भर्खरै :

मेलम्चीको पानी दुई महिनापछि !

कालिका खड्का
काठमाडौं, ११ असोज । काठमाडौं उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र काठमाडांै उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताउनुभएको छ ।
कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ । काठमाडौंवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८ वर्ष बिताइसके । सो खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि सुरु भएको थियो । काम सकिएसँगै उपत्यकावासीले बहुप्रतिक्षित मेलम्चीको पानी पिउन पाउने विश्वास गरिएको छ ।
सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबारको बैठकमा मेलम्ची खानेपानीका विषयको छलफलमा आयोजना प्रमुखले सो कुरा बताउनुभएको हो ।
मेलम्चीको पानी सुन्दरीजलमा रहेको पानीट्याङ्कीमा ल्याएर खन्याइन्छ, त्यहाँ अहिले साढे आठ करोड लिटर पानी अटाउँछ, ट्याङ्की निर्माण हँुदैछ । आयोजनाका प्रमुख कँडेलले भन्नुभयो, ‘‘पहिलो वर्ष १७ करोड लिटर र तीन वर्षपछि ३४ करोड लिटर पानी उपत्यकामा आउँछ ।’’ सुन्दरीजलको ट्याङ्कीबाट अन्य स्थानमा रहेका पुरानै ट्याङ्कीमा पानी सङ्कलन गरी घरघरमा वितरण गरिन्छ ।
संसदीय समिति यही असोज १४ गते उक्त खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण गर्न जाने तय भएको छ । पटक–पटक यस्ता म्याद आए पनि अझै पनि मेलम्चीको पानी पिउन नपाएका कारण जनताले अहिले पनि यो म्यादलाई विश्वास गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *