भर्खरै :

राष्ट्र सङ्घको महासभा संरा अमेरिकी साम्राज्यवादी दबु

न्युयोर्कमा मङ्गलबारदेखि सुरु भएको संयुक्त राष्ट्र सङ्घको महासभामा बोल्ने अधिकांश देशका वक्ताहरूले संरा अमेरिकामाथि निशाना साँधेका छन् । महासभाको पहिलो दिनमै संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हाँसोको पात्र बने । संरा अमेरिकाको इतिहासमा आफ्नो सरकारले जतिको काम यसअघिका कुनै पनि सरकारले गरेका थिएनन् भन्ने उनको अभिव्यक्ति सुनेर महासभाको हल हाँसोले गुञ्जिएको थियो । जवाफमा ट्रम्पले भनेका थिए, ‘‘मैले यस्तो प्रतिक्रियाको अपेक्षा त गरेको थिइनँ । तैपनि ठिक्कै छ ।’’
संरा अमेरिकाको अस्थिर र आक्रामक विदेश नीतिका कारण आज उसले शत्रु मानेका देशहरूमात्र होइनन्, वाशिङ्टन नेतृत्वको मोर्चामा रहेका देशहरूसमेत चिढिएका छन् । क्यानाडा, मेक्सिको र युरोपेली देशहरूमाथि संरा अमेरिकी ट्रम्प सरकारले थोपरेको करले तिनीहरू ट्रम्पप्रति रुष्ट छन् । साथै चीन र रुससँगको वाशिङ्टनको व्यापार सम्बन्ध काँचो धागोझैं छ । संरा अमेरिकाले आफ्नो साम्राज्यवादी धङधङी त्याग्न नसक्दा ल्याटिन अमेरिकामा उसको मोनरो सिद्धान्त चालू छ । ल्याटिन अमेरिकालाई आफ्नो करेसाबारी मान्ने र ल्याटिन अमेरिकी देशलाई स्वतन्त्र विकास हुन नदिने चालबाजी आज पनि उसले चालेकै छ । इरानसँग संरा अमेरिकाको सम्बन्ध अझ तिक्तपूर्ण बन्दै गएको छ । इरानसँगको आणविक सम्झौताबाट हात झिकेपछि संरा अमेरिका अझै पनि इरानलाई आणविक अस्त्र उत्पादनको लागि अप्रत्यक्ष रुपमा उत्साहित गरिरहेको छ । मध्यपूर्वमा अशान्तिको मूल जरा संरा अमेरिका नै हो । सिरियामा बाँकी रहेको आतड्ढवादको संरक्षण संरा अमेरिकाबाट भइरहेको छ । भेनेजुयलामाथि संरा अमेरिकाको लगातारको दबाब र नाकाबन्दीका कारण आज एउटा सार्वभौम देशका नागरिकले अनेकन समस्या भोग्नुपरिरहेको छ । राष्ट्र सङ्घको महासभा ती सबै विषयमाथिको गम्भीर बहसको दबु बन्दै छ । ती सबै कुकृत्यका लागि दोषी संरा अमेरिकी ट्रम्प सरकार नै सबैको प्रहारको बिन्दु बन्ने पक्का छ ।
ट्रम्पले आफ्नो भाषणमा अनेकन झूटा तथ्य प्रस्तुत गरेर विश्व र संरा अमेरिकी जनतालाई भ्रममा राख्न खोजे । तर दूरविन बराबरको आँखा भएको विश्वले संरा अमेरिकाको झूट बुझेको छ । आफ्नो स्वार्थलाई मात्र केन्द्रमा राख्ने ट्रम्प प्रशासनको नीति अमेरिकी फासीवादी र अनुदारवादीको लागि देशभक्ति हुनसक्ला । तर त्यही नीतिकै कारण संसारमा अस्थिरता, असन्तुलन र अराजकता निम्तिने पक्का छ । त्यसकारण आज संसारमा न्यायको पक्षका लागि लडिरहेका राजनेताहरू हिम्मतका साथ संरा अमेरिकी साम्राज्यवादको उसकै भूमिमा उभिएर ट्रम्पकै अघि चर्को विरोध गरिरहेका छन् । बोलिभियाका राष्ट्रपति इभो मोरालेस, क्युवाका राष्ट्रपति डायज कानल, भेनेजुयलाका राष्ट्रपति माडुरो, इरानी राष्ट्रपति आयोतुल्लाहमात्र होइनन्, यो पङ्क्तिमा आज क्यानाडा, फ्रान्स, रुस, जर्मनी, चीनलगायतका देशका राजनेताहरू पनि उभिनेछन् । जर्मनीमाथि ट्रम्पको अवस्तुगत हमलाले युरोपको बलियो साझेदार वाशिङ्टनले गुमाउने सँघारमा छ ।
त्यसो त संरा सङ्घको मुख्यालय न्युयोर्क सहरमै हुनु र राष्ट्र सङ्घको कूल बजेटमा संरा अमेरिकी लगानीका कारण राष्ट्र सङ्घको वाशिङ्टन पक्षधरता संसारसमक्ष स्पष्ट छ । संरा अमेरिकाको विरोध गर्न राष्ट्र सङ्घलाई सजिलो लाग्दैन । तथापि राष्ट्र सङ्घको महासभालाई भने संसारका न्यायका पक्षधर देशहरू भरपूर प्रयोग गरिरहेका छन् ।
संरा अमेरिकाले यसरी नै संसारका सम्पूर्ण देशमाथि कुदृष्टि राख्छ र आफ्नो अस्तित्वलाई मात्र प्रधानता दिने हो भने कुनै दिन संरा सङ्घ अमेरिकी साम्राज्यवादविरोधी दबु बन्नेछ । संरा सङ्घको मुख्यालय न्युयोर्कबाट बाहिरिने दिन धेरै टाढा हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *