भर्खरै :

‘अवसरवाद र संशोधनवादले समाजवादी क्रान्ति पछाडि धकेल्ने’

काठमाडौं, ६ असोज । नेपाल मजदुर किसान पार्टीको काठमाडांै जिल्ला परिषद् शनिबार चन्द्रागिरी नगरपालिकामा सम्पन्न भयो ।
परिषद्मा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले क्रान्तिकारीहरूले पँुजीवादी विचार त्याग्नुपर्ने रउत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गरेर समाजवाद ल्याउनु आवश्यक भएको बताउनुभयो । उहाँले क्रान्तिको लागि मजदुर वर्गको राजनीतिक र सांस्कृतिक स्तर उठाउनु आवश्यक हुनेमा जोड दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, ‘‘पुँजीवादी व्यवस्थामा सर्वहारा वर्गको क्रान्तिले समाजवाद ल्याउँछ तर लेनिनले पुँजीवादको पूर्ण विकास नभएको सामन्तवादी व्यवस्थाविरुद्धको आन्दोलनले पनि समाजवाद स्थापना हुने बताउनुभएको छ ।’’
‘‘कम्युनिष्ट आन्दोलनमा देखापरेका अवसरवाद र संशोधनवादले पनि समाजवादी क्रान्तिलाई पछाडि धकेलेको हो । नेपालमा अहिले नेकपाको दुईतिहाइ बहुमत छ तर संशोधनवादमा पतन भएको हुँदा नेपाली जनताले परिवर्तनको अनुभूति गर्न पाएनन्’’, उहाँले भन्नुभयो ।
‘‘धर्म अन्धविश्वास होइन, देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु हो । मानिसको अदृश्य शक्ति वा दैवी शक्तिमा विश्वास अज्ञानता हो’’, उहाँले भन्नुभयो ।
‘‘संविधानमा मावि अर्थात् कक्षा १२ सम्म निःशुल्क हुने मौलिक हकको प्रावधान छ । संसदको बहुमतले पारित गरेको ऐनमा निजी विद्यालय खोल्ने प्रावधान राखिएको संविधान विपरीत छ’’, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘‘खुला सिमाना भएको नेपालमा जन्मको आधारमा नेपाली नागरिकता पाउने कानुन बनाउनु देश र जनताको हितमा छैन । आर्थिक समानता र व्यक्तित्व विकासमा समान अवसर नभएसम्म जातीय छुवाछूट र भेदभाव अन्त्य हुनेछैन ।
परिषद्मा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले सरकारको दुईतिहाइको दम्भले देशको हित हुन नसक्ने बताउँदै जनताको अहितमा सरकारले गरेका निर्णयविरुद्ध जनताको प्रतिरोधका कारण सत्तासीन दल आतिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय सह–सचिव सुजन माकले समाजवादी र कम्युनिष्ट साहित्यबारे प्रशिक्षण दिंदै जनताको पक्षमा लेखिएको साहित्य नै गरीब जनताको मुक्ति सङ्घर्षको लागि उपयोगी हुने धारणा राख्नुभयो । इन्जिनियर समाज नेपालका सुनिल दुवालले ज्यालादारी श्रम र ज्यालाबारे प्रशिक्षण दिनुभयो ।
नेमकिपा काठमाडांै जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको परिषद्मा पार्टी सचिव राजवीर डंगोल, कोषाध्यक्ष श्यामकुमार महर्जनलगायत विभिन्न नगर समितिका अध्यक्षहरूले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *