यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
अनिता जधारी
अपराध भनेको सधैं सञ्चारमाध्यमको लागि मसला हुन्छ न कि राजनैतिक विवाद । नेपालमा अपराधलाई राजनीतिकरण अत्यधिक मात्रामा भइरहेको हामीलाई पत्रपत्रिकामार्फत मात्र आभास दिइरहेको हो या यो साँच्चै नै भइरहेको हो अहिले नेपालीहरू अलमलमा छन् । सञ्चारमाध्यमले बताइरहेको सनसनीपूर्ण समाज, राजनीतिकरण गरिएका अपराध र लाचार भनिएका न्यायिक संस्थाहरूले नेपाली समाज एउटा डरलाग्दो अपराधीहरूको अखडा बनिसकेको हो कि भन्ने त्रास हामीमा छ । प्रत्येक नेपाली अब सामाजिक सञ्जालमार्फत पत्रकारको भूमिका खेलिरहेको अवस्थामा, सृजना भइरहेको राजनैतिक विवाद र यो त्रास तबसम्म मर्दैन जबसम्म अपराधको दर घट्दैन र जनताले सञ्चारमाध्यमबाट फैलाइएको समाचारलाई बेवास्ता गर्न सक्दैन । निश्चित सामाजिक परिस्थितिहरूले अहिले समाजका नारी र अभिभावक विशेषतः आक्रान्त र भयभित भएको आभास विभिन्न वक्तव्य, प्रदर्शन, र अन्तर्वार्ताबाट देखाइरहेको छ ।
कुनै पनि व्यक्ति वा समुदाय सानो वा ठूलो रुपमा राजनीतिक गतिविधिमार्फत देशमा भइरहेको अपराधमा संलग्न हुन्छ भने त्यसलाई राजनीतिक अपराधीकरण भनिन्छ । जबसम्म अपराधीहरूलाई सत्ता पक्षका राजनैतिक शक्तिले संरक्षण गर्छ तबसम्म देशमा सुशासनको परिकल्पना सम्भव हँुदैन । नेपालमा देखा परिरहेको यस प्रकारका केही अपराध–अपराधीको बचाउमा खेलिएका राजनैतिक दाउपेचहरूले नेपालको न्याय प्रणालीलाई असर गरिरहेको छ ।
कुनै पनि पीडितलाई न्यायको महत्व समयसँगै परिवर्तित पीडितले खोज्ने न्याय के हो भन्ने विषय पनि यसैले निर्धारण गरिरहेको छ । यही धारमा अहिलेको न्याय प्रणाली सञ्चारमाध्यमको जुन प्रकारको प्रस्तुति हो त्यसले सिङ्गो न्याय प्रणालीलाई असर गरिरहेको हो कि भन्नेसमेत शङ्का पनि एकातिर छ । नेपालमा भइरहेको अपराध धेरैजसो राजनैतिक रुपमा प्रेरित देखिन्छ भन्ने आभास अहिलेको सञ्चार माध्यमको छ किनकि श्रृङ्खलावद्ध रुपमा भइरहेको अपराधलाई केलाउने हो भने यहाँ आर्थिक रुपमा मौलाएको अपराध हो भन्ने कुनै आधार देखिँदैन ।
चर्चा अहिले निर्मला पन्तको विषयमा भइरहेको छ । यथाशीघ्र दोषी पहिचान गरी कारबाही र परिवारलाई राहत दिने विषयको परिचर्चा छ । यहाँ प्रश्न सरकारलाई, प्रहरी प्रशासनको अनुसन्धानलाई, गैरजिम्मेवार प्रशासनलाई जनताले औंल्याइरहेको अवस्था छ । सञ्चारमाध्यममा देखाइरहेको भिडियो विभिन्न व्यक्तिहरूसँगको अन्तर्वार्ताहरूले नेपालको न्याय प्रणालीले कता, केले बाटो बिराइरहेको हो भन्ने कुरा ठम्याउन सकिरहेको छैन । घटना समग्ररुपमै धमिल्याइएको अवस्था छ । समय लम्बिदै जाँदा प्रमाणहरू नष्ट भइसकेको अवस्थामा अभियुक्त पत्ता लगाउन कठिन हुँदै जान्छ भन्ने विषयमा यहाँ दबाब, सञ्चारमाध्यमको प्रस्तुति र अनुसन्धान समितिमाथिको दोहोरो समिति जस्ता गतिविधिले अपराधीसम्म पुग्न झन् कठिन भइरहेको छ ।
नेपालको कानुनी व्यवस्था र घटनालाई विश्लेषण गर्दा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ६ बमोजिम कुनै प्रहरी कार्यालय वा प्रहरी कर्मचारीले कुनै घटना भएको जानकारी पाउनासाथ कसूरको प्रमाण लोप वा नाश हुन नदिने र कसूर गर्ने व्यक्ति भाग्न, उम्कन नपाउने आवश्यक र प्रभावकारी व्यवस्था यथाशीघ्र गर्नुपर्नेछ भन्ने रहेकोमा सञ्चारमाध्यममा देखाइएका भिडियो जसमा एक महिला प्रहरीले नै निर्मलाको सुरुवाल फोहोर पानीमा पखाले र निर्मलाको गुप्ताङ्ग धुने काम भएको छ । जसले के प्रमाणित गर्छ कि, कि त प्रहरीलाई प्रमाण सङ्कलन विषयक राम्रो प्रशिक्षण छैन अथवा यो प्रहरीको नियोजित रुपमै अपराधीको प्रमाण लोप गर्ने मनसाय हो ।

अनिता जधारी
Leave a Reply