भर्खरै :

ब्राजिल ः मजदुर पार्टीका नयाँ राष्ट्रपतीय उम्मेदवार हदाद को हुन् ?

– प्रकाश
ब्राजिलको न्याय प्रणाली तथा संविधानलाई मिच्दै र संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार समितिको आग्रहलाई बेवास्ता गर्दै ब्राजिलका न्यायाधीशहरूले पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपति उम्मेदवार बन्नबाट कानुनी (अदालती) रोक लगाएपछि ब्राजिलियाली मजदुर पार्टीले लुलाको उम्मेदवारीसँगै उपराष्ट्रपति उम्मेदवार बनाएका नेता फर्नाण्डो हदादलाई नै राष्ट्रपतीय उम्मेदवार बनाएको छ । विभिन्न मत सर्वेक्षणहरूमा सबैभन्दा बढी लोकप्रिय देखिएका पूर्वराष्ट्रपति एवं मजदुर नेता लुला अहिले कुरितिवास्थित एक हिरासतमा भ्रष्टाचारको जाली मुद्दा खेपेर बस्नुभएको छ ।
हदादलाई राष्ट्रपतीय उम्मेदवार बनाएसँगै मजदुर पार्टी (PT) ले राजनीतिक ज्यावल नयाँ पुस्तामा हस्तान्तरण गरेको छ ।
हदाद लेवनानबाट ब्राजिलमा बसाईसराई गरेर आएका एक दम्पतिका सन्तान हुन् । उनी साउपाउलो महानगरको प्लानाल्टो पाउलिस्टा क्षेत्रमा हुर्केबढेका हुन् । फर्नाण्डोका पिता खलिल हदादको कपडा र रङ्ग बेच्ने एक होलसेल पसल थियो । किशोरावस्थामा फर्नाण्डो आफ्ना पिताको व्यवसायमा सघाउने गर्दथे ।
साउपाउलो विश्वविद्यालयको ल कलेजबाट कानूनमा स्नातक र स्नातकोत्तर उत्तीर्ण गरेका हदाद विद्यार्थीकालमै तत्कालीन सैनिक तानाशाही विरुद्धको दिरेटास जा आन्दोलनमा सामेल भई स्वतन्त्र राष्ट्रपतीय निर्वाचनको पक्षमा सङ्घर्ष गरेका थिए ।
सन् १९८१ मा कानुनमा स्नातकोत्तरपछि हदादले अर्थशास्त्रमा स्नातकोत्तर र दर्शनशास्त्रमा विद्यावारिधि गरेका छन् ।
हदादले नेता लुलाको राष्ट्रपतीय कालमा सन् २००५ देखि डिल्मा रुसेफको पहिलो कार्यकाल सन् २०१२ सम्म शिक्षामन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।
उनकै नेतृत्वमा ब्राजिलको शिक्षा मन्त्रालयले पहिलोपटक शिक्षा विकास योजना लागू ग¥यो । त्यही योजनाअन्तर्गत् नर्सरीदेखि स्नातकोत्तर तहसम्म राज्यद्वारा छात्रवृत्ति प्रदान र त्यहाँले पाठ्य सामग्रीमा राज्यको नियन्त्रण कायम भयो । उनले नै पहिलोपटक आधारभूत शिक्षा विकास सूचाङ्क लागू गरे । त्यसले मन्त्रालयलाई वार्षिक शैक्षिक रणनीति र योजना तर्जुमा गर्न, हरेक नगरपालिका र राज्यस्तरीय विद्यालयको विकास योजना र हरेक विद्यालयलाई आवश्यक शिक्षा सामग्री न्यायोचितरुपमा वितरण गर्न सम्भव बनायो ।
हदाद शिक्षामन्त्री भएकै बेलामा सबै सङ्कायको विश्वविद्यालय (ग्लष्खभचकष्तथ ायच ब्िि उचयनचबm) योजना लागू भयो । त्यसले कम आय भएका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयमा अध्ययन गर्न शैक्षिक अनुदान प्रदान गर्दछ । हदादले १४ वटा नयाँ सार्वजनिक विश्वविद्यालय तथा २१४ वटा प्राविधिक अध्ययन प्रतिष्ठान स्थापनामा हस्ताक्षर गरे भने १२६ वटा नयाँ सार्वजनिक विश्वविद्यालय क्याम्पसहरू निर्माण र ५८७ वटा दूर शिक्षा कार्यक्रमहरू सञ्चालन गरे ।
सन् २०१२ मा हदाद साउपाउलो महानगरको मेयरमा निर्वाचित भए । आफ्नो मेयर कार्यकालमा हदादले नियमित सेवाका अतिरिक्त साउपाउलोमा २३,४४५ साना तथा घरेलु उद्योग– व्यापार दर्ता गरे, १२ वटा नयाँ दन्त अस्पताल, ४२ वटा सार्वजनिक फ्रि वाइफाइ क्षेत्र सञ्चालन र १२.४ किलोमिटर मोटरबाइक मार्ग निर्माण गरे ।
गत वर्ष नै ब्राजिल मजदुर पार्टीको राष्ट्रिय सम्मेलनले पूर्व राष्ट्रपति लुलाको राष्ट्रपतीय उम्मेदवारी घोषणा गर्दा हदादलाई उपराष्ट्रपति उम्मेदवार चयन गरेको थियो । नेता लुलाले आफ्नो पक्राउलगत्तै दक्षिणपन्थी षड्यन्त्रका कारण आफूले उम्मेदवारी दिन नसके हदाद पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने घोषणा गर्नुभएको थियो । सेप्टेम्बरको पूर्वाद्र्धमा लुलाले औपचारिकरुपमै हदादलाई उम्मेदवार बनाउनुभएको थियो ।
हदाद राष्ट्रपतीय उम्मेदवार घोषणा हुने वातावरण निर्माणसँगै दक्षिणपन्थीहरूले हदादलाई पनि लुलालाई झैं भ्रष्टाचार, मुद्रा शुद्धीकरण र आपराधिक सङ्गठन निर्माण गरेको आधारहीन आरोप लगाएका छन् । साउपाउलोको सरकारी वकिलको कार्यालयले कथित “आपराधिक सञ्जाल निर्माण तथा मुद्रा शुद्धीकरण र सम्पत्ति छानबिनसम्बन्धी टास्कफोर्सका सदस्य मार्सेलो ब्याटलोनी मेन्ड्रोनीको सिफारिसमा पूर्वमेयर हदादविरुद्ध एक रिट दायर ग¥यो । उक्त रिटमा उनीहरूले हदादले यूटीसी इञ्जिनियरि¥्ग नामको एक प्रतिष्ठानबाट अन्दाजी ६,२३,००० अमेरिकी डलर घूस लिएको अभियोग लगाए । तर हदादको कानुनी रक्षा टोलीले सरकारी वकिलहरूलाई अभियोगको आधार प्रमाणित गर्न र प्रमाण पेश गर्न चुनौती दिएको छ ।
ब्राजिलको पछिल्लो ४ वटा राष्ट्रपतीय निर्वाचनमा मजदुर पार्टीका उम्मेदवारहरूले जितेका छन् । नेता लुला सन् २००३ र २००७ को निर्वाचनमा विजयी हुनुभएको थियो भने नेतृ डिल्मा रुसेफ । सन् २०११ र २०१५ को निर्वाचनबाट राष्ट्रपति निर्वाचित भएकी थिइन् । दक्षिणपन्थीहरू मजदुर पार्टीको विजयमा नेता लुलाको स्वच्छ र चमत्कारिक व्यक्तित्व एकमात्र कारण ठान्छन् । त्यसैले उनीहरूले नेता लुलाविरुद्ध अनेक जालझेल गरी भ्रष्टाचारको जाली मुद्दा लगाए र कानुनको अपव्याख्या गरी मुद्दाको अन्तिम किनारा नलाग्दै लुलालाई जेलमा हाले । सन् २०१५ को संसदमा बहुमत हासिल गरेका दक्षिणपन्थीहरूले केही मध्यमार्गी पार्टीहरूलाई समेत किनेर संसदमा दुईतिहाइ मत पु¥याई राष्ट्रपति डिल्मा रुसेफलाई २०१६ मा पदबाट अपदस्थ गरेका थिए । उक्त घटना संसदीय ‘कू’ (सत्ताविद्रोह) का रुपमा ब्राजिल र ल्याटिन अमेरिकाकै इतिहासमा कालो दागका रुपमा अङ्कित भएको छ ।
सेप्टेम्बर ११ का दिन कुरितिवाको प्रहरी मुख्यालय अगाडि आयोजित कार्यक्रममा मजदुर पार्टीले उपराष्ट्रपति उम्मेदवार रहेका हदादलाई राष्ट्रपतिको उम्मेदवारी हस्तान्तरण ग¥यो भने उपराष्ट्रपतिको उम्मेदवारको रुपमा रियो ग्राण्डे डो सुल राज्यबाट संसद सदस्य रहेकी नेतृ म्यानुयला डी एभिलालाई अगाडि सा¥यो ।
भोक्स पपुली र एकीकृत मजदुर सङ्घले सेप्टेम्बरको दोस्रो साता छुट्टाछुट्टै गरेको मत सर्वेक्षणमा हदाद र म्यानुयलाको टीमले दक्षिणपन्थी उम्मेदवार जायर बोल्सोनारोलाई उछिनेको देखाइएको छ । विभिन्न राज्यका ४ हजार मतदातालाई सोधेर गरिएको मत सर्वेक्षणको नतिजाअनुसार मजदुर पार्टीका उम्मेदवार हदादले २२ प्रतिशत, जायर बोल्सोनारोले १८ प्रतिशत र अन्य उम्मेदवारहरूले पनि एक अङ्कको प्रतिशत समर्थन हासिल गरेका देखिएको छ ।
प्रगतिशील विचार र कार्यक्रमका राजनीतिक दलहरू एक ठाउँमा आउने हो भने मजदुर पार्टीका नेता हदाद सहजै नयाँ राष्ट्रपति चयन हुने पक्का छ ।
सूचना स्रोतः ग्रान्मा, टेलिसुर टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *