समाचार शीर्षकहरूकै विश्लेषण गरौँ !
- असार १, २०८३
सरकारको नीति तथा कार्यक्रम र बजेटबारे संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता, सांसदहरूले संसद्भित्र मात्र होइन संसद्बाहिर रहेका लेखक, बुद्धिजीवी र राजनीतिक विश्लेषकहरूको दृष्टिकोण पनि सार्वजनिक हुनुपर्छ । सरकारले तय गरेका नीति तथा कार्यक्रम र सोअनुसार तय भएको बजेटबारे विशेषतः बुद्धिजीवीहरूको विश्लेषण के हो ? स्पष्ट हुनुपर्छ । नीति तथा कार्यक्रम कति सही या गलत छ ? त्यसबारे उनीहरूको धारणा आउनुपर्छ । सरकार या सत्तारुढ दललाई देश र जनताप्रति जिम्मेवार बनाउन र देश र जनताको सेवामा समर्पित बनाउन बुद्धिजीवीहरू क्रियाशील हुनुपर्छ । देश र जनताबारे बुद्धिजीवीहरू बेखबर हुनुहुँदैन । सरकारले जस्तो गलत निर्णय र कार्य गरे पनि उनीहरू चुइँक्क बोल्दैनन् भने बुद्धिजीवी हुनु र नहुनुको के अन्तर रह्यो !
सरकारले देश र जनतालाई दूरगामी असर पार्ने काम गर्छ; अभिव्यक्ति दिन्छ भने त्यसको समयमै खबरदारी गर्नुपर्छ । खबरदारी गर्ने काम राजनीतिक दलको मात्र होइन; बुद्धिजीवीहरूको पनि हो । नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन साहको भनाइले सरकार भारतको पक्षमा रहेको थाहा हुन्छ । कालापानीबाट भारतीय सेना फर्काउने, लिपुलेक, लिम्पियाधुरा नेपालको कायम गर्ने विषयमा बुद्धिजीवीहरूले दबाब दिनुपर्छ । बुद्धिजीवीहरूले जसको नेतृत्वमा सरकार आए पनि आँखा चिम्लेर समर्थन गर्ने होइन† सरकारसामु झुक्ने होइन† अवसरवादी भएर आफ्नो स्वार्थ पूरा गर्न लाग्ने होइन ।
सरकारले जस्तो गल्ती गरे पनि समर्थन गर्ने प्रवृत्ति गलत हो† यसले गलत सन्देश प्रवाह गर्छ । सरकारले गलत निर्णय गर्छ; झूट, अन्याय र पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउने या शक्तिको दुरूपयोग कसैले गर्छ भने बुद्धिजीवीहरू जागरुक हुनुपर्छ । देशको मुहार फेर्न, भ्रष्टाचार र अनियमितता रोक्न बुद्धिजीवीहरू जाग्नुपर्छ; सरकारको खबरदारी गर्न तम्सिनुपर्छ । उनीहरू जहिल्यै सार्वजनिक हिततर्फ अग्रसर हुनुपर्छ । कुनै सरकार या दलको अन्ध समर्थन नगरी गुण दोष या सही र गलतको आधारमा आफ्नो धारणा स्पष्ट पार्नुपर्छ या राम्रो नराम्रो पक्षबारे मूल्याङ्कन गर्नुपर्छ । बुद्धिजीवीहरूले सरकारलाई खबरदारी र जनतालाई सुसूचित गर्नुपर्छ । लेखक, कलाकार र बुद्धिजीवीहरू कुनै सरकार या दलको प्रचारका साधन बन्नु हुँदैन । देश जोगाउन र बनाउन उनीहरू अगाडि उभिनुपर्छ ।
बुद्धिजीवीहरूले देशको सिमानाबारे बोल्नुपर्छ । उनीहरू विदेशी शक्तिराष्ट्र र सरकारको गुणगान गर्ने प्रवक्ता बन्नु हुँदैन । कुनै सरकार या दलको अन्ध समर्थन गर्ने बुद्धिजीवीहरूले सच्चा मार्गनिर्देश गर्ने काम गर्दैनन् । बुद्धिजीवीहरू देशका जिम्मेवार पक्ष र देशभक्त हुन् भने देशको राजस्व या राज्यस्रोतलाई दलले बाँडेर लिने नीतिको विरोध गर्नुपर्छ । ‘राष्ट्रिय’ दल या ठुला दलको नाउँमा प्राप्त मतको आधारमा राज्यको पैसा असुल्ने कुनै पनि दल र सरकारी नीतिको उनीहरूले समर्थन गर्नु हुँदैन । बुद्धिजीवीहरू आलोचक बन्नुपर्छ† देश बनाउनको निम्ति आवश्यक सल्लाह सुझाव दिनुपर्छ । बुद्धिजीवीहरूमा आँट र साहस हुनुपर्छ । उनीहरू जो सरकार आए पनि अन्ध समर्थन गर्ने पिछलग्गू बन्नु हुँदैन । कसैको पछि पछि लाग्ने या बुद्धि र विचार फेर्दै हिँड्ने अवसरवादी बुद्धिजीवीहरू कहिले पनि सच्चा हुँदैनन् । उनीहरूको दृष्टिकोण सङ्कीर्ण होइन फराकिलो हुनुपर्छ । कुनै पक्षको पक्षपोषण गर्नुभन्दा पनि देशप्रति जिम्मेवार बन्नुपर्छ ।
रास्वपाकै एक पूर्वजिम्मेवार नेताले नेपाललाई भारतमा मिलाउन रास्वपाकै एक नेताले अभिव्यक्त दिएको कुरा सञ्चारमाध्यममा बरोबर फुकिरहेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले केही हप्तापहिले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएको स्वर सेलाउन नपाउँदै प्रधानमन्त्री बालेन साहले पनि प्रश्न उत्तरको क्रममा त्यही अभिव्यक्ति दोहो¥याएको घटनाले रास्वपाको विचार या दृष्टिकोण नेपाल र नेपालीप्रति होइन भारततर्फ ढल्केको स्पष्ट हुन्छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध युवाहरू मन्त्री हुनु, सामाजिक सञ्जालमाथि प्रतिबन्ध हटाउने आन्दोलनको नाउँमा सर्वाेच्च अदालत, संसद् भवन, सिंहदरबार तथा नेताहरूको घर सम्पत्तिमा आगजनी गर्ने काम राम्रो सङ्केत अवश्य होइन । यी घटनाक्रमले देशको नेतृत्व गर्न पुगेका नेता र सांसदहरू कहाँबाट सञ्चालित छन् भन्ने कुरा बुझ्न गा¥हो छैन । यसबारे बुद्धिजीवीहरू किन मौन ! के बुद्धिजीवीहरूको काम आफ्नो बुद्धि लगाएर आफ्नो जीवन मात्र निर्वाह गर्ने हो ? देशबारे बोल्नुपर्दैन ? देश रहेन भने सबै नेपाली रहने छैनन् । नेपाली नै रहेनन् भने देश पनि रहने छैन । त्यसबेला बुद्धिजीवीहरू पनि दासी भएर जीवन बिताउन बाध्य हुनेछन् । अतः देश र जनताको पक्षमा देशका बुद्धिजीवीहरूले मुख खोल्नुपर्छ; तमासे भएर बस्ने होइन । यसले देश बन्छ; जनताको जीवन बन्छ ।
Leave a Reply