यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
लक्ष्मी बखाद्यो
मलाईं, तपाईलाई अनि हामी सबैलाई, हामी बिरामी पर्दा अस्पताल गयौं भने हाम्रो रोग निको हुन्छ, डाक्टरले दिनुभएको औषधि र गर्नुभएको उपचारले हामी पुनः निरोगी हुन्छौं भन्ने आमधारणा छ, विश्वास पनि छ । डाक्टर हाम्रा लागि हाम्रो प्राणको सुरक्षा गर्ने भगवान हुन् । डाक्टर, नर्स, ल्याब टेक्निसियनलगायत मेडिकल क्षेत्रको पढाई गर्नु साथै औषधि उपचारको विद्या पढ्नु मात्रै पनि हाम्रो समाजका लागि उच्चत्तम कोटीको व्यक्ति हुनको लागि पाइला अगाडि सार्नु हो ।
तर कतै सोही हामीले भगवान मानेको व्यक्तिले हाम्रै प्राणमा खेलवाड त गरेको छैन ? यो प्रश्न सोचनीय प्रश्न भएको छ । सन्दर्भ “ब्लान्ड रक्स्स” चलचित्रको, जब चलचित्रकी मुख्य पात्र सृष्टिले “When I lost my sight I got vision of my life”, अर्थात “जब मैले मेरो दृष्टि गुमाएँ तब जीवनको अर्थ पाएँ” भनेर भन्छिन् तब हो यो वाक्यांशले धेरैलाई उत्साह प्रदान गर्ला र गर्छ पनि तर सो सृष्टिको दृष्टि गुम्नु पछाडी एकजना स्वास्थ्यकर्मीको लापरबाही छ भन्दा पक्कै पनि उत्साह होइन आक्रोश पलाउँछ ।
मिति २०७४-१-३ गतेदेखि मिति २०७४-१२-१३ गते सम्मका पत्र पत्रिकाहरू पल्टाउँदा “बच्चा निकाल्दा अन्द्रा नै कातिदिए”, “गलत उपचारले ज्यान गुमाउँदै”, “चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको आरोप”, “लापरबाहीले सुत्केरीको मृत्यु”, ‘डाक्टरको लापरबाहीले बालकको मृत्यु’, “सुरक्षित छैन रगत÷स्क्रिनिङमा ब्लड बैङ्कहरूको लापरबाही”, “शल्यक्रिया गर्दा पाठेघरमै छुट्यो चार टुक्रा कपडा”, “सुत्केरीको गुप्ताङ्गमा प्याडसहित टाँचा”, “अस्पतालमा ३३ प्रतिशत दुर्घटना डाक्टरको लापरबाहीले”, “रुपन्देहीमा ८० प्रतिशत ल्याब बिनादर्ता सञ्चालनमा”, “देब्रे घुँडामा गर्नुपर्ने शल्यक्रिया दाहिनेमा” लगायत विभिन्न शीर्षकका स्वास्थ्यसँग सम्बन्धित लापरबाहीका ४२ वटा यस्ता समाचारहरू दैनिक प्रकाशित हुने राष्ट्रिय पत्रिकाहरूमा प्रकाशित भएका छन् । बा¥ह महिनामा ४२ वटा अर्थात् प्रत्येक महिनामा औसत ४ वटा यस्ता घटनाहरूको समाचार सम्प्रेषण भएका छन् भने कति घटनाहरू त अस्पतालमै गुपचुप गरी मिलाइन्छ पनि ।
के हो त चिकित्सकीय लापरबाही ? बिरामीप्रति चिकित्सकले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा नगरेको अवस्थालाई चिकित्सकीय लापरबाही मानिन्छ । चिकित्सक वा बिरामीको उपचारको क्रममा संलग्न उपचारकर्मीहरूले आफ्नो जिम्मेवारी पूरा नगरेमा बिरामीलाई कुनै पनि शारीरिक, मानसिक, आर्थिक रुपमा क्षति पुग्न गएको अवस्थालाई चिकित्सकीय लापरबाही मानिन्छ । लापरवाही ठहरिन चिकित्सकको कर्तव्य कानुनद्वारा निर्दिष्ट हुनुपर्छ, कर्तव्य उल्लङ्घन गरेको प्रमाण मेडिकल रेकर्ड वा ट्रिटमेन्ट रेकर्डमा समेतबाट देखिनुपर्छ । उल्लङ्घनले बिरामीलाई केही न केही क्षति (मृत्यु, अङ्गभङ्ग वा अन्य शारिरीक नोक्सानी वा आर्थिक हानी) पुगेको हुनुपर्छ ।
२०७५ भदौ १ गते बाट लागु हुने मुलुकी अपराध संहिता ऐन २०७४ ले कानुन बमोजिम इलाज गर्न पाउने व्यक्ति अर्थात चिकित्सासम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानुनबमोजिम अधिकारप्राप्त अधिकारीबाट इलाज गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेल्चक्राईं गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न नहुने प्रावधान उल्लेख गरेको छ । यदि कुनै चिकित्सकको चिकित्सकीय लापरबाहीका कारण बिरामी वा सेवाग्राहीको मृत्यु भएमा वा अङ्गभङ्ग भएमा ५ वर्षसम्म कैद र ५०,००० रुपैंयासम्म जरीवाना र हेल्चक्रार्इंका कारणबाट मृत्यु भएको वा अङ्गभङ्ग भएकोमा ३ वर्षसम्म कैद र ३०,००० रुपैंयासम्म जरिवाना गरी सजाय गर्ने प्रावधान रहेको छ ।
इलाजको क्रममा चिकित्सकीय लापरबाही को को बाट हुन सक्छ ?
– डाक्टर
– नर्स
– औषधी बिव्रmेता
– औषधी बनाउने फार्मिस्ट
– ल्याब टेक्निसियन
– ब्लड बैङ्क
इलाजसम्बन्धी कसुरको पारिधिभित्र के कस्ता व्रिmयाकलापहरू पर्छन् ?
– लापरबाहीपूर्ण उपचार गर्नु
– हेल्चक्राईंपूर्ण उपचार गर्नु
– मञ्जुरीबिना मानव शरीरमा परीक्षण गर्नु
– कानुनबमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले इलाज गर्न पाउने इजाजतप्राप्त व्यक्तिको सिफारिसबिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागूऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्नू
– औषधीमा मिसावट गर्नु वा मिसावट गरेको औषधी बिक्रीवितरण गर्नु
– म्याद नाघेको वा पुर्ण सावधानी नलिई औषधि बिक्री, वितरण गर्नु
– एक औषधिलाई अर्को औषधि भनि बिक्री, वितरण गर्नु
– मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्दा इजाजत प्राप्त व्यक्ति (ल्याब टेक्निसियन) ले परीक्षणको गलत वा झुठो प्रतिवेदन दिनु
यी माथि उल्लेखित सबै कार्यहरू इलाजसम्बन्धी कसुरअन्तर्गत पर्छन् । स्मरण रहोस् डाक्टरमात्रै होइन, औषधि पसलका औषधि बिक्रेता, शरीरका विभिन्न भाग तथा पर्दाथहरूको परीक्षण गर्नेलगायत रिपोर्ट बनाउने ल्याब टेक्निसियनहरू, ब्लड बैङ्कमा रगतको समुहअनुसार रगत दिन बसेका कर्मचारीहरू साथै औषधि निर्माण गर्ने तथा बनाउने सम्पूर्ण फार्मासिस्टहरू पनि इलाजको कसुरको परिधिभित्र पर्छन् । सामान्यतया उपचारको क्रममा चिकित्सकीय लापरबाहीका कारण कसैको मृत्यु भयो वा कुनै अन्य शारीरिक, मानसिक वा आर्थिक क्षति भएको खण्डमा मोलमोलाई अर्थात पैसाको कारोबारमा मिल्ने, क्षतिपूर्ति भराईलिने दिनेमा चिकित्सकीय लापरबाहीको विषयको निक्र्योल गर्ने गरिन्छ । आर्थिक क्षतिपूर्ति मात्रैले कसैको ज्यान फिर्ता हुन सक्दैन, न कि त्यस्तो काइदाले चिकित्सकीय लापरबाहीको अन्त्य नै । यस्तो सन्दर्भमा चिकित्सकीय लापरबाहीको गाम्भीर्यतालाई ध्यानमा राखी सो चिकित्सकलाई नसिहत दिने, लाइसेन्स खारेज गर्नुको साथै कैद सजाय हुने सम्मको व्यवस्था गरिनु उपयुक्त हुन्छ ।
१६ वर्षको उमेरमा चिकित्सकको गलत उपचार र औषधीका कारण आँखाको ज्योति गुमाउन पुगेकी सृष्टि केसीले जस्तै अन्य अनेकन सृष्टि केसीहरूले आफूलाई स्वावलम्बन बनाउन नसक्न पनि सक्छन्, किनकि श्रीमती दीर्घ रोग पीडित भएको थाहा पाएपछि सो श्रीमतीलाई छोडेर अन्तै घरजम गर्ने श्रीमानहरूको कमी छैन हाम्रो समाजमा । चिकित्सकीय लापरबाहीकाकारण हानी क्षति व्यहोर्नुपर्ने व्यक्तिहरूले कानुनी उपचारमार्फत न्याय खोज्न जान त अवश्य पनि पाउँछन्, तर मुद्दा गरेर फैसला कुरेर क्षतिपूर्ति पाउने बेलासम्म त घाउ–चोटमा खाटो बसिसकेको हुँदो रहेछ । “ढिलो न्याय दिनु, न्याय नदिनुसरह हो” भन्ने न्यायको उक्ति प्रचलित रहँदा रहँदै पनि २०५५ सालमा चिकित्सकीय लापरबाहीका कारण आँखाको ज्योति गुमाएकी सृजना केसीले निकै लामो समयको कानुनी लडाइँपश्चात् अन्ततः २०६६ सालमा क्षतिपूर्तिको रकम पाउने अदालतको निर्णय पाइन् । त्यस्तै गरी २०६२÷१२÷९मा मुद्दा दर्ता गरेकी सुष्मा थापाले ११ वर्ष पछि मिति२०७३÷१२÷२१ मा उपचारको क्षतिपूर्ति रकम पाएकी थिइन् । “डाक्टरले जाँची औषधि दिएको दिन वा औषधि खाएको पहिलो दिनदेखि गणना गर्ने होइन, औषधि दिनहुँ खाएपछि लक्षण र असरहरू देखिन थालेको दिनबाट हदम्यादको गणना गर्नुपर्छ, ऐनको व्याख्या गर्दा प्रयोगात्मक व्याख्या गर्नुपर्छ, निरर्थक, निराशाजनक व्याख्या गर्न नहुने । जुनबेला नोक्सानी भएको कुरा जानकारी भयो सोही मितिलाई मुद्दा गर्नुपर्ने कारण सृजना भएको मिति मान्नुपर्ने ।” भनि सर्वोच्च अदालतले नजिर स्थापना त गरेको छ जुन सराहनीय छ, प्रशंसनीय छ । तर मानिसको जीवनमा क्षति पुग्ने र पुग्नसक्ने यस लापरबाही र इलाजका क्रममा भएको कसुरलाई देवानी मुद्दामा जस्तै क्षतिपूर्ति भराउनेमात्रै फैसला भयो । पीडितलाई क्षतिपूर्ति पाउनु पक्कै पनि उत्कृष्ट कार्य हो तर प्रचलनमा रहेको मुलुकी ऐन २०२० को इलाज गर्नेको महलले दिलाएको सजायलाई ध्यानाकर्षण नै नगरी उपभोक्ताको अधिकारअन्तर्गत मात्रै फैसला गरियो । यस्तो चिकित्सकीय लापरबाहीको कसुरलाई अपराध मानिएन, चिकित्सकीय लापरबाही गर्ने चिकित्सकलाई नसिहतसम्म पनि दिइएन । यो कतिको सान्दर्भिक छ ?
स्वास्थ्यसम्बन्धी अधिकार नेपाली नागरिकको मौलिक अधिकार हो । सो हक हनन गर्ने कार्य आपराधिक कार्य हो, नकि सामान्य देवानी प्रकृतिको कार्य ।
अतः आशा गरौं, अब उपरान्त कुनै चिकित्सा क्षेत्रमा संलग्न व्यक्तिहरूले लापरबाही नगरुन्, मानव शरीरलाई परीक्षण गर्ने साधन नमानियोस् र यदि कसैलाई चिकित्सकीय लापरबाही वा इलाजसँग सम्बन्धित लापरबाही वा हेलचक्राइका कारण क्षति पुगेमा चिकित्सकीय लापरबाहीका गर्ने व्यक्तिलाई आपराधिक दायित्व वहन गराइयोस् किनकि स्वास्थ्यसँग सम्बन्धित अपराध निरपेक्ष दायित्व रहेको अपराध हो ।
(लेखिका काठमाडांै स्कूल अफ लका उपप्राध्यापक हुनुहुन्छ ।)
Leave a Reply