भर्खरै :

तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२६ पुग्यो

नैरोबी, केन्या, ५ असोज  ः तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १२६ पुगेको तान्जानियाका यातायातमन्त्रीले बताएका छन् ।
“मृतकको सङ्ख्या कम्तीमा १२६ पुगेको खबर सुनाउँदा हामीलाई दुःख लागेको छ,” यातायातमन्त्री आइज्याक कामवेलेले राज्य सञ्चालित टेलिभिजनलाई बताउनुभयो । घटनाबारे थप अपडेट स्थानीय समय अनुसार शुक्रबार साँझ गरिने छ, उहाँले भन्नुभयो ।
अझै केही यात्रु डुबेको आशङ्कामा उद्धारकर्मीले अनवरत काम गरिरहेका छन् ।
एमभि नाइरेरे नामक डुङ्गाले कम्तीमा २०० यात्रुलाई लिएर यात्रा गरिरहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । यो डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या हो, उहाँले थप्नुभयो ।
घटनामा परेका ५७ जनालाई पानीबाट जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
अण्डाकार संरचनामा करीब ७० हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको यो भिक्टोरिया तालमा दैनिक हजारौँ यात्रुले ओहोरदोहोर गर्ने गर्छन् । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *