भर्खरै :

दुई कोरियाको वार्ताः संरा अमेरिका र चीनद्वारा स्वागत

वाशिङ्टन, २० सेप्टेम्बर । संरा अमेरिकी विदेश सचिव माइक पोम्पेओले बुधबार संरा अमेरिकाले तत्कालै प्रजग कोरियासँग आफ्नो सम्बन्ध सुधार गर्ने बताएका छन् ।
मङ्गलबार र बुधबार प्योङयाङमा भएको अन्तरकोरियाली शिखर बैठकबारे जारी वक्तव्यमा पोम्पेओले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इन र प्रजग कोरियाली सर्वोच्च नेता किम जङ उनलाई सफल शिखर बैठकको लागि बधाई ज्ञापन गरेका छन् ।
‘राष्ट्रपति मुन र अध्यक्ष किमले कोरिया प्रायःद्विपको पूर्ण आणविक निःशस्त्रीकरणबारे सिङ्गापुरको संयुक्त वक्तव्यको भावनालाई अझ अघि बढाउन जनाएको प्रतिबद्धताको हामी स्वागत गर्न चाहन्छौं ।’, पोम्पेओले भने, ‘तिनै महत्वपूर्ण प्रतिबद्धतामा आधारित भएर संरा अमेरिका प्रजग कोरियासँगको सम्बन्ध सुधारका लागि तत्काल वार्ताको पहल थालनी गर्न चाहन्छ ।’
उनले थपे, ‘आज बिहान मैले मेरा समकक्षी रि योङ होसमक्ष अर्को साता न्युयोर्कमा भेट्ने प्रस्ताव गरेको छु । त्यहाँ हामी दुवै संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिनको लागि पुग्दैछौं ।’
‘त्यसैगरी हामीले उत्तर कोरियाली प्रतिनिधिलाई अष्ट्रेयाको भियनामा हाम्रा विशेष दूत स्टेफन बेइगमसँग भेट्नको लागि आमन्त्रण गरेका छौं ।’, उनले भने ।
‘प्रजग कोरियाको निःशस्त्रीकरणको प्रक्रिया र कोरिया प्रायःद्विपमा दिगो र स्थायी शान्ति स्थापनाको लागि संरा अमेरिका र प्रजग कोरियाबीचको संवादको यो शुरुवात हुनेछ ।’, पोम्पेओले भने ।
यसअघि सोही दिन संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरकोरियाली शिखर बैठकको सफलताले आफूलाई उत्साहित बनाएको भनी ट्वीट गरेका थिए ।
चीनले पनि दुई कोरियाबीचको सफल तेस्रो शिखर वार्ताको सफलताप्रति खुशी व्यक्त गरेको छ ।
चीनका विदेशमन्त्रालयका प्रवक्ता केङ शुवानले बुधबार दुई कोरियाबीचको सहमतिको स्वागत गरेका छन् । ‘नजिक छिमेकको रुपमा हामी सधैं उत्तर र दक्षिण कोरियाबीच प्रायःद्विपमा सम्बन्ध सुधारको लागि हुने प्रयास तथा संवाद र सल्लाहमार्फत हुने मेलमिलाप र सहकार्यको सदैव स्वागत गर्नेछौं ।’, चिनियाँ अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *