भर्खरै :

संस्कृति खोजमा पँैतालिस वर्ष

–रामबहादुर थापा 
बागलुङ, ११ असोज  ः प्रेम छोटा ७४ वर्षको हुनुभयो । संस्कृतिको खोज, अनुसन्धानमा ४५ वर्ष बितेसके । ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेनी–२०७५’ उहाँको ३२औँ कृति हो । लोक संस्कृतिमा मात्रै आधारित कृति १२ वटा छन् । कविता, कथा, सम्पादन हुँदै संस्कृति खोज छोटाको मूल सिर्जनाकर्म बन्यो ।
“विसं २०३० सम्म कथा, कविता लेखेँ”, छोटा भन्नुहन्छ, “त्यसपछि संस्कृतिको खोजमा लागेँ ।” विसं २०१६ मा ‘असम्भव के ?’ कवितामार्फत वाङ्मय यात्रा शुरु गर्नुभएका छोटाको पहिलो खोजमूलक रचना ‘बागलुङको प्राचीनतम् लोकसंस्कृति हनुमान नाच’ विसं २०३५ मा प्रकाशित भयो । अमेरिकी दूतावासबाट निस्कने ‘स्वतन्त्र विश्व’ नामक पत्रिकामा प्रकाशित उक्त आलेख नै छोटाको शोध यात्राको कोशेढुङ्गा बन्यो ।
“त्यसबेलाको चर्चित पत्रिका, रङ्गीन आउँथ्यो, त्यो पनि मनिलामा छापिएर”, उहाँ सम्झनुहुन्छ, “जसबापत पारिश्रमिक रु पाँच सय पाएँ, म झन् प्रेरित भएँ ।” जीवनमा पहिलो पटक पाएको लेखश्वबाट उहाँ त्यसबेला प्रकाशित हुने रुपरेखा साहित्यिक पत्रिकाको आजीवन सदस्य बन्नुभयो । ३०० वर्ष पुरानो ऐतिहासिक हनुमान नाचबारे शोधपछि उहाँलाई लोक संस्कृतिको अनुसन्धानमा लाग्ने प्रेरणा र ऊर्जा मिल्यो ।
विसं २०४४ सालमा साझा प्रकाशनबाट छोटाको अनुसन्धानमूलक कृति ‘धवलागिरिका लोक संस्कृतिहरु’ प्रकाशित भयो । हनुमान नाच, भोटेसेलो, जोगी, लाखे, नाग नाच लगायतका लोक संस्कृतिलाई उहाँले कृतिमा समेट्नुभयो । संस्कृतिको ऐतिहासिक तथ्य, परम्परा, मान्यता, विकास र उत्थानका सन्दर्भ उहाँको खोजका विषय हुन् । “लोकसंस्कृति उजागर र जगेर्ना हुनुपर्छ भन्ने सोच आयो अनि खोजमा तल्लीन भएँ,” छोटा भन्नुहुन्छ, “मेरो शोधको स्रोत भनेको यहीँको समाज हो ।”
एउटै ऐतिहासिक सन्दर्भ खोज्न र प्रमाणित गर्न महिनौँ लागेको उहाँको अनुभव छ । सामाजिक घटना, पात्र, पाका व्यक्ति र अन्यत्रको प्रचलनबाट पनि उहाँलाई अनुसन्धानमा सिकाइ मिल्थ्यो । छोटाको लोक संस्कृति सँगको उठबस बाक्ँिलदै गयो । बागलुङको बास्सा नाच–२०६५, नेवारहरुको सांस्कृतिक परम्परा–२०६१, धवलागिरिको सांस्कृतिक सम्पदा–२०७० र धवलागिरिको वाङ्मय सूची–२०६० प्रकाशित भयो । भाषा, साहित्यको खोजमा पनि उहाँ तल्लीन हुनुहुन्छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान) बाट विसं २०५३ मा धवलागिरिका कथा प्रकाशित भयो । धवलागिरिका कवि र कविता–२०५५, भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्त–२०६२ जस्ता शोधमा आधारित कृतिहरु प्रकाशित भए । विसं २०६६ मा प्रकाशित बागलुङको ऐतिहासिक घटना, विसं २०७० मा प्रकाशित ‘धवलागिरिको छ दशकीय पत्रकारिता’ पनि उहाँको अनुसन्धानमूलक कृति हो ।
“संस्कृति, भाषा, साहित्य, पत्रकारितालगायत समाजका विविध पक्षको ऐतिहासिक मूल्य खोज्नु मेरो शोधको उद्देश्य हो”, छोटा भन्नुहुन्छ । ‘धवलागिरिको छ दशकीय पत्रकारिता’मा उहाँले धवलागिरि क्षेत्रबाट विसं २०७० सम्म प्रकाशित अखबारको पहिलो अङ्क सङ्ग्रहित गर्नुभएको छ । यही वर्ष प्रकाशित ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रनी’ उहाँको पछिल्लो कृति हो । बागलुङको नाटक परम्परासँगै उक्त कृतिमा चैते दशैँ, घण्टाकर्ण पर्वलगायत केही सांस्कृतिक महत्वका पर्व र स्थलहरुका बारेमा उक्त कृति केन्द्रित छ । इतिहासको दस्तावेज राख्न र नयाँ पुस्तालाई संस्कृतिबारे सुसूचित गर्न उहाँका अनुसन्धानमूलक कृतिले सघाउँछन् । उहाँका कृतिबाट साङ्गोपाङ्गो रुपमा धवलागिरि क्षेत्रको कला, संस्कृति र वाङ्मय बुझ्न सकिन्छ ।
“लोक संस्कृतिले कुनै विचारधारा र वाद प्रभावित नहुँने हुँदा मेरो रोजाइमा प¥यो”, उहाँ भन्नुहुन्छ, “साहित्य रचनामा विचारधारा प्रकट हुने खतरा हुन्छ ।” उहाँले संस्कृतिलाई व्यापक रुपमा हेर्नुपर्ने धारणा राख्नुहुन्छ । अनुसन्धानमूलक कृतिबाहेक छोटाका एक दर्जन जति मौलिक कृति छन् । विसं २०४२ मा प्रकाशित ‘प्रकारान्त’ कथा सङ्ग्रह उहाँको पहिलो साहित्यिक कृति हो । प्रेमका केही कविता–२०४५, अणु अणुको थुप्रो ः जीवन र प्रेम कविता सङ्ग्रह २०६४ मा प्रकाशित भएको हो ।
दर्जनभन्दा बढी पुस्तक उहाँको सम्पादनमा प्रकाशित भएका छन् । विसं २००२ मा जन्मनुभएका छोटा सानै उमेरदेखि वाङ्मय सेवामा समर्पित हुनुहुन्छ । ११ वर्षको उमेरमै साथीहरुसँग मिलेर उहाँले बागलुङ बजारमा सरस्वती पुस्तकालयको स्थापना गर्नुभएको थियो । विसं २०३४ मा उहाँले स्थापना गर्नुभएको रत्न–श्रेष्ठ पुरस्कार गुठी राजधानी बाहिरको सबैभन्दा पुरानो पुरस्कार संस्था मानिन्छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्रज्ञासभा सदस्यसमेत रहनुभएका छोटा डा डिल्लीरमण कल्याणी रेग्मी स्मृति पुस्तकालय विकास समिति काठमाडौँ र धवलागिरि वाङ्मय प्रतिष्ठान काठमाडौँको अध्यक्षसमेत भइसक्नुभएको छ । दर्जनौँ साहित्यिक तथा प्राज्ञिक सङ्घसंस्थामा क्रियाशील छोटाले थुपै्र पदक, सम्मान र पुरस्कार पाइसक्नुभएको छ ।
विसं २०५३ मा राष्ट्रिय प्रतिभा पुरस्कार, २०५६ मा गोपाल पाँडे असीम पुरस्कार, २०६८ मा शिरोमणि पुरस्कार, २०६९ मा त्रिमूर्ति पुरस्कारलगायत दर्जनौँ पुरस्कार प्राप्त गर्नुभएको छ । लोककवि अलिमियाँ वाङ्मय सम्मान, भूपि स्मृति सम्मान, राष्ट्रिय नागरिक स्वर्ण सम्मान तथा नागरिक अभिनन्दन, भानुभक्त स्वर्ण सम्मान लगायतबाट उहाँ सम्मानित हुनुहुन्छ ।
छोटा संस्थापक÷संरक्षक रहनुभएको रत्न–श्रेष्ठ पुरस्कार गुठीले हरेक दुई वर्षमा राष्ट्रिय, क्षेत्रीय र आञ्चलिक स्तरमा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । पढाइमा स्नातक छोटासँग केही वर्ष शिक्षक र कर्मचारी भएर काम गरेको अनुभव भए पनि अधिकांश जीवनकाल साहित्य, कला र संस्कृतिको सेवामा बितेको छ ।
उमेरको उकालोसँगै सिर्जनाकर्मको गति केही घटेको होला तर साधना र समर्पण उस्तै छ । “३२ वटा कृति प्रकाशित भए अझै २५ कृति प्रकासोन्मुख छन्”, उहाँ भन्नुहुन्छ, “हेरौँ उमेर, स्वास्थ्यले कत्तिको साथ दिन्छ ।” स्वर्गीय दीपबहादुर र रत्नकुमारी श्रेष्ठको कोखबाट जन्मुनभएका छोटा अहिले बागलुङ नगरपालिका–३ किनारा टोलमा परिवारसँग बस्दै आउनुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *