भर्खरै :

चौतारामा सांस्कृतिक उत्सव ‘नेपालका सबै भाषा, संस्कृति र सम्पदा देशकै धरोहर हुन्’

चौतारा, ६ असोज । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा शनिबार भव्य सांस्कृतिक उत्सव भयो । सिन्धु नेवा खलः चौताराको आयोजनामा भएको बाँसुरी बाजा प्रशिक्षण समापनको क्रममा आयोजित सांस्कृतिक उत्सवमा विभिन्न जिल्लाका परम्परागत सांस्कृतिक नाच तथा बाजागाजा सहभागी भएका थिए । उनीहरूले आ–आफ्ना प्रस्तुतिसहित चौतारा बजार परिक्रमा गरेका थिए ।
चौतारा बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित सांस्कृतिक कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गर्नुभयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेंले नेपाल जसरी पहाड–पर्वत र नदीनालाको देश हो, त्यस्तै नेपाल विभिन्न जातजाति, भाषाभाषी र विविध कला र संस्कृतिले सजिएको देश भएको बताउनुभयो ।
उहाँले नेपालका सबै भाषाहरू नेपालकै राष्ट्रिय भाषा भएको र नेपालका सबै कला–संस्कृति, विविध ऐतिहासिक र सांस्कृतिक धरोहरहरू राष्ट्रिय सम्पदा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ती सबै भाषा, कला–संस्कृतिको संवद्र्धन गर्नु नेपालीको कर्तव्य हो ।’
कार्यक्रममा अध्यक्ष बिजुक्छेंले नेपालमा १ सय २७ भाषा भएकामा २७ भाषा लोपोन्मुख, ३२ भाषा मरणोन्मुख र १८ भाषा मृतप्रायः भएको र ती सबै भाषा नेपाली जनताको मात्र नभई मानव जातिकै सम्पदा भएको बताउनुभयो ।
‘‘एउटा भाषा विकास गर्न सयौं वर्ष लाग्छ । त्यस्तो महत्वपूर्ण सम्पत्तिलाई जोगाउनु आ–आफ्नो भाषा र संस्कृति सम्बन्धित जिल्लाको मात्र कर्तव्य होइन, बरु देशकै महत्वपूर्ण कार्य हो । त्यस कार्यमा प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालयहरू सक्रिय भएमा तत्काल लोपोन्मुख, मरणोन्मुख र मृतप्रायः भाषालाई सञ्जीवनी प्रदान गर्न अर्थात् ती भाषाहरूलाई जोगाउन सकिन्छ उहाँले भन्नुभयो ।
देश सङ्घीयतातर्फ अग्रसर भएकोले भाषा र संस्कृतिको संरक्षण र संवद्र्धनको निम्ति केन्द्रीय सरकारको मुख ताक्नुभन्दा प्रदेश सरकार र स्थानीय तहले अगुवाइ गरी जनतालाई परिचालन गर्नसके द्रुततर गतिले काम सम्पन्न हुने विचार उहाँको थियो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले सांस्कृतिक गतिविधि र आदानप्रदानले समाजले थप चमक पाउने र जीवन उल्लासमय हुने बताउनुभयो ।
उहाँले भाषा, साहित्य, कला–संस्कृतिको निर्माण र उन्नतिको निम्ति पनि सही सोचविचार र उद्देश्य आवश्यक हुने बताउनुभयो ।
मौलिक संस्कृतिको पुनर्जागरण अभियान नै विदेशी सांस्कृतिक आक्रमणविरुद्धको व्यवहारिक पाइला हुने सांसद गोसाईको भनाइ थियो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सृजना सैजू, पूर्वसांसद कृष्णराज श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, सांगाचोक गढी चौतारा नगरपालिकाका प्रमुख अमानसिं तामाङ, स्थानीय वडाध्यक्ष नरमान श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
सिन्धु नेवा खलः सिन्धुपाल्चोकका अध्यक्ष माधवलाल कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा खलःका सचिव कमलचरण कक्षपतिले पनि बोल्नुभएको थियो ।
सांस्कृतिक कार्यक्रममा सिन्धु नेवा खलःको बाँसुरी बाजा खलःको बाँसुरी बाजा, गणेश दाफा भजनको माक प्याखँ, हनुमान प्याखँ, खिंछे दाफा भजनको नागाचा प्याखँ, श्रमिक कला सदनको फाकंदली प्याखँ, विश्वकर्मा भैल प्याखँको खिचा प्याखँ, कवांचा प्याखँ, लाखे प्याखँ र भैल प्याखँलगायत विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *