भर्खरै :

सङ्घीयतामा पनि विकेन्द्रीकरण प्रभावकारी भएन

भक्तपुर, ३० भदौ । ३८ औं नेपालभाषा साहित्य तःमुँज्या आयोजक समिति कमलविनायकको आयोजनामा शनिबार उद्यमी व्यवसायीहरूको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शासक दलहरूको दूरगामी सोचको कमीले देशमा नयाँ –नयाँ समस्याहरू सृजना भइरहेको र समाधानका लागि कुनै योजना नहुँदा विकृति फैलिने सम्भावना रहेको बताउनुभयो ।
मानिसले जुनसुकै पेशा व्यवसायमा लागे पनि इमानदारीपूर्वक लाग्नुपर्ने र आफ्नो लागि मात्र नभई देश र जनताको हितमा ध्यान पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले सरकारले ज्येष्ठ नागरिकको हितमा उपयुक्त कानुन बन्दोबस्त नगर्न नसक्दा उनीहरू पीडित हुनुपरेको बताउनुभयो ।
उहाँले देशको सन्तुलित विकासको निम्ति सङ्घीय संरचना बन्दा पनि अझै विकेन्द्रीकरणको नीतिको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै त्यसले देशमा समस्या थपिंदै गएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले तःमुँज्या भाषाको संरक्षण र विकासको निम्ति पनि भएको बताउँदै हरेक भाषाको विकासको लागि वर्षौं समय लाग्ने भएको हुनाले भाषाको संरक्षणको दायित्व वहन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले नयाँ पुस्तामा व्यावहारिक र राजनीतिक ज्ञानले मात्र समाज सकारात्मक दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकमा हाल २७ वटा जाति लोपोन्मुखको सूचीमा रहेको, २८ वटा भाषाहरू लोप हुने क्रममा रहेको र १८ वटा भाषाहरू मृत प्रायः भइसकेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, ‘‘सरकारले देशका सबै जातजाति र भाषाको संरक्षण र विकासको लागि कुनै योजना अगाडि नल्याउनु दुःखको कुरा हो ।’’
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले नेपालको संविधानले आधारभूत तह अनिवाय र निःशुल्कको बन्दोबस्त गरेको तर माध्यमिक तह अनिवार्य नगरेको बताउँदै सरकारले शिक्षालाई प्राथमिकतामा नराखेको विचार व्यक्त गर्नुभयो ।
मातृभाषाबाट अध्ययन अध्यापन गर्न सकिने प्रावधान विभिन्न भाषा र जात जातिको हितमा भएको विचार व्यक्त गर्दै उहाँले भूमिहीन दलितलाई मोहियानी हकको माध्यमबाट जग्गा दिने बन्दोबस्त हुनुपर्नेमा वन ज·ल विनास गरी जग्गा दिने तयारी सही नभएको तर्क गर्नुभयो ।
उहाँले नेपालमै रोजगारीको हकको बन्दोबस्त गर्नु बहुमत युवाहरूको हितमा हुने बताउँदै आन्तरिक उत्पादन वृद्धि गर्ने सोच विकास गर्न उद्योग व्यवसायीहरूलाई आग्रह गर्नुभयो । जघन्य अपराधीहरूलाई मृत्युदण्डको प्रावधान राख्नुपर्नेमा नेमकिपाले जोड दिएको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तःमँुज्या साहित्यिक कार्यक्रमको दबुमात्र नभई वैचारिक सङ्घर्षको दबु भएकोले यसलाई सफल पार्न सबैले साथ दिनुपर्ने बताउनुभयो ।
विदेशी एकाधिकार पुँजीले नेपालका स–साना व्यापारीहरूलाई कमजोर बनाउन सक्ने सम्भावनातर्फ सबैसचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष नरेश खत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेपालभाषा साहित्य तःमुँज्याका अध्यक्ष चन्द्रबहादुर उलक, युवा व्यवसायी समाजका अध्यक्ष विश्वराम कवां र आयोजक समितिका सचिव सुन्दर राजचल लगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *