भर्खरै :

भारतीय बजारमा नेपाली उपभोक्ता

दक्षिणी सिमाना छेउछाउका नेपाली उपभोक्ता दैनिक उपभोग्य सामान किन्न सीमापारि भारतीय बजारमा जाने चलन आजको होइन । वीरगञ्ज जस्तो ठूलो बजार भएको पर्सा जिल्लाका बासिन्दासमेत कुनै सामान किन्न भारतीय बजार रक्सौलमा जाने गरेका छन् । नेपालगञ्जका उपभोक्ता पनि रुपेडिया बजारमा किनमेलका लागि जाने गर्दछन् । त्यस्तै धनगढी बजारको विशालतालाई गिज्याउँदै नेपाली उपभोक्ता सीमापारि भारतीय बजार गौरीफाटा धाउने गरेका छन् । गौरका जनता बैरगनिया बजारमा गएर किनमेल गर्ने गर्दछन् । नेपालमै पाइने वा स्वदेशमै उत्पादन हुने वस्तुसमेत भारतीय बजारमा किन्न जाने चलनले नेपालको अर्थतन्त्रमा नकारात्मक असरमात्र पारेको होइन, बरू भारतप्रतिको नेपाली निर्भरतासमेत बढाएको छ । यो चलनले सीमावर्ती नेपाली बजार र व्यापार फस्टाउन बाधा पु¥याइरहेको छ ।
आकारमा ठूलो देश भएकोले भारतलाई जुनसुकै विषयमा पनि ठूलो मान्ने मनोवैज्ञानिक असरका कारण पनि नेपाली उपभोक्ता छिमेकी बजारमा धाउने गरेका हुन् । नेपालमै उपलब्ध हुने सामानका लागि समेत भारतको लागि ‘सस्तो हुने’ भन्दै जानु यस्तै मनोवैज्ञानिक असरको परिणाम हो । तर यो मनोवैज्ञानिक असरलाई अझ गहिरो बनाउन भने नेपाल सरकार र स्वयं व्यापारीहरू पनि दोषी छन् । सरकारले नेपाली जनताका आवश्यकतालाई नेपाली बजारमै सुपथ र सुलभ रुपमा उपलब्ध गराउन नसक्नु कमजोरी हो । त्यसो नगर्दा नेपालको राजस्व सङ्कलनमा समेत ऋणात्मक असर पारेको छ ।
सीमावर्ती अधिकांश नेपाली बजार शनिबार बन्द हुने गरेको छ । शनिबार नेपालमा साप्ताहिक बिदा पर्दछ । सर्वसाधारण बिदाको दिन किनमेलमा जाने गर्दछन् । जुन दिन किनमेल बढी हुने हो, त्यही दिन बजार बन्द गर्ने निर्णय आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु हो । सीमा क्षेत्रका व्यापारीहरूको सङ्गठनभित्रै सीमापारि बजारका एजेण्ट हुनसक्ने सम्भावनालाई त्यस्ता आत्मघाती निर्णयले पुष्टि गर्दछ । उपभोक्ता किनमेलमा आउने दिन बजार बन्द गरेर वास्तवमा भारतीय व्यापारीलाई फाइदा पुगेको सहजै देखिन्छ ।
नेपालसँग सीमा जोडिएका भारतीय बजारको धेरै प्रतिशत व्यापार नेपाली उपभोक्ताबाटै हुने गरेको छ । भारतले नेपालमाथि पछिल्लो पटक नाकाबन्दी गर्दा नेपाली उपभोक्ता रक्सौलमा किनमेल गर्न नजाँदा भारतीय बजार सुख्खा परेको घटनाले यो यथार्थ उजागर गरेको छ । निःसन्देह भारत हाम्रो छिमेकी देश हो र भारतीय जनता हाम्रा छिमेकी हुन् । तर छिमेकी पोस्न आफू नाङ्गै हिंड्नु मूर्खता हो । आफ्नो बजार डुबाएर छिमेकीको बजारमा हुने उत्सवमा रमाउनु त्यस्तै मूर्खता हो ।
प्रथमतः सरकारले नेपाली जनताका आवश्यकतालाई नेपाली बजारमै सुलभ र सुपथ मूल्यमा पाउने बन्दोबस्त गर्न जरुरी छ । ता कि नेपाली जनताले भारतीय बजारमा पुगेर आफ्नो दैनिक गुजारा चलाउन नपरोस् । यसरी भारतीय बजारमा किनमेलमा जाँदा कतिपय नेपालीलाई भारतीय सिमाना सुरक्षा बल (एसएसबी) बाट अपमानपूर्वक दुव्र्यवहारसमेत हुने गरेका समाचार बेलाबेला आउने गरेका छन् । तसर्थ नेपाली जनतालाई त्यस्तो अपमानजनक व्यवहारको शिकार हुनबाट जोगाउन नेपाली जनतालाई नेपाली बजारमै विश्वास गर्न लायक परिस्थिति बनाउनुपर्दछ ।
शनिबारका दिन नेपाली बजार बन्द गर्ने र पारिको बजार सबै दिन सर्वकाल खुला रहने विडम्बनाको अन्त्य गर्न जरुरी छ । शनिबारीय बिदा खारेज गर्न लगाउनुपर्दछ । स्थानीय उपभोक्तालाई देशभित्रकै बजारप्रति विश्वास बढाउन मूल्यमा हुने गरेका अराजकताको अन्त्य गर्न अपरिहार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *