैदानका जवान वीरङ्गना बहिनीहरू’, जस्ता सिनेमाहरूबाट तीमध्ये केहीको नाम सुनेको हुनुपर्छ । आज हामीसँग धेरै उदाहरणीय बालबालिका छन् । मलाई थाहा छ, तपाईंहरूको स्कुलमा पनि केही विद्यार्थीले ‘सबैभन्दा राम्रा बालबालिका’को उपाधि जितेका छन् । यसबाहेक, अरु पेसाबाट पनि नायकहरू छन् र तिनको उदाहरणलाई हामीले अनुसरण गर्नुपर्छ । उदाहरणका लागि, अन्तरिक्षयात्री, ओलम्पिक खेलका कुशल खेलाडी, वैज्ञानिक, नमुना कार्यकर्ता, युवा स्वयंसेवक र अरु धेरै मानिस छन् जो जहिले पनि अरुको सेवा गर्न तत्पर छन् र राम्रा कामका लागि अघि सर्छन् । तिनीहरू इमानदार, समर्पित र विश्वसनीय छन् । यस्ता नमुनालायक व्यक्तिहरूको शक्ति अथाह छ । तपाईंहरूले असल गुणको खोजीको सिलसिलामा तिनीहरूलाई अनुसरण गर्न सक्नुपर्छ । कन्फुसियसले भन्नुभएको छ “जब हामी गुणवान् व्यक्ति देख्छौं । हामीले उनीजस्तै हुने कल्पना गर्नुपर्छ र यदि हामीले त्यसको ठीकविपरीत विशेषता भएका व्यक्ति देख्यौं भने हामीले आत्मपरीक्षण गनृुपर्छ ।”
तेस्रो कुरा, बाल्यावस्थादेखि सुरु गर्नु भनेको बालबालिकाले आफैंबाट सुरु गर्नु हो र असल नैतिक गुण निर्माण गर्न सक्दो प्रयास गर्नु हो । “अल्छी युवा र बूढो भिखारी” र “लाखौं माइलको यात्रा पहिलो कदमबाट सुरु हुन्छ ।” भन्ने भनाइ छ । प्रत्येक मान्छेको जीवनमा ससाना कुरा हुन्छन् । तपाईं साना कुराबाट सुरु गरेर ठूल्ठूला गुणहरूको विकास गर्न सक्नुहुन्छ । अहिले सानो भएको हुनाले तपाईंले समाजका लागि उमेर पुगेकाहरूले जस्तो कार्य गर्न सक्नुहुन्न होला तर तपाईंहरू ससाना कामबाट सुरु गर्न सक्नुहुन्छ र तपाईंहरूले प्रत्येक दिन आफैंलाई सोध्न सक्नुहुन्छ ः के म मेरो देशलाई प्रेम गर्छु ? के म मेरो विद्यालयलाई प्रेम गर्छु ? के म मिहिनेतपूर्वक अध्ययन गर्छु ? के म मेरो कक्षाका साथीहरूको हितप्रति चिन्तित छु ? के म मेरा गुरुहरूलाई आदर गर्छु ? के म आफ्ना आमाबुबालाई आदर गर्छु ? के म सामाजिक नैतिक मूल्यप्रति प्रतिबद्ध छु ? के म राम्रा काम र राम्रा व्यक्तिको प्रशंसा गर्छु ? के म खराब व्यक्ति र खराब कामसित रिसाउँछु ? जति बढी तपाईंहरू सोच्नुहुन्छ, त्यति बढी तपाईं आफैलाई काम गर्नलाई प्रेरित गर्नुहुनेछ । बढी असल गुण ग्रहण गर्दै जानुहुनेछ । मैले सुनेको छु, केही विद्यार्थी एकअर्कासँग खानेकुरामा, केही कपडामा र केही आमाबुबाको जागिरमा प्रतिस्पर्धा गर्छन् र केही विद्यार्थी आफ्नो मोटरले घरबाट स्कूल लाने ल्याउने गरेकोमा गर्व गर्छन् । यस्ताखाले प्रतियोगिताले उनीहरूलाई असल बाटोबाट विचलित गर्ने गर्छन् । तपाईंहरूले यस्तो कुरामा एकअर्कासँग प्रतिस्पर्धा गर्नुहुँदैन । “एउटा मिहिनेती जीवनले प्रतिभाहरूलाई जन्म दिन्छ, सुखसयलको जीवनले असल मान्छे बन्ने बाटोमा अग्रसर गराउँदैन ।” “युवा हुँदा कडा परिश्रम गर, अनिमात्र राम्रो भविष्य हुनेछ । समय दोडँदै जान्छ, त्यसैले आफ्ना प्रयासहरूमा ढिलासुस्ती गर्नुहुँदैन ।” तथापि, तपाईंहरूले को बढी महत्वाकाङ्क्षी छ भन्ने कुरामा, को बढी मिहिनेती छ, कसले बढी काम मन पराउँछ र कसले शारीरक व्यायाम र तालिमलाई मन पराउँछ र कसले बढी अरुको बारेमा ध्यान दिन्छ, भन्ने बारेमा पनि प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ।
चौथो कुरा, सहयोगलाई स्वीकार गर्नुपर्दा युवा विद्यार्थीले अरुको सल्लाह र आलोचनालाई पनि राम्रो गरी स्वीकार गर्नुपर्छ र असल वातावरणमा हुर्कनुपर्छ, जहाँ तपाईं आफ्ना गल्तीलाई सुधार गरी असल मान्छे बन्न सक्नुहुन्छ । कोही पनि मान्छे कमी कमजोरी नभएको हुँदैन । हामीले हाम्रा गल्ती कमजोरीलाई सुधार्दै प्रगति गर्नसक्छौं । एउटा भनाइ छ, नकुँदिएको पत्थर उपयोगी भाँडो बन्न सक्दैन, अशिक्षित मानिसले असल बाटो पहिल्याउन सक्दैन ।” यस उमेरमा तपाईं संसारप्रतिको दृष्टिकोण स्थापित गर्दै हुनुहुन्छ, जीवनको मूल्यमान्यताप्रतिको दृष्टिकोण बनाउँदै हुनुहुन्छ, त्यसैले तपाईंलाई सहयोगको आवश्यकता पर्दछ । बाबुआमाले धेरै कुरा गर्छन्, शिक्षकहरू धेरै कडा भए, कक्षाका साथीहरू धेरै जान्ने भए र भन्ने कुराको गुनासो नगर्नू । उनीहरू ठीक छन् कि छैनन् भन्ने कुरा बुझ्नुपर्छ । उनीहरूले तपाईंकै हितमा काम गरिरहेका छन् भन्ने कुरा पनि बुझनुपर्छ । यदि त्यसो हो भने उनीहरूले तपाईंलाई सम्झाइबुझाइ गरे अथवा गाली गरे पनि स्वीकार गर्नुपदर्छ । तपाईंले सबै क्षेत्रमा राम्रो गर्न नसक्नुहोला तर यसले केही फरक पार्दैन । जबसम्म तपाईंले कहाँ गल्ती गर्नुभएको छ भन्ने कुरा थाहा पाएर त्यसलाई सच्याउन खोज्नुहुन्छ, तपाईं प्रगति गर्दै हुनुहुन्छ भन्ने कुरा बुझ्नुपर्छ । कहिलेकाहीँ तपाईंलाई आफूले गरेको गल्ती थाहा हुँदैन तर तपाईंका आमाबाबु, शिक्षक र कक्षाका साथीहरूले यो कुरा देखाइदिन सक्छन् । यदि तपाईंले आफ्ना कमजोरीलाई सुधार्दै जानुभयो भने तपाईंले प्रगति गरेको ठहर्छ । यो कुरा सत्य हो, असल औषधि तीतो हुन्छ र उपदेशका कुरा पनि कानले सुन्दा राम्रो लाग्दैन । हामी आफैप्रति कडा हुनुपर्छ । हामीले सल्लाह र आलोचनालाई नम्र रुपमा लिई स्वीकार गर्नुपर्छ । बाल्यकालदेखि राम्रो बाटो समातेमा राम्रो भविष्य सुनिश्चित हुन्छ । त्यसैले आफूले सिकेको कुरालाई व्यवहारमा लागू गर्नुहोस् र राम्रो गर्ने प्रयास गर्नुहोस् ।
परिवार, विद्यालयहरू, चीनका युवा अगुवाहरूका सङ्गठनहरू र हाम्रो समाजले समग्र रुपमा बालबालिकामा समाजवादी मूल्य र मान्यताहरू जगाउने उत्तरदायित्व वहन गर्नुपर्छ ।
परिवार पहिलो कक्षाकोठा हो र आमाबाबु प्रथम शिक्षक हुन् । आमाबाबुले आफ्ना छोराछोरीका लागि असल उदाहरण देखाउनुपर्छ र उनीहरूलाई राम्रो काम, विचार र तरिकाको बारेमा पथप्रदर्शन गर्नुपर्दछ । आमाबाबुले छोराछोरीलाई सत्य कुरा र राम्रा र सुन्दर कुराहरू मनपराउन र झूटा र खराब कुराबाट दैनिक जीवनमा टाढा रहन सिकाउनुपर्छ । आमाबाबुले छोराछोरीको कार्य र विचारमा आएको परिवर्तनलाई निरीक्षण गर्नुपर्छ र आवश्यकताअनुसार उनीहरूलाई प्रशिक्षित गर्ने र निर्देशन दिने गर्नुपर्छ ।
विद्यालयहरूले नैतिक शिक्षालाई धेरै महत्व दिनुपर्छ र शिक्षकहरूको व्यवसायिक आचरण सुदृढ गर्न कडा परिश्रम गर्नुपर्छ । शिक्षकले बालबालिकाका व्यक्तित्वको विशेषतामाथि ध्यान दिनुपर्छ र धैर्यपूर्वक ज्ञान दिने र सद्गुणहरू जगाउने काम गर्नुपर्छ । विद्यालयहरूले उनीहरूका क्रियाकलाप विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यका लागि राम्रा छन् र तिनले विद्यार्थीको चरित्रमाथि असल प्रभाव छोड्नेछन् भने सबै विद्यार्थीहरूले राम्रो सेवा र सहयोग पाऊन् जसले गर्दा उनीहरूमा समाजवादी मूल्य र मान्यताले उनीहरूका हृदयमा जरा र गाडून् र ती बढ्दै जाऊन् भन्ने कुरा विद्यालयहरूले सुनिश्चित गर्नुपर्छ ।
समाजवादी मूल्य र मान्यताले विद्यार्थीमा जरा गाडून् र यस्ता क्रियाकलापले विद्यार्थीलाई एकताको सूत्रमा बाँधून् भनेर चीनका युवा अगुवाहरूले शैक्षिक अभियान र क्रियाकलापहरू सञ्चालन गर्नुपर्दछ र यस्ता क्रियाकलापबाट केटाकेटीहरूलाई शिक्षित बनाउनु र पथपर्दशन गर्नुपर्दछ । यसैगरी हाम्रो समाजले बालबालिकालाई सम्मान गर्ने र उनीहरूलाई आवश्यक सेवा र सहयोग गर्ने असल वातावरण दिनुपर्छ । त्यसैगरी बालबालिकाको अधिकार हनन हुने कुरा र उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा नकारत्मक हुने कुरा पनि रोक्नुपर्छ ।
यस्ता कुरामा ध्यान दिएर अगाडि बढेपछि अहिलेका युवापुस्ताले विगतका युवाभन्दा राम्रो गर्नेछन् । मलाई विश्वास छ, यस युगका युवाहरूमा महान् उद्देश्य र राम्रा सपनाहरू छन् । उनीहरू काम, अध्ययन र देशलाई प्रेम गर्छन् । यसको साथै उनीहरू सचेत भई आधारभूत समाजवादी मूल्य र मान्यतालाई बाल्यकालदेखि नै आफ्नो जीवनमा अनुसरण गर्दै लैजानेछन् । मलाई विश्वास छ, तपाईंहरूले चिनियाँ सपनालाई साकार पार्न आफूलाई तयार पार्नुभएको छ र तपाईहरू तारा र प्रकाश भएको झण्डाबाट निर्देशित हुनुहुन्छ ।
टिप्पणीहरू ः
१. चीनका युवा अगुवाहरू चिनियाँ युवा सङ्घले बालबालिकाका लागि सञ्चालन गरेको राष्ट्रिय संस्था हो र यो चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत छ । अक्टोबर १३, १९४९ मा यसको स्थापना हुँदा कम्युनिष्ट युवा सङ्घले यसको नामकरण चिनियाँ आन्दोलनका युवा र बालबालिका भनी गरेको थियो । यसको अहिलेको नाम अगस्ट २१, १९५३ मा राखिएको थियो ।
२. लाओ ज (मिति अज्ञात), जो ली तान र ली आरको नामबाट चिनिएका थिए, एउटा दार्शनिक र वसन्त शिशिर समयका (७७०–४७६ इसापूर्व)का दार्शनिक ताओवादका संस्थापक पनि थिए । उनका विचारहरूमा थाओले प्रकृतिलाई मान्छ, अस्तित्व र अस्तित्वहीनताले एकअर्कालाई जन्म दिन्छन् र अकर्मण्य शासन पर्दछन् । भनिन्छ, उनले लाओज र ली आर पनि लेखेका थिए ।
३. कम्फ्युसियस (५५१–४७९ बी.सी. ) खोङ छिउ र चोङ नीको नामबाट पनि चिनिन्थे । उनी वसन्त पछिल्लो शिशिरको अवधिमा (७७०–४७६ बी.सी.) एउटा दार्शनिक, शिक्षाविद, राजनेता र कन्फ्युसियज्मका संस्थापक पनि थिए । उनले एउटा असल विचार र उद्देश्यसहितको एउटा विद्यालय खोलेउनले आफूलाई शिक्षाप्रति समर्पित गरे र असङ्ख्य प्राचीन ग्रन्थहरू सङ्ग्रहित गरे । उनका मुख्य विचारहरू एवं सिद्धान्तहरू कम्फ्युसियसका उक्तिहरूमा सङ्ग्रहित गरिएका छन् । हान वंश (२०६–२२० बी.सी.) देखि करिब २००० वर्षसम्म कन्फ्युसियज्म चीनको परम्परागत संस्कृतिको मुख्य धारा बन्न गयो र कन्फ्युसिययसलाई चीनका जमिनदारहरूले एउटा सन्तको रुपमा सम्मान गरे ।
४. युद्धरत राज्यहरूको समय (४७५–२२१बी.सी) मा मेन्सु (सी ४७५–२२१ बी.सी) मङ ख र जयुको नामबाट पनि चिनिएका दार्शनिक र शिक्षाविद् थिए । उनी के विश्वास गर्थे भने “मानिस प्रकृतिको एउटा अभिन्न भाग हो ।” उनले मानिस असल रुपमा जन्मन्छन् भन्ने सिद्धान्त प्रतिपादन गरे र चारवटा नैतिक मूल्यहरूलाई सङ्ग्रहित गरे । ती चार मूल्य हुन् ः असलपना, न्याय, औचित्यता र बुद्धिमत्ता । उनले कन्फ्युसियसले प्रतिपादन गरेका र विकसित गरेका सद्गुणको शासनलाई अगाडि बढाए । यसबाहेक उनले शासकभन्दा जनता बढी महत्वपूर्ण हुन्छन् भन्ने विचारलाई अघि बढाए । उनी कन्फ्युसियसपछिका सबैभन्दा प्रसिद्ध कन्फ्युसियस अथवा दोस्रो सन्त थिए । उनले मङ ज नामक पुस्तक पनि लेखे ।
५. चुवाङ ज (३६९–२८६ बी.सी.) पश्चिमी राज्यहरूको समयमा ताओवादी दार्शनिक थिए । उनले लाओ जका विचारलाई अघि बढाए र ताओवाद संसारको सबैभन्दा उत्कृष्ट सिद्धान्त हो । विश्वास गरे । उनको दर्शनले स्वर्ग, पृथ्वी र अहम् सँगसँगै उत्पति भएका हुन् र सबै चीजहरू एउटै हुन् भन्ने कुरालाई प्रतिबिम्बित गर्छन् ।
६. “युवा चीन यिलयाङ छी छाओ (१८७३–१९२९) बाट लेखिएको एउटा निबन्ध हो । उनी एउटा चिन्तक, विद्वान् सय दिनको सुधार (१८९८ को सुधार) का नेताहरूमध्येका एक थिए । ”
७. कन्फ्युसियसका उक्तिहरू ः लुन यु ।
८. छानिएका यु फु गीतहरू (यूए फु स्र स्युयान),चिनियाँ प्रकाशन, जनसाहित्य छापाखाना, पेइचिङ, १९५४, पृ.१६ ।
९. तु स्युन स्ह,For Nephew at School तु स्युन स्ह (८४६– ९०४) थाङ वंश (८१६–९०७) का एक कवि थिए ।
१०. Three Character Classic सान ज चिङ प्राचीन चीनको एउटा प्रारम्भिक शिक्षासम्बन्धी पुस्तक थियो । के मानिन्छ भने यसलाई वाङ यिङलिन (९१२२३–१२९६
) अथवा अउ स्रज (९१२३४–१३२४) ले सोङ वंश (९६०–१२७९)मा लेखेका थिए र यसमा मिङ वंश (१३६८–१६४४) र छिङ वंश (१६४४–१९११)मा अरु थप कुरा समावेश गरिएको थियो । चिरत्रका ससाना टुक्रामा सम्झनाका लागि लेखिएको यस कृतिले नैतिक शिक्षामा जोड दिएको छ ।
११. चिनियाँ अगुवाहरूको झण्डा पाँचवटा तारा र बत्तीले अङ्कित गरिएको छ र यीमध्ये पहिलोले कम्युनिस्ट पार्टीको नेतृत्वलाई प्रतिबिम्बित गर्छ भने पछिल्लो चाहिँ उज्यालोपनालाई प्रतिबिम्बित गर्दछ ।
(चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले मे ३० सन् २०१४ मा पेइचिङको हाइतियान जिल्लाको राष्ट्रिय प्राथमिक विद्यालयमा आयोजित छलफलमा दिएको मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *