भर्खरै :

नयाँ देवानीसंहितामा परिवार र पारिवारिक जिम्मेवारी

सुनिल प्रजापति
परिवार सामाजिक संस्था हो । यसको अस्तित्व गाउँ र सहर, परम्परागत र आधुनिक समाजमा पाउन सक्छौं । परिवार भनेको त्यो समूह हो जसमा बाबु–आमा, छोरा–छोरीहरू सङ्गठित रुपमा एकै घरमा बस्छन् । तिनीहरूको बीचमा जन्म तथा रगतको सम्बन्ध रहेको हुन्छ । अर्काे शब्दमा भन्दा विवाह र रगतको नाताबाट सिर्जना भएको समूह नै परिवार हो । व्यक्तिहरूलाई नाता सम्बन्धका आधारमा जोड्ने तत्व नै परिवार हो । यस्तो सम्बन्ध रगत, विवाहका आधारमा बनेको हुन्छ ।
समाजशास्त्रीय दृष्टिले परिवार सामाजिक संस्थाको सबभन्दा सानो एकाइ हो । परिवारमा मूलतः बाबु–आमा वा पति–पत्नी हुन्छन् भने तिनीहरूका छोराछोरी पनि हुन्छन् । हरेक समाजको निर्माण परिवारबाट प्रारम्भ भएको हुन्छ । परिवारबेगर समाजको कल्पना गर्न असम्भव हुन्छ । समाजको आधार नै परिवार हो तर समाजको स्वरुप तथा समाजको प्रकारअनुसार समाजले परिवारको जिम्मेवारी निर्धारण गरेको हुन्छ । परम्परागत समाजमा बाबु–आमाको छोराछोरीप्रतिको जिम्मेवारी र सन्तानको आमा–बुबाप्रतिको जिम्मेवारी बढी रहेको हुन्छ । विकसित समाजमा व्यक्तिगत स्वतन्त्रता, व्यक्तिगत छनौट, व्यक्तिगत हक अधिकारलाई मान्यता दिने र समाज नै अधिक व्यक्तिवादी प्रकृतिको हुने हुनाले बाबु–आमा र सन्तानबीच एक–अर्काप्रतिको जिम्मेवारी परम्परागत समाजको भन्दा कम हुने गर्दछ ।
युरोपेली समाज तथा अमेरिकी समाजमा सन्तान वालिग भएपछि परिवार अर्थात् बाबु आमाबाट छुटी भिन्न बस्नुलाई समाजले नै मान्यता दिई त्यस्तो व्यवहारलाई आत्मनिर्भरता र स्वतन्त्रताको रुपमा सकारात्मक दृष्टिले हेर्ने गरिन्छ । अर्काेतिर ग्रामीण भेगीय समाजमा सन्तान वालिग भएपछि बाबुआमा तथा परिवारको जिम्मेवारी लिई घर व्यवहार चलाउनुलाई ज्ञानी र राम्रो सन्तानको रुपमा हेर्ने गरिन्छ ।
संसारको कुनै पनि समाजमा विद्यमान परिवारका बाबुआमाले छोराछोरीको हेरविचार गर्ने, हुर्काउने, उचित शिक्षादिक्षाको व्यवस्था गर्ने, स्वास्थ्यको व्यवस्था गर्ने, सुरक्षा गर्ने, माया ममता दिई सन्तानलाई राम्रो नागरिकको रुपमा सक्षम बनाउने आदि जिम्मेवारी सुम्पेको हुन्छ ।
पारिवारिक जिम्मेवारीलाई सामाजिक, नैतिक तथा कानुनी जिम्मेवारीको रुपमा अलग–अलग राख्न सकिन्छ । सामाजिक जिम्मेवारी समाजको स्वरुप र संरचनाअनुसार आमाबुबा र सन्तानबीचको जिम्मेवारी फरक हुन्छ भने नैतिक जिम्मेवारी व्यक्ति आफैले स्वेच्छिक रुपमा मनन गरी गरिने जिम्मेवारी वहनको अवस्था हो । कानुनी दायित्व स्वेच्छिक प्रकृतिको भन्दा फरक हुन्छ । कानुनी जिम्मेवारी बहन नगरेमा कानुनी दायित्व बाध्यकारी रुपमा पालना गराउन सकिन्छ । देशको कानुनी व्यवस्थाअनुसार कानुनी दायित्व पनि भिन्न हुन्छ ।
परिवार भावनामा आधारित हुन्छ । परिवार माया ममता, सद्भाव, सहानुभूति, सहयोग, मित्रताको भरमा चलेको हुन्छ । संवेगात्मक आधार नभएको परिवार हुनसक्दैन । परिवारले नै बालबालिकाहरूलाई भावनात्मक रुपमा शिक्षित गरी उनीहरूको समग्र व्यक्तित्वको निर्माण र विकास गर्दछ । परिवारका सदस्यहरूको केही निश्चित उत्तरदायित्व, कर्तव्य तथा जिम्मेवारी हुन्छन् । विद्वान मेगाइबरका अनुसार मान्छेले सङ्कटको समयमा देशको लागि काम गर्छ, आवश्यक परे जीवन बलिदान गर्नसक्छ तर परिवारका लागि जीवनभर रगत र पसिना बगाउँछ ।
नेपालका विभिन्न ऐनमा परिवारको परिभाषा विभिन्न किसिमबाट गरिएको पाइन्छ । सन्दर्भअनुसार ऐनले परिवारको परिभाषा गरेको हुँदा एकरुपता देखिदैन ।
निजामती सेवा ऐनले कर्मचारीसँग बस्ने तथा निज आफैले पालनपोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनुपर्छ र सो शब्दले पुरुष र अविवाहिता महिला कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजको सासू, ससुरालाई समेत जनाउँछ ।
भूमिसम्बन्धी ऐन, २०२१ ले परिवारको परिभाषा निम्नबमोजिम गरेको छ, परिवार भन्नाले सो व्यक्ति र निजको देहायको अवस्थामा नातेदारसम्मलाई सम्झनुपर्छ, १.अंंश छुटिएको वा नछुटिएको जे भए तापनि पति वा पत्नी, २.बाबु वा आमा जीवित छउञ्जेल अंश छुटिएको वा नछुटिएको जे भए तापनि १६ वर्ष उमेर नपुगेका छोरा, छोरी ।
ज्येष्ठ नागरिक ऐनले पनि परिवारको सदस्य भन्नाले ज्येष्ठ नागरिकको देहायको नातेदार सम्झनुपर्छ भनेको छ । संगोलको छोरा, बुहारी, छोरी, छोरातर्फको नाति र नातिनी सोबमोजिमका सदस्य भएमा छुटिई भिन्न बसेको छोरा, बुहारी, छोरी, छोरातर्फको नाति, नातिनी त्यस्तो पनि नभएमा नजीकका अन्य नातेदार ।
सहकारी ऐन २०७४ अनुसार परिवार भन्नाले सहकारी संस्था सदस्यको पति वा पत्नी, छोरा, बुहारी, छोरी धर्मपुत्र, धर्मपुत्री, बाबु आमा, सौतेनी आमा र आफूले पालन पोषण गर्नुपर्ने दाजु, भाउजू, भाइ, बुहारी र दिदी, बहिनी सम्झनुपर्छ । यसरी विभिन्न ऐन कानुनले फरक फरक व्यवस्था गरी परिवारको परिभाषा गरेको पाइन्छ ।
मुलुकी ऐन २०२० को अंशबण्डा महलको १० नं.मा लोग्ने बाबुआमाले स्वास्नी वा छोराछोरीलाई इज्जत आमदअनुसार खान, लाउन र आवश्यकतानुसार उचित शिक्षा दीक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ । यसरी परिवारको मुख्य व्यक्तिले आफ्नो आर्थिक क्षमता, हैसियत र बलविवकले भ्याएसम्म आफ्नो सन्तानको पालना गर्नुपर्छ ।
२०७५ साल भदौ १ गतेबाट लागू भएको मुलुकी देवानीसंहिता ऐन २०७४ को परिच्छेद ४ मा आमा, बाबु तथा छोरा छोरी सम्बन्ध सम्बन्धी व्यवस्थाको दफा ११३ मा छोरा, छोरीको जन्म दर्ता गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । कुनै दम्पत्तिको कुनै छोरा, छोरी जन्मिएमा नेपाल सरकारले तोकिदिएको अधिकारीसमक्ष त्यस्तो छोरा, छोरी जन्मिएको तीन महिनाभित्र जन्म दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । हाल नेपालमा बाध्यात्मक अवस्थामा बाहेक सन्तानको जन्मदर्ता गर्ने चलन नरहेको र सचेतनाको पनि कमी भएकोले जागरुक बनाउने उद्देश्यले यो नयाँ व्यवस्था गरेको हो । यदि जन्म दर्ता नगरेमा कानुनले तोकेबमोजिमको रकम जरिवानाबापत आमाबाबुले तिर्नुपर्दछ । त्यस्तै, प्रत्येक व्यक्तिले जन्मेपछि आ–आफ्नो धर्म, संस्कृति, चलन र परम्पराअनुसार निजको आमा वा बाबुले राखेको नाम पाउने कुरा पनि कानुनी रुपमै सुनिश्चित गरेको छ ।
प्रत्येक नाबालकलाई आमा बाबुले संयुक्त रुपमा हेरचाह र स्याहार सम्भार गर्नुपर्छ । हेरचाह र सम्भार गर्दा आमा बाबुले आफनो आर्थिक हैसियत र क्षमताअनुसार पालनपोषण, स्वास्थ्योपचार, शिक्षा दीक्षा, खेलकुद, मनोरञ्जन तथा अन्य आवश्यक व्यवस्था गर्नुपर्छ । यसरी नेपालजस्तो पितृसत्तात्मक सोच र व्यवहार भएको समाजमा सन्तान हुर्काउने र हेरचाह गर्ने जिम्मेवारीमा बाबुलाई हिस्सेदारी बनाउनुलाई सुधारोउन्मुख कानुनी व्यवस्था मान्न सकिन्छ तर साँच्चिकै व्यवहारमा यसले कतिको सार्थकता पाउँछ । केही वर्ष पर्खनुपर्ने अवस्था छ किनकि नयाँ कानुन कार्यान्वयनको प्रारम्भिक चरणमै छ ।
त्यस्तै प्रत्येक छोराछोरीले आफ्ना बाबुलाई आदर तथा सम्मानका साथ व्यवहार गर्नुपर्छ । प्रत्येक छोराछोरीले आमा बाबुलाई एकासगोलमा बसेको वा कानुनबमोजिम भिन्न भइसकेको जेसुकै भए तापनि आफ्नो आर्थिक तथा सामाजिक हैसियत अनुसार आवश्यक हेरचाह, स्याहार सम्भार, औषधोपचार वा रेखदेख गर्नुपर्छ भनी दफा १२२ मा व्यवस्था गरेको छ । आमाबाबुको सन्तानप्रति दायित्व भएजस्तै सन्तानको पनि आफ्ना अभिभावकप्रति जिम्मेवारी रहेको हुन्छ । हरेक समाजमा सन्तानले आमा बाबुको सेवा गर्नुलाई धर्म तथा पुण्यको रुपमा लिई नैतिक जिम्मेवारी बहन गराइएको पाइन्छ । यस संहिताले कानुनबमोजिम छुटी भिन्न बसेको बाबु आमाको सामाजिक तथा आर्थिक हैसियतअनुसार आवश्यक परेको समयमा सन्तानले जिम्मेवारी पूरा गर्नुपर्ने गरी कानुनी दायित्व निर्धारण गरेको छ । यसरी बाबु आमा तथा सन्तानले एक अर्काले पालना गर्नुपर्ने कुरालाई नैतिक रुपमा मात्र नभई कानुनी रुपमा नै व्यवस्था गरेको पाइन्छ । यसले समाजमा जिम्मेवारी बोधलाई प्रश्रय दिएको बोध हुन्छ ।
नाबालक छोरा, छोरी, आमा बाबुको सुपरिवेक्षण, निगरानी, नियन्त्रण, संरक्षण वा अख्तियारीअन्तर्गत रहन्छ । त्यस्तो संरक्षणमा रहेको नाबालकले आमा बाबुले कानुनसम्मत दिएको आज्ञा, आदेश वा निर्देशनको पालना गर्नुपर्छ भनी कानुनी रुपमा नै बाबु आमाको उचित आज्ञाको पालना गर्नुपर्ने हुन्छ ।
संहिताको दफा १२५ हेरिएमा आमा बाबुले आफ्ना छोरा छोरीउपर प्रयोग गर्न सक्ने अधिकार, पूरा गर्नुपर्ने जिम्मेवारी तथा पालना गर्नुपर्ने कर्तव्य निजहरू दुवैको सहमतिले संयुक्त रुपमा गर्नुपर्छ । तर विशेष अवस्थामा आमा वा बाबुमध्ये कसैको मृत्यु भएमा जीवित रहेकोले, कुनै एकको होस ठेगानमा नरहेको अवस्थामा होस ठेगानमा रहेकोले, वैवाहिक सम्बन्ध अन्त्य भई नाबालक जिम्मा लिनेले, बाबुको ठेगाना नलागेको नाबालक भए आमाले प्रयोग गर्ने अख्तियारी, पूरा गर्नुपर्ने जिम्मेवारी तथा पालना गर्नुपर्ने कर्तव्य आमा वा बाबुले पालना गर्नुपर्छ ।
प्रस्तुत ऐनले मातृक तथा पैतृक अख्तियारी अर्थात् आमा बाबुको अधिकार निजले पूरा गर्नुपर्ने जिम्मेवारी र पालना गर्नुपर्ने कर्तव्यहरू बृहत् रुपमा व्यवस्था गरेको छ । मातापिताले आफ्ना नाबालकलाई आफू साथमा राखी सामीप्यतापूर्ण व्यवहार गरी उनीहरूको पनि आचरणको निगरानी गर्नुपर्छ । अघिल्लो मुलुकी ऐन २०२० ले आफ्नो इज्जत आमदअनुसार खान लाउन दिनुपर्ने मात्र व्यवस्था गरेकोमा हालको देवानी संहिताले आफ्ना सन्तानलाई खान, लगाउन दिनुपर्ने साथै उनीहरूलाई खान, लगाउन र परिश्रम गर्न सिकाउने कर्तव्य मातापितालाई सुम्पेको छ । यसले हरेक आमा बाबुले आप्mना सन्तानलाई आत्मनिर्भर बन्न सिकाउनुपर्ने जिम्मेवारी थपेको छ ।
परिवार भावनात्मक सम्बन्ध पनि हो । त्यसैले सन्तानलाई स्नेह, माया वा अनुराग दिनुपर्छ । आफ्ना सन्तानको शारीरिक तथा मानसिक स्वास्थ्यप्रति ख्याल राखी आवश्यक पर्दा स्वास्थ्योपचारको व्यवस्था गर्नुपर्छ । आवश्यकताअनुसार खेलकुद र मनोरञ्जनको अवसर प्रदान गर्नुपर्छ । वर्तमान नेपालको शिक्षा व्यवस्थाले विद्यार्थीलाई पाठ्यक्रममा मात्र सीमित गर्ने प्रचलन रहेको समाजमा अब उप्रान्त आफ्ना छोरा छोरीलाई पठनीय तथा सन्देशमूलक शैक्षिक सामग्री उपलब्ध गराई उनीहरूको सृजनशिलतामा प्रोत्साहन थप्ने काम गर्नुपर्ने कुरा पनि समावेश गरेको पाइन्छ । नाबालकहरूलाई आफूभन्दा ठूलाको आज्ञा पालन गर्न, आदर र सम्मान गर्न सिकाई उनीहरूलाई कुलत तथा अश्लील विषयबाट टाढा राख्नुपर्छ । अहिले युवापुस्ता आफ्नो मौलिक संस्कृति तथा संस्कार, जीवनशैलीलाई त्यागी पाश्चात्य रहनसहन, खानपान र व्यक्तिवादी सोचमा मनमस्त रहेको र आधुनिककरणको नाममा समाज विकृति विसङ्गतिबाट ग्रस्त हुँदै गएको समाजमा आमा बाबुले सन्तानलाई सामाजिक मूल्य मान्यता सिकाउनुपर्ने कर्तव्य बहन गराउनुले हाम्रो समाजको पारिवारिक तथा सामाजिक संरचनामा कति स्खलन आइरहेको छ भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ । आफ्नो सन्तानलाई सामाजिक मर्यादा, शिष्टाचार, सदाचार, नैतिकता, संस्कार, संस्कृति र रहनसहन सिकाउने, बुझाउने र सोअनुसार आचरण गर्न सिकाउनुपर्छ र उनीहरूलाई इमानदार, आत्मविश्वास, स्वावलम्बन, सच्चरित्रता, परिश्रम अनुशासनजस्ता सामाजिक मूल्यमा आधारित नैतिक शिक्षा दिनुपर्छ । आमाबाबुको जिम्मेवारी सन्तान जन्माउने र हुर्काउनेमात्र होइन उनीहरूलाई सभ्य नागरिक बनाउनुपर्ने हो भन्ने कुरा यसबाट बुझ्न सकिन्छ ।
नेपाली समाजमा छोरा छोरीलाई विभेदपूर्ण व्यवहार गर्नु कुनै नौलो होइन । छोरा मान्छे बुढेशकालको लाठी, दागबत्ती दिने, मरेपछि स्वर्गको बाटो खोल्ने, छोरी मान्छे अर्काको घर जाने आइमाई भन्नेजस्ता पितृसत्तात्मक सोचले मानिसको मतिमा जरा गाडेसम्म पक्षपात भइरहनेछ । त्यसैले यस ऐनले आमा बाबुले आफ्नो छोरा, छोरीको पालनपोषण, शिक्षा तथा दीक्षा, खेलकुद, स्वास्थ्योपचार, मनोरञ्जन, सुविधा वा घरेलु कामकाजमा छोरा वा छोरीको आधारमा वा छोरा छोरा वा छोरी छोरीबीच कुनै किसिमको भेदभाव गर्न हुँदैन ।
केही वर्ष अघिसम्म कसैलाई एच.आई.भी. एड्स रोग लागेमा परिवार तथा समाजमा बहिष्कार गर्ने गथ्र्यो । अहिले पनि यस्ता घटनाहरू सुन्न पाइन्छ । तसर्थ यस संहिताले त्यस्ता प्राणघातक रोग लागेका तथा शारीरिक तथा मानसिक अपाङ्गता भएका आफ्ना सन्तानको विशेष हेरचाह गर्नुपर्ने कुरा उल्लेख गरेको छ ।
कसैले पनि आफ्ना सन्तानविरुद्ध कार्य गर्ने, यातना दिने तथा अन्य क्रियाकलाप गर्नुहँुदैन । त्यस्तो काम गरेको कुरा कुनै व्यक्ति वा बाल कल्याणसम्बन्धी संस्थाको उजुर परी त्यस्तो कार्य गरेको प्रमाणित भए त्यस्ता आमाबाबुलाई सन्तानको जिम्मेवारी मातापिताको अख्तियारी वा अधिकार प्रयोग गर्नबाट रोक लगाइन्छ । सन्तानलाई पटक–पटक हेला गरेको, अनैतिक वा यौनजन्य पेशामा लगाएको, क्रुर, अमानवीय व्यवहार गरेको, जीउ ज्यानमा खतरा हुने काममा लगाएको र नाबालकको हितविरुद्ध अन्य काम गराएमा आमा बाबुलाई निजको कर्तव्य र अधिकारबाट बञ्चित गर्नसक्छ । यसरी प्रस्तुत देवानीसंहिताले आमाबाबुको सन्तानप्रति काम, कर्तव्य र जिम्मेवारीलाई व्यापक रुपमा समावेश गरेको छ ।
प्रस्तुत ऐनले मातृक तथा पैतृक अख्तियारी अन्त्य हुने व्यवस्था बनाई छोरा छोरी बालिग र सक्षम, योग्य भएपछि आफ्नो जिम्मेवारी आफै लिनुपर्छ भन्ने मनसाय राखेको प्रस्ट बुभ्mन सकिन्छ । यदि सन्तानको उमेर अठार वर्ष पूरा भएमा, निज सन्तानले रोजगारी प्राप्त गरी भिन्न बसेको अवस्थामा आमा बाबु सन्तानको जिम्मेवारीबाट मुक्त हुनसक्छ । तर कुनै सन्तान शारीरिक तथा मानसिक रुपले अशक्त भए निजको जिम्मा अभिभावकको नै रहन्छ । त्यस्तै आमा बाबुबीच वा लोग्ने स्वास्नीबीच सम्बन्ध विच्छेद वा भिन्न बसेको भए जिम्मा लिनेले आवश्यक हेरविचार र स्याहार सम्भार गर्नुपर्दछ । आमा बाबुबाट अंश लिई वा नलिई छुट्टै बसेको, विवाह गरेको, सन्तानको उमेर २१ वर्ष पुगेको, रोजगारी गरिरहेको अवस्थामा बाहेक अभिभावकको सहमतिबिना छोरा छोरीले भिन्न बस्न पाउँदैन ।
कुनै पनि समाजको आधारभूत सामाजिक एकाइको रुपमा परिवार रहेको हुँदा बालबालिकाले परिवारबाट सिकेका व्यवहारिक ज्ञान, नैतिकता सदाचारले समाज र देशलाई प्रत्यक्ष परोक्ष रुपमा प्रभाव पारेको हुन्छ । परिवारका सदस्यहरूबीच देखिने वादविवाद, झै–झगडा परिवार विघटनजस्ता समस्याहरूको असर अन्ततः समाज र सामाजिक मूल्य मान्यतामा नै पर्ने हो । परिवारबाट छोराछोरीले असल, सदाचार र नैतिकताको कुरा सिके त्यसले समय अन्तरालमा सामाजिक मूल्य मान्यतालाई नै मजबूत बनाउँछ । त्यसैले परिवार र परिवारका सदस्यहरू आमा बाबु र छोरा छोरीहरूले पालना गर्नुपर्ने कर्तव्य र जिम्मेवारीलाई यस मुलुकी देवानीसंहिता ऐन २०७४ ले विशेष महत्व दिएको पाइन्छ ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *