भर्खरै :

उखु किसान आन्दोलित

नवलपरासी, १२ असोज । पश्चिम नवलपरासीका उखु किसान तीन सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी लगायतका माग राख्दै उनीहरूले आन्दोलन थालेका हुन् ।
अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, उखुको मूल्य निर्धारण समयमै गरिनुपर्ने र उद्योगले सुरुमै भुक्तानी तालिका सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलन थालेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । उखु मिलले अघिल्लो वर्ष खरीद गरेको रकम किसानलाई भुक्तानी गर्न आलटाल गर्दै आएका छन् ।
जिल्लाका इन्दिरा सुगर उद्योग, वाग्मती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिलबाट किसानले भुक्तानी पाउन बाँकी छ । वाग्मती चिनी मिलले रु. २६ करोड, इन्दिरा सुगर मिलले रु. १७ करोड तथा लुम्बिनी चिनी मिलले रु. दुई करोड भुक्तानी दिन बाँकी रहेको समितिका सचिव बन्धुप्रसाद बरइले जानकारी दिनुभयो ।
“उखु क्रसिङ गरेको ६ महिना बित्दा पनि किसानसँग उधारोमा किनेको उखुको भुक्तानी रकम उद्योगले दिएका छैनन्,” किसानले प्रतिक्विन्टल रु. ५३६ का दरले भुक्तानी पाउन बाँकी छ । जिल्लामा कूल सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखु खेती गर्ने गरिंदै आएको छ । पश्चिम नवलपरासीमा करीब १८ लाखदेखि २० लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *