यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
वर्ग अङ्गे्रजी शब्द “Class” को पर्याय हो र यो शब्द लेटिन भाषाको “Classics” बाट आएको हो, जसको अर्थ हो मानिसहरूको समूह । समाजमा हामी विभिन्न खालका जनसमूहहरू देख्छौं र ती समूहहरू तिनका पेसा, सामाजिक स्थिति, लिङ्ग, जातीयता, धर्म, पदीय स्थिति, स्वार्थ आदि दृष्टिबाट फरक–फरक छन् । तर, समाजमा भएका ती सबका सब समूहहरू वर्गमा पर्दैनन्, तिनमा केही खास समूहमात्र वर्गमा पर्छन् ।
तसर्थ, स्वाभाविक रुपले प्रश्न उठ्छ ः वर्ग भन्नाले हामीले के बुझ्नुपर्छ ? कस्तो समूहलाई वर्ग भनिन्छ ?
आदिम कम्युनिष्ट समाजमा उत्पादनका साधनहरूमाथि सामूहिक मालिकत्व रहेको थियो, त्यसैले त्यहाँ वर्गहरू थिएनन् । उत्पादक शक्तिहरूको विकासको क्रममा समाजमा श्रम विभाजन पैदा भयो, विभिन्न खालको उत्पादन–कार्यमा संलग्न मानिसहरू छुट्टाछुट्टै भए र तिनका उपजहरूको विनिमय हुनथाल्यो । उपरोक्त कारणहरूले गर्दा, उत्पादनका साधनहरूमाथि निजी, मालिकत्व उत्पन्न भयो, जसको फलस्वरुप आदिम साम्यवादी सम्पत्ति–सम्बन्धहरू विघटित भए र वर्गहरू देखा परे । समाज धनी र गरिब, सम्पत्ति भएका र नभएका, शोषक र शोषितमा विभाजित भयो । यसरी, आर्थिक कारणहरूले गर्दा वर्ग–विभक्त समाजको उत्पति भयो ।
आदिम साम्यवादको अन्त्यपछिदेखि पुँजीवादसम्मको मानवजातिको ऐतिहासिक विकासमा देखापरेका सामाजिक रुपहरू वर्गीय समाज हुन् । ती समाजहरूमा एक–अर्कोबाट पूरै विपरीत स्वार्थ भएका, परस्परविरोधी, वैरभावयुक्त वर्गहरू रहेका हुन्छन्–जस्तो कि दास समाजमा दास–मालिक वर्ग र दास वर्ग, सामन्ती समाजमा सामन्त वर्ग र मोही किसान
(अर्धदास) वर्ग र पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारा वर्ग । उपरोक्त जनसूमहहरूलाई सामाजिक वर्ग–पङ्क्तिमा आबद्ध पार्ने प्रमुख कुरा के हुन् त ? त्यसमा एउटा प्रमुख कुरा हो त्यसले प्राप्त गर्ने आम्दानी र आम्दानीका स्रोतहरूको समानता र यो कुरा उत्पादन–प्रक्रियामा तिनीहरूले प्राप्त गरेको स्थान र खेल्ने भूमिकासित सम्बन्धित छ । उदाहरणका लागि, कारखानामा काम गर्ने मजदुरहरू एउटै वर्गमा पर्छन्, किनभने तिनीहरूको आम्दानीको स्रोत भनेको तिनको आफ्नो श्रमशक्तिको बिक्री हो । त्यस्तै, पुँजीपतिहरू पनि एउटै वर्गमा पर्छन्, किनभने तिनीहरूको आम्दानीको स्रोत भनेको मजदुरहरूको शोषण हो । आफूहरू उत्पादनका साधनहरूबाट वञ्चित रहेका कारणले गर्दा, मजदुरहरू पुँजीपतिलाई आफ्नो श्रमशक्ति बेचेर जीविकोपार्जन गर्छन् र उत्पादन–कार्यमा पुँजीपति वर्गसित उनीहरूको सम्बन्ध एउटै खालको हुन्छ ।
उपरोक्त दृष्टिबाट समूहहरूलाई हेर्ने हो भने, समाजमा भएका जति पनि जनसमूहहरू छन् तिनलाई वर्गमा राख्न मिल्दैन । समाजमा महिला, युवा, जनजाति आदि ठूला जनसमूह हुन्, तर ती वर्गको श्रेणीमा पर्दैनन् । तिनका कारण स्पष्ट छन् । जस्तो कि, पुरुषबाट महिलाको भिन्नता आर्थिक आधारमा भएको होइन, त्यो भिन्नताको आधार भनेको लैङ्गिक भिन्नता हो । अर्को कुरा, लैङ्गिक दृष्टिबाट महिलाहरू एउटै समुदाय भए पनि, उत्पादनमा तिनीहरूको स्थान एउटै खालको छैन । आम्दानीको स्रोत र तिनीहरूले प्राप्त गर्ने आम्दानीको दृष्टिबाट पुँजीपति वर्ग, किसान वर्ग र मजदुर वर्गका महिलाहरूको स्थिति एकदमै भिन्नाभिन्नै छन् । त्यसको अर्थ के भने तिनीहरूका माझ वर्गीय भिन्नता छ । तसर्थ तिनीहरू एउटै वर्गमा पर्दैनन् । युवा समुदायको सम्बन्धमा पनि कुरा त्यस्तै छ । युवाहरूमा कोही पुँजीपति वर्गबाट, कोही किसान वर्गबाट र कोही मजदुर वर्गबाट आएका हुन्छन् । त्यसको अर्थ हो, उत्पादनमा तिनीहरूको स्थान एउटै खालको छैन र आम्दानीको आकार र स्रोत पनि भिन्न छन् । तसर्थ तिनीहरू एउटै वर्गमा पर्दैनन् । जनजातिको सम्बन्धमा पनि कुरा त्यस्तै छ । जनजातिहरू कुनै ठूला, कुनै साना जनसमूह हुन्, तर ती वर्गीय समूह होइनन् । जनजाति भनेको उत्पादन–कार्यका आधारमा उभिएको समूह हो र सामान्यत ः त्यसभित्र विभिन्न वर्गहरू विद्यमान छन् ।
हामी के देख्छौं भने आम्दानीको परिमाण र आम्दानीको स्रोतको दृष्टिबाट सामाजिक वर्गहरू एक–अर्कोबाट भिन्न छन् । वर्गहरूबीच रहेका यस्ता भिन्नताहरू निश्चय पनि महत्वपूर्ण छन्, तर वर्गहरूको पहिचान गर्ने र तिनलाई एक–अर्काेबाट छुट्याउने सम्बन्धमा मूल निर्धारक तत्व ती होइनन् । आम्दानीको परिमाण र त्यसको स्रोतका आधारबाट मात्र हेरियो भने, वर्गहरू एक–अर्कोबाट भिन्न रहेको वास्तविक कारणलाई सही रुपमा ठम्याउन सकिंदैन । माक्र्सले कुन तथ्यलाई औंल्याएका छन् भने आम्दानीको परिमाण भनेको परिमाणात्मक भिन्नताको कुरा मात्र हो र सो भिन्नताको आधारबाट वर्गहरूलाई एक–अर्कोबाट छुट्याउन मिल्दैन, किनभने एउटै वर्गका मानिसहरूको आम्दानी छुट्याउन मिल्दैन, किनभने एउटै वर्गका मानिसहरूको आम्दानीको परिमाण फरक–फरक रहेको तथ्यलाई हामी देखिरहेका छौं । उदाहरणका लागि, दक्ष मजदुर र अदक्ष मजदुरको आम्दानीको परिमाणमा भिन्नता छ र सो भिन्नतालाई वर्ग छुट्याउने आधार बनाइयो भने तिनीहरू दुई छुट्टै वर्गमा पर्नजानेछन्, जुन कुरा बिलकुल बेठीक छ ।
तसर्थ, वर्गलाई परिभाषित गर्ने सम्बन्धमा आम्दानीको परिमाणात्मक आम्दानीको स्रोतको भिन्नतालाई पनि वर्गको परिभाषाका लागि उपयुक्त आधारका रुपमा लिन सकिंदैन । उदाहरणका लागि, विभिन्न मजदुरहरूको स्रोत पनि फरक–फरक रहेका हुन्छन्, जस्तो कि कोही मजदुर धातुको काम गर्छन्, कोही काठको काम गर्छन्, कोही ढुवानीको काम गर्छन् आदि । यस्तो भिन्नताका आधारमा तिनीहरू छुट्टाछुट्टै वर्गमा पर्छन् भन्नु बिलकुल बेठीक हुन्छ, किनभने पुँजीपतिसित तिनीहरूको सम्बन्ध एउटै खालको रहेको छ । सरकारी कर्मचारीहरूको आम्दानीको स्रोत राज्यको ढुकुटी हो, निजी अस्पतालमा काम गर्ने डाक्टरहरूको आम्दानीको स्रोत बिरामीहरू हुन् । निजी महाविद्यालयमा अध्यापन गर्ने प्राध्यापकहरूको आम्दानीको स्रोत शिक्षार्थीहरू हुन् तर यस तथ्यबाट तिनीहरू विशिष्ट वर्ग हुन् भन्ने सावित हुँदैन ।
यसरी समाजमा मानिसहरूका बीच विभिन्न सामाजिक भिन्नताहरू छन्, तर ती सबका सब वर्गहरूलाई छुट्याउने आधार होइनन् । वर्गहरू छुट्याउने मुख्य आधार वर्गीय विभेदहरू हुन् र ती विभेदका स्रोत आर्थिक हुन्, किनभने वर्गीय विभेदहरू उत्पादन–सम्बन्धहरूको चरित्र र सारबाट, उत्पादनका साधनहरूसित मानिसहरूको सम्बन्धबाट पैदा हुन्छन् । उपरोक्त तथ्य नै त्यस्ता मूल तत्व हुन्, जसले वर्गहरूको पहिचान र परिभाषाका लागि वास्तविक आधार प्रदान गर्छ र मानिसहरूबीचका अन्य सबै सामाजिक सम्बन्धहरूलाई निर्धारित गर्छ ।
वर्गबारे चर्चा गर्दै लेनिनले वर्गको जुन परिभाषा दिएका छन्, त्यो त्यस सम्बन्धमा सबभन्दा वैज्ञानिक र सबभन्दा उत्कृष्ट परिभाषा रहेको छ । उनले दिएका परिभाषा वर्गको पहिचान र विभेदीकरणका लागि ठोस कसीहरू रहेका छन् । सो परिभाषा निम्न प्रकारको छ ः
“वर्गहरू भनेका मानिसहरूका त्यस्ता ठूला समूहहरू हुन्, जुन ऐतिहासिक रुपले निर्धारित सामाजिक उत्पादनको व्यवस्था आफूले ओगटेको स्थानले गर्दा, उत्पादनका साधनहरूसितको आफ्नो सम्बन्धले गर्दा
(जुन सम्बन्ध धेरैजसो मामिलामा कानुनमा निर्धारित र प्रतिपादित गरिएको हुन्छ), सामाजिक श्रम–सङ्गठनमा आफ्नो भूमिकाले गर्दा र फलस्वरुप आफूले व्यवस्था गरेको सामाजिक धनको मात्रा र त्यसलाई प्राप्त गर्ने तरिकाले गर्दा एक–अर्कोबाट भिन्न रहेका हुन्छन् । वर्गहरू मानिसहरूका त्यस्ता समूह हुन्, जसमा सामाजिक अर्थतन्त्रको निश्चित व्यवस्थामा तिनले ओगटेका फरक–फरक स्थानहरूले गर्दा एउटाले अर्कोको श्रमको अपहरण गर्नसक्छ ।” (लेनिन,“ सङ्कलित रचनाहरू,” अङ्ग्रेजी संस्करण, भाग २९, पृष्ठ ४२१ )
वर्ग…
१. वर्गको पहिचानको सबभन्दा प्रमुख र निर्धारक कसी उत्पादनका साधनहरूसितको त्यसको सम्बन्ध हो । उत्पादनका साधनहरूसित मानिसहरूको सम्बन्ध भिन्नभिन्नै खालको रहेको हुन्छ । उदाहरणका लागि, पुँजीवादअन्तर्गत कोही मानिसहरू उत्पादनका साधनका मालिक हुन्छन् भने अरु कोही सो साधनबाट वञ्चित रहन्छन् । जो उत्पादनका साधनका मालिक हुन्छन्, तिनीहरू उत्पादन–प्रक्रियाको सञ्चालन र व्यवस्थापन गर्छन् भने जो उक्त साधनबाट वञ्चित छन्, तिनीहरू उक्त मालिकको नियन्त्रण र निर्देशनमा काम गर्छन् अर्थात् पहिलो शोषक र पछिल्लो शोषित रहन्छन् । यसरी वर्ग विभक्त सामाजिक व्यवस्थामा उत्पादनको प्रक्रिया साधनबाट वञ्चित रहेका कामदारहरूको आर्थिक शोषणको प्रक्रिया पनि रहन्छ । यो वर्गीय भिन्नता सम्पत्ति–सम्बन्धहरूमा अभिव्यक्त हुन्छ ।
२. उत्पादनका साधनसितको भिन्नाभिन्नै सम्बन्धले गर्दा सामाजिक उत्पादन–व्यवस्थामा तिनीहरूका भिन्नाभिन्नै स्थान रहन्छन् ः पुँजीपति मालिक हुन्छ भने ज्यालादारी मजदुर श्रमिक हुन्छ । त्यसको फलस्वरुप, सामाजिक श्रम–सङ्गठनमा तिनीहले खेल्ने भूमिका पनि आदेशको पालना गर्छन् । मालिकले आदेश दिने काम गर्छ भने मजदुरहरू आदेशको पालना गर्छन् ।
३. उपरोक्त सम्बन्धका कारणले गर्दा नै उत्पादनबाट प्राप्त हुने सामाजिक धनमा उक्त दुई वर्गहरूले गर्ने हिस्सा फरक–फरक हुन्छन् र त्यस्तै हिस्सा प्राप्त गर्ने तरिका पनि फरक–फरक हुन्छ । त्यस्तै दिस्सा प्राप्त गर्ने तरिका पनि फरक–फरक हुन्छ । पुँजीवादी उत्पादनमा सामाजिक धनको ठूलो हिस्सा पुँजीपतिहरूले प्राप्त गर्छन् भने उत्पादक श्रमिकहरूले कम हिस्सा प्राप्त गर्छन् । फेरि, श्रमिकहरूले ज्यालाका रुपमा त्यसलाई प्राप्त गर्छन् भने पुँजीपतिहरूले नाफाका रुपमा प्राप्त गर्छन् ।
यसरी उत्पादनका साधनहरूसितको वर्गहरूको सम्बन्धका आधारमा उत्पादनमा तिनीहरूको स्थान, तिनीहरूले खेल्ने भूमिका, तिनीहरूको आम्दानीको परिमाण तथा आम्दानी प्राप्त गर्ने तरिका निर्धारित हुने गर्छ । उक्त सम्बन्ध नै त्यस्तो प्रमुख तत्व हो, जसले मानिसहरूको वर्गीय स्थितिलाई निर्धारित गर्दछ ।
त्यसैले, स्पष्ट कुरा के छ भने भौतिक मूल्यहरूको उत्पादन–प्रक्रियालाई प्रस्थानबिन्दु बनाएर वर्गको विश्लेषण गरिनुपर्छ ।
कुनै पनि वर्ग–विभक्त सामाजिक व्यवस्थामा प्रमुख (आधारभूत) वर्गहरू दुइटा हुन्छन्–एक, उत्पादन–साधनका मालिक वर्ग, जो उत्पादनका साधनबाट वञ्चित रहेकाहरूको श्रमको शोषण गरेर विलासी जीवन बिताउँछ र अर्को, कामदार वर्ग जो साधनविहीन हुनाले साधनका मालिकहरूका लागि श्रम गर्दछ । हर वर्गीय समाजमा दुइटा आधारभूत वर्ग यिनै हुन् । तर त्यस्ता समाजहरूमा आर्थिक शोषण तथा दासेय स्थितिको रुपचाहिँ भिन्नाभिन्नै हुन्छन् र यही भिन्नताद्वारा सम्बन्धित समाजको रुप निर्धारित हुन्छ । उदाहरणका लागि जुन सामाजिक व्यवस्थामा मालिक वर्गका लागि कामदारहरू श्रम–शक्तिको शोषणको स्रोतमात्र होइन, किनबेच वस्तुसमेत रहन्छ, त्यस व्यवस्थालाई दास समाज भनिन्छ । जुन सामाजिक व्यवस्थामा उत्पादनका साधनका मालिकले कामदारहरूको श्रम किन्ने र कामदारहरूले आफ्नो श्रमशक्ति बेचेर जीविका चलाउने गर्छन्, त्यसलाई पुँजीवादी समाज भनिन्छ ।
वर्ग विभक्त समाजमा दुइटा आधारभूत वर्गहरू रहने कुरा माथि बताइएको छ–जस्तो कि दास र दास–मालिक, सामन्ती व्यवस्थामा अर्धदास (मोही किसान) र भूमालिक, पुँजीवादमा मजदुर र पुँजीपति । ती वर्गहरू उपरोक्त समाजका आधारभूत वर्ग हुन् र तिनले संरचनाको वर्ग–रुपलाई, प्रभुत्वशाली उत्पादन–सम्बन्धहरूलाई व्यक्त गर्छन् । तर कुनै पनि सामाजिक व्यवस्सथा आधारभूत वर्गहरूबाट मात्र बनेको हुँदैन । त्यसको अर्थ के भने सो समाज शुद्ध रुपमा रहेको हुँदैन । माथि उल्लेखित सामाजिक संरचनाहरूमध्ये प्रत्येकमा यस्ता वर्गहरू पनि हुन्छन् जुन पहिलेका उत्पादन–सम्बन्धका अवशेषहरू हुन्छन् र अहिले छिन्नभिन्नताको स्थितिबाट गुज्रिरहेका छन् । उदाहरणार्थ, पुँजीवादी समाजलाई लिऊँ । यस व्यवस्थामा पुँजीपति र मजदुरसँगसँगै किसानहरू र स्वतन्त्र शिल्पकारहरू पनि रहेका हुन्छन् । ती सङ्क्रमणको स्थितिमा रहेका समूह हुन्, जुन समयको क्रममा बिलाएर जान्छन् । त्यसबाहेक, यस्ता समूहहरू पनि पाइन्छन्, जुन सम्बन्धित समाजका लागि आवश्यक छन्, जुन आधारभूत वर्गहरूको बीचको स्थितिमा रहन्छन् । उदाहरणका लागि, पुँजीवादी समाजमा भएका प्राविधिक तथा बौद्धिक मजदुरहरू हुन्, जो पुँजीवादी उत्पादनका लागि आवश्यक समूह हुन् । यतिबाहेक यस्ता समूहहरू छन्, जुन कुनै वर्गमा पर्दैनन् अर्थात् अवर्गीकृत (म्भअबिककभम) समूह हुन् । उदाहरणका लागि, आवारा सर्वहाराहरू, फिरन्ताहरू, मगन्तेहरू आदि यस समूहमा पर्छन् र यिनीहरू सामाजिक श्रमको परिधिभन्दा बाहिर, जीविकोपार्जनको कार्यक्षेत्रभन्दा बाहिर रहेका समूह हुन् ।
–माक्र्सवादका सैद्धान्तिक स्थिति र अवधारणाबाट
Leave a Reply