भर्खरै :

महिला हिंसाका घटनामा वृद्धि

काठमाडौं, १२ असोज । पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् ।
महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी ४८ महिला तथा बालिकामाथि बलात्कार भएको पाइएको छ भने ३५ जनामाथि कुटपिट, १८ जनालाई खानलाउन नदिने, विवाह दर्ता, जन्मदर्ता तथा नागरिकताजस्ता स्रोत सुविधाबाट वञ्चित गरिएको छ ।
त्यस्तै १७ जनामाथि गालीगलौज, धम्की, चरित्र हत्याका कारण मानसिक हिंसा भएको, १३ जनामाथि यौन दुव्र्यवहार र १२ महिलाको हत्या भएका तथ्याङ्क सङ्कलन गरिएको छ । हिंसा प्रभावित महिलामध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ३१ प्रतिशत र १६ वर्षभन्दा कम उमेरका किशोरी तथा बालिका २५ प्रतिशत रहेका छन् ।
यसैगरी २६ देखि ३५ उमेर समूहका २१ प्रतिशत, ३६ देखि ४५ उमेर समूहका नौ प्रतिशत र ४६ वर्षभन्दा माथिका र उमेर समूह नखुलेका महिला सात÷सात प्रतिशत हिंसाबाट प्रभावित भएको तथ्याङ्कमा उल्लेख छ । हिंसा प्रभावितमध्ये सबैभन्दा बढी ३८ प्रतिशत श्रीमानबाट, २१ प्रतिशत छिमेकीबाट र परिवारका सदस्यबाट २० प्रतिशत महिला हिंसा प्रभावित भएका छन् ।
यसबाहेक पछिल्लो एक वर्षको तथ्याङ्क हेर्दा छ जना महिला तथा किशोरीमाथि एसिडको आक्रमणमा परेका छन् । वैवाहिक वा प्रेम प्रस्ताव एवं जबरजस्ती यौन सम्पर्क राख्न अस्वीकार गर्दा, दाइजोको मामिला वा अन्य सामान्य झगडा आदिमा महिलाको अनुहार नै बिगार्ने उद्देश्यका साथ एसिड प्रहार गरेको देखिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *