भर्खरै :

किसानको आकर्षण खुमल–४ धानप्रति

ललितपुर, ६ असोज  ः नेपालमा सबैभन्दा बढी किसानले लगाउने खुमल–४ जातका धानको बीउमा विभिन्न किसिमका समस्या देखिए पनि किसानको आकर्षण कम भएको छैन ।
चामल र पराल दुबै नरम र धेरै उत्पादन हुने गुणका कारण किसानले खुमल–४ नै रोप्न चाहने गरेको नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले जनाएको छ ।
केही वर्षदेखि नार्कले किसानलाई मसिनो चामलमा खुमल–१० सिफारिस गरे पनि उनीहरुले खुमल–४ नै खोज्ने गरेको बाली विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक राजेन्द्र भट्टराईले बताउनुभयो ।
खुमल–४ मा रोगले बढी आक्रमण गरेकोले यहाँबाट खुमल– १० मा जोड दिइएको हो । उहाँले भन्नुभयो, “खुमल–४ प्रति किसानको जुन विश्वास छ, त्यसैले अर्काे रोप्न चाहादैनन् ।”
खुमल–४ लाई नार्कले विसं २०४४ मा सिफारिस गरेको थियो । तीन दशक नाघ्दासमेत यही जात किसानको पहिलो रोजाइँ बनिरहेको छ । धेरै फल्दा बोट नढल्ने र सुख्खा सहने गुण यो जातमा पाइन्छ । उहाँले भन्नुभयो, “घीउ हालेजस्तै मीठो भात हुन्छ, भन्दै किसान यही माग गर्छन ।”
कुनै पनि बीउ लामो समयसम्म लगाउँदा त्यसमा भएका गुण विस्तारै हराउँदै जाने र रोगले चाँडो आक्रमण गर्ने वैज्ञानिक भट्टराईले बताउनुभयो ।
खुमल–४ ले खुमल–१० भन्दा प्रतिहेक्टर एक टन भन्दा बढी उत्पादन दिन्छ । खुमल–१० प्रतिहेक्टर झण्डै पाँच टनसम्म उत्पादन दिन्छ । खुमल–४ ले औसत छ टन उत्पादन दिन्छ । उहाँले भन्नुभयो, “किसानले धेरै खालका गुण खोज्ने भए पनि सबैभन्दा बढी उत्पादन दिने जात नै रुचाएको पाइन्छ ।’
बाली वनस्पति महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली लामो समययदेखि खुमल–४ न्यूनतम मापदण्डका रुपमा रहेको बताउनुभयो । महाशाखाले मध्यपाहाडका लागि धानको नयाँ बीउ विकास गर्दा कम्तीमा खुमल–४ बराबर गुण हुनु आवश्यक मानिन्छ । कुनै पनि बीउले कति उत्पादन दियो भन्दा खुमल–४ बराबर छ, वा छैन भन्ने हेरिन्छ । सुख्खा सहने, रोग प्रतिरोगी क्षमता र ढल्ने वा नढल्ने र पराल कस्तो हुन्छ भन्ने त्यही मापण्डलाई आधार बनाएर अध्ययन गरिन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *