जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
(जनवादी गणतन्त्र चीन स्थापनाको ६९ औं वर्ष (अक्टोबर १) को अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङलाई बिहीबार शुभकामना सन्देश पठाउनुभयो । नेपालका लागि चिनियाँ राजदूत यु होङमार्फत् सो सन्देश पेचिङ पठाइएको हो । सन्देशको पूर्ण पाठ प्रस्तुत छ–सं)
महामहिम राष्ट्रपति सी चिनफिङ
जनवादी गणतन्त्र चीन
महासचिव, चिनियाँ कम्युनिष्ट पार्टी
पेचिङ, चीन ।
जनवादी गणतन्त्र चीनको ६९ औं स्थापना दिवसको सुअवसरमा नेपाल मजदुर किसान पार्टी र पार्टीका सबै कामरेडहरूको तर्फबाट महामहिमज्यू, चिनियाँ कम्युनिष्ट पार्टीका कामरेडहरू र चिनियाँ जनताप्रति न्यानो शुभकामना र हार्दिक बधाई ज्ञापन गर्दछु । सन् १९४९ को अक्टोबर १ मा नयाँ समाजवादी चीनको घोषणा चीनको युगौं पुरानो इतिहासमा मात्र नभई सिंगो मानव जातिको इतिहासको लागि नै युगान्तकारी घटना प्रमाणित भयो ।
आज चीन एउटा ठूलो आर्थिक शक्तिको रूपमा तीव्रगतिमा अगाडि बढिरहेको छ, त्यसले चीनलाई समृद्ध बनाएको छ । चीनको ‘एक क्षेत्र एक सडक मार्ग’ (बेल्ट एण्ड रोड) अगुवाइ र ‘मानव जातिको साझा भविष्य’ मार्फत पछाडि परेका विश्वका भूभागमा विकासको लागि योगदान गर्न र मानव जातिको सेवा गर्न तत्पर बनेको छ । यसले संसारका करोडौं–करोड जनताको मन जित्न सफल भएको छ । तर संरा अमेरिका भने त्यसको विरोधमा षड्यन्त्रका जाल बुनिरहेछ । चीन र संरा अमेरिकाबीच चालू व्यापार युद्ध यसैको उदाहरण हो । संरा अमेरिकाको लागि यो अन्यायपूर्ण युद्ध आत्मघाती हुनेछ । हामी चीन र चिनियाँ जनताप्रति बलियो ऐक्यबद्धता व्यक्त गर्दछौँ । हामी चीनको सधैंजस्तै विजय हुने आशा व्यक्त गर्दछौँ ।
चीनविरूद्धको व्यापार युद्धले हामीलाई उन्नाइसौं शताब्दीमा भएको अफिम युद्धको स्मरण गरायो । तर यो एक्काइसौं शताब्दी हो । साम्राज्यवादीहरूका अपेक्षाभन्दा विपरीत चीन आज धेरै विषयमा अघि बढिसकेको छ ।
समय छँदै संरा अमेरिकाले यो वास्तविकता बुझ्न जरूरी छ । व्यापार युद्ध गरेर संरा अमेरिकाले निर्लज्जतापूर्वक आफ्नो वास्तविक अनुहार उघारेको छ । चीन र उसका सहयोगीहरूलाई कमजोर बनाउने संरा अमेरिकाको लुकेका कुनियतहरु सतहमा आएका छन् । उसका निहित स्वार्थहरु सतहमा आएका छन् । संरा अमेरिकाको यथार्थ प्रस्ट रूपमै उघारिएको छ । तथापि संरा अमेरिकाकोे सन्दर्भमा यस्तो घटना भएको पहिलोपटक भने होइन । संरा अमेरिका आज ठूलो सड्ढटमा फसेको छ भने संरा अमेरिकाको अवनति चालू रहने र सन् २०२१ सम्ममा चीन संसारको अर्थतन्त्रको अगुवा हुने संसारका आर्थिक विश्लेषकहरूको विश्लेषण क्रमशः सही बन्दै छ ।
संरा अमेरिकाले एसियामा अस्थिरता निम्त्याइरहेको छ र एसियाली देशहरूबीच युद्ध भड्काइरहेछ ।
अन्तमा, हामी नेमकिपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको मैत्रीपूर्ण सम्बन्ध अझ बलियो बन्दै जाने विश्वास गर्दछौँ । साथै धर्म र संस्कृतिले सुदृढ बनाएको र उच्च हिमालयले जोडेको नेपाली र चिनियाँ जनताबीचको छिमेकी सम्बन्ध आगामी दिनमा अझ अघि बढ्ने विश्वास गर्दछौँ ।
नारायणमान बिजुक्छें (रोहित)
अध्यक्ष
नेपाल मजदुर किसान पार्टी
Leave a Reply