भर्खरै :

चीन – भेनेजुयला सम्बन्धको पछिल्लो अवस्था

– ऊ चिह्वा
चरम आर्थिक सड्ढट सामना गरिरहेको भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले गत बिहीबारदेखि आइतबारसम्म गरेको चीन भ्रमणको विशेष महत्व छ । भ्रमणले मूलतः तीन वटा लक्ष्य पूरा गर्नेछः चीनको आर्थिक सुधारबाट सिक्न र भेनेजुयलामा चालु आर्थिक रुपान्तरणमा सहयोग गर्नुका साथै आर्थिक प्रणाली स्थापना तथा सुधार गर्ने, औद्योगिक क्षमता र पूर्वाधार परियोजनामा विकासका रणनीति र सहकार्यमार्फत क्षेत्र र मार्ग पहलकदमी (बेल्ट एण्ड रोड इनिसिएटिभ) मा भेनेजुयला सहभागी बन्ने र भेनेजुयलामा लगानी अवसरबारे चिनियाँ लगानीकर्तालाई जानकारी दिनुका साथै त्यहाँ लगानी गर्न उत्साहित गर्ने ।
भेनेजुयला ल्याटिन अमेरिकामा चीनको महत्वपूर्ण व्यापार साझेदार देश हो । सन् १९७४ मा भेनेजुयला र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भयो । त्यतिबेलाबाटै दुई देशबीच राजनीतिक, आर्थिक र सामाजिक सम्बन्ध स्थापित छ । एक्काइसौं शताब्दीमा दुवै देशले दुईपक्षीय सम्बन्ध र सहकार्यमा प्रगति गर्दै आएको छ । दुई देशबीच हालसम्म ७९० भन्दा बढी कार्यक्रममा हस्ताक्षर भइसकेको बताइएको छ जसमध्ये केहीको काम अहिले पनि चालु छ ।
सन् २०१४ देखि भेनेजुयला राजनीतिक सड्ढटमा फस्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट र संरा अमेरिकी नाकाबन्दीका कारण भेनेजुयलाको अर्थतन्त्र ठूलो समस्यामा परेको छ । तेल उत्पादन नै भेनेजुयलाको अर्थतन्त्रको आधार हो र त्यहाँको कूल विदेशी व्यापारबाट हुने आयको ९६ प्रतिशत तेलको व्यापारबाटै हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेसँगै भेनेजुयलाको निर्यातबाट आउने आय निकै तल झरेको छ । पुनःलगानी र चुस्त प्रशासनको अभावका कारण त्यहाँको तेल उत्पादन पनि आधाले घटेको छ । बढ्दो व्यापारघाटा, उच्च मुद्रास्फीति र ओरालोलाग्दो सार्वजनिक सुरक्षासँगै भेनेजुयलाले ठूलठूला आर्थिक र सामाजिक चुनौती सामना गर्नुपरेको छ ।
त्यस्तो समस्याले चीन र भेनेजुयलाबीचको सहकार्यमा पनि चुनौती थपिएको छ । दुई देशबीचको सहकार्यमा भएका केही परियोजना बजेटको अभावका कारण स्थगित वा ढिला भएका छन् । तथापि यस्ता प्रतिकूलताबीच पनि दुवै पक्ष सँगसँगै अघि बढ्न प्रतिबद्ध छन् । ‘चीन–भेनेजुयला सहकार्य कोष’ को सहायतामा चीनका पेट्रोलियम पदार्थको व्यापार गर्ने संस्थाहरूले भेनेजुयाली समकक्षीहरूसँग नजिकमा बसेर काम गरिरहेका छन् । लागो डी. मारासियाबोमा तेल उत्पादन बढाएर र संयुक्तरुपमा फाजा पेट्रोलिफेरि डी केरिनोको विकास गरेर भेनेजुयलाको उत्पादन क्षमता विस्तार गर्न वा पुनस्र्थापना गर्न चीनसँगको सहकार्य उपयोगी बनिरहेको छ ।
भेनेजुयला सरकारले गरीब परिवार तथा कमजोर प्रकारका घरमा बस्दै आएका आफ्ना जनताको लागि ३० लाख घर बनाउने योजना बनाइरहेको छ । यो काम सन् २०१९ सम्ममा सम्पन्न गर्ने उसको योजना छ । त्यसले भेनेजुयलामा झोपडपट्टीको समस्या रहनेछैन । यो परियोजनामा चीनका निर्माण कम्पनीहरूले सक्रिय सहभागिता जनाउन सक्दछन् । चिनियाँ कम्पनीहरूले फर्निचर र घरेलु उपभोग्य सामान उपलब्ध भएका सुविधासम्पन्न उच्च गुणस्तरीय १० हजार घर बनाउन सक्दछन् । त्यसो गरेर स्थानीय जनताको मन जित्न चिनियाँहरू सफल हुनेछन् । सन् २०१७ मा चीनले भेनेजुयलाको लागि तेस्रो भूउपग्रह प्रक्षेपण गरेको थियो । त्यसअघि चीनले नै एउटा टाढाबाट नियन्त्रण गर्न सकिने भूउपग्रह र एउटा सञ्चार भूउपग्रह प्रक्षेपण गरिदिएको थियो । दुई देशबीच अन्तरिक्ष प्रविधिको क्षेत्रमा पनि व्यापक सहकार्य भइरहेको छ । साथै भेनेजुयलाभरि इन्टरनेट, टेलिकम्युनिकेसन र टेलिकास्टको लागि पनि चीनले सहयोग गरिरहेको छ । भेनेजुयलाको विशेषतः ग्रामीण क्षेत्रमा चीनले यस्तो मद्दत गरिरहेको छ ।
ऊर्जा, पूर्वाधार र विज्ञान प्रविधि क्षेत्रमा सहकार्यबाहेक भेनेजुयला र चीनले संयुक्त लगानीमा मोबाइल फोन, यात्रुबाहक गाडी, अटोमोबाइल, कम्प्युटर आदि उत्पादन गर्ने कम्पनी बनाएका छन् । त्यसले भेनेजुयलाका स्थानीय माग पूरा गर्न मद्दत गरिरहेको छ । हिजो आज भेनेजुयलामा प्रयोग हुने गरेका घरेलु उपयोगी सामग्री, लुगाफाटा र दैनिक प्रयोजनका वस्तु अधिकांश चीनबाटै जाने गरेका छन् । त्यसको सट्टा चीनले भेनेजुयलासँग भएको तेल खरिद गरिरहेको छ । साथै मेसिनको निर्यात पनि चीनले बढाएको छ ।
वर्तमान परिस्थितिमा राजनीतिक सड्ढट, आर्थिक समस्या र संरा अमेरिकी नाकाबन्दीले भेनेजुयला सरकारलाई उत्पादन र आपूर्ति बढाउनु परेको छ । तेल उद्योगको निर्भरता घटाउन र उत्पादनमा आधारित विकासको तरिका विकास गर्न भेनेजुयलाले त्यसो गर्नुको विकल्प छैन ।
सन् २०१६ यता काराकसले आर्थिक विकासका पन्ध्र औजारमा ध्यान दिइरहेको छ । तीमध्ये खानी, उद्योग, पर्यटन, दूरसञ्चार आदि पर्दछन् । उसले विशेष आर्थिक क्षेत्र स्थापना गरेको छ । विदेशी लगानीकर्तालाई आकर्षित गर्न विदेशी पुँजीको लागि खानीहरू खुला गरिदिएको छ । स्थिर वित्तीय बजारको लागि भेनेजुयला सरकारले सतही दरमा समायोजन गरेको छ । गएको अगस्ट महिनामा काराकस सरकारले आर्थिक सुधारको कार्यक्रम लागू गरेको छ । सो कार्यक्रमअनुसार विदेशी मुद्राको सतही दर नियन्त्रणलाई खुकुलो बनाएको छ, नयाँ मुद्रा जारी गरेको छ र तेलको अन्तर्राष्ट्रिय मूल्य र घरेलु मूल्यमा समन्वय गरेको छ । आर्थिक रुपान्तरणको लक्ष्यसहित यस्ता निर्णय गरिएका हुन् । भेनेजुयला सरकारले चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड पहलकदमीमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै सो कार्यक्रमलाई ल्याटिन अमेरिकामा विस्तार गर्न सहयोग गर्नेसमेत वचनबद्धता जनाएको छ ।
भेनेजुयलामा चालु आर्थिक सुधार र रुपान्तरणले वास्तवमा दुवै देशलाई सहकार्यको सम्भावना, सहकार्यको क्षेत्र विस्तार र साझा विकास हासिल गर्ने नयाँ अवसरहरू प्रदान गरेको छ । चिनियाँ कम्पनीहरूले सर्वहितकारी सहकार्यको सिद्धान्त अवलम्बन गर्नेछन् । भेनेजुयलाले सामना गरिरहेको आर्थिक समस्यालाई समयानुकूल सहकार्यमार्फत समाधानका लागि चीनले सहयोग गर्नेछ र आर्थिक समृद्धि तथा सामाजिक स्थायित्व हासिल गर्न मद्दत गर्नेछ ।
(लेखक चीनको राज्य परिषद्को विकास अनुसन्धान केन्द्रअन्तर्गत विश्व विकास प्रतिष्ठानका अनुसन्धानकर्ता हुन् ।)
स्रोतः ग्लोबल टाइम्स्
प्रस्तुतिः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *