भर्खरै :

शिक्षकमाथिको विभेद कहिलेसम्म ?

नेपाल सरकार अन्तर्गतका विभिन्न प्रकारका र विभिन्न तहका कर्मचारीहरूमध्ये शिक्षक पनि एक हो । विद्यार्थीहरूको उज्ज्वल भविष्यमार्फत देशको भाग्यको रेखा कोेर्ने अथवा देशका लागि योग्य नागरिक तयार गर्नको निम्ति शिक्षकहरूको योगदानलाई कसैले कम आ“कलन गर्न मिल्दैन । देशको परिवर्तनमा शिक्षकले खेलेको भूमिकाको बारेमा बेखबर वा जानकारीविहीन मानिस पनि शायदै होला । यस हिसाबले शिक्षकहरू देशका गहना हुन् र भविष्यका निर्माता हुन् ।
यस्तो महत्वपूर्ण क्षेत्रमा सेवारत शिक्षकहरूलाई विभिन्न समयमा सरकारले भेदभाव गर्दै गरेको विषय भने अपत्यारिलो सत्य बनिरहेको छ । देश गणतन्त्रमा प्रवेश गरेर पनि नया“ संविधान समेत आइसकेको अवस्थामा सरकारको शिक्षकप्रतिको अवधारणामा फरक नहुनु लाजमर्दो विषय हो । सरकारको अवधारणा फरक देखिएको छैन वा फेरिएको छैन ।
हिजोका दिनहरूमा शिक्षकहरूको पारिश्रमिक चौमासिक निकासा हुने गर्दथ्यो । यसरी निकासा हुनु सरकारको बाध्यता होला भनी कति शिक्षकहरू चौमासिक निकासाकै भरमा पर्ने गरेका थिए । अरु सबै प्रकारका कर्मचारीहरूले महिना सकिनेबित्तिकै पारिश्रमिक बुझ्ने गर्दै आइरहेका छन् । कतिपय कर्मचारीहरूको त महिना नबित्दै पारिश्रमिक आफनो हातमा परेको हुन्थ्यो । शिक्षकहरूलाई पनि त्यसरी नै तलब उपलब्ध भए शिक्षकहरूको मनोबल उच्च राख्न सहयोग पुग्थ्यो र पठन पाठनमा समेत सकारात्मक प्रभाव पथ्र्याे । तर राजनीतिक रुपमा विभिन्न अवस्था पार गरिसक्दा पनि शिक्षकहरूको पारिश्रमिक वितरणमा त्यही प्रवृत्ति रहनुले भन्ने शिक्षकहरू अचम्मित परेका छन् । पटक–पटक मासिक पारिश्रमिक वितरण गर्ने समाचारहरूले शिक्षकहरूको मनमा क्षणिक चञ्चलता देखिए पनि आखिर त्यो हात्ती आयो हात्ती आयो फुस्साभन्दा अरु केही हुन सकेन ।
सरकारको यस्तो विभेदको शैली नजिकबाट नियालिरहेका स्थानीय तहले शिक्षकहरूलाई मासिक पारिश्रमिक वितरण गर्ने कुरा सुनेर धेरै शिक्षकहरू खुसीले गद्गद भएका थिए, मनमनै धन्यवाद पनि दिन भ्याएका थिए । तर गत श्रावण महिनादेखिको पारिश्रमिक आजसम्म पनि नआउ“दा शिक्षकहरू आक्रोशित हुन पुगेका छन् । स्थानीय तहले आफ्नो कोषबाट यस्तो बन्दोबस्त गर्न लागेको देखे सुनेका शिक्षकहरू यतिखेर दशैंको लागि सामान किनमेल गर्ने तयारीमा लागेको भएतापनि सोअनुसार कार्य नभएकोमा मन खिन्न देखिएका छन् । अझै पनि पारिश्रमिक कुर्न दशंै नै कुनुपर्ने हो कि भने खालको अभिव्यक्ति तिनीहरूबाट व्यक्त भइरह“दा कतै स्थानीय तहले शिक्षकहरूको मनोभावनाको सम्बोधन गरिेदिन्छ कि ? भनी झिनो आशालाई भने सजाउन छाडेका छैनन् । माध्यमिक तहसम्मको जिम्मेवारी पाएको स्थानीय तहहरूले शिक्षकहरूको मनोबल बढाउने काममा अग्रसरता देखाउने विश्वास पनि धेरैले गरेका छन् । तसर्थः शिक्षकहरूको आवश्यकता र मनोभावनालाई बुझेर स्थानीय तहले काम गर्ने धेरै शिक्षकहरूको आशालाई मूर्त रुप दिने विश्वास व्यक्त गर्दछु ।
–प्रतीक, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *