भर्खरै :

घरेलु महिला हिंसाका कारणहरू र यसबाट बच्ने उपायहरू

 सुनिता गाइसी
आजको समाजमा समानताको नारा लगाउने जमात हजारौ छन् । बाहिर महिला समानताको कुरा गरेपनि आफनो घरभित्र हुने घरेलु हिंसालाई उनीहरूले वास्ता गरेका हुँदैनन् । घरभित्र हुने विभिन्न किसिमका हिंसाबाट महिलाहरू पीडित हँुदै आएका छन् । नेपालको सन्दर्भमा २०६८ को जनगणनाले ५१.५ प्रतिशत महिला रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । आधा आकाश ढाक्ने जनसङ्ख्या नै हिंसाको शिकार हुन पुगेकोले देश विकासमा बाधा पुगेको छ । महिला हिंसा भन्नाले एक पुरुष वा महिला अर्काे महिला विरुद्धमा गरिने शारीरिक, मानसिक, धार्मिक हिंसा भनिन्छ ।
घरेलु हिंसा भन्नाले विभिन्न कुराहरू पर्दछ जस्तैः बालबच्चा विरुद्धको हिंसा, बाबुआमा वा युवामाथि हुने हिंसा इत्यादि ।
घरेलु हिंसा शब्दलाई सबैभन्दा पहिले आधुनिक सन्दर्भमा बेलायतको संसदमा Jack Ashley n.1973 मा प्रयोग भएको थियो । परम्परागत रुपमा हेर्ने हो भन्ने घरेलु हिंसालाई शारीरिक हिंसा बुझिन्छ । घरेलु हिंसा अपराध हो । घरेलु हिंसा ऐन २०६६, मा व्यवस्था भएअनुसार महिलामाथि हुने शारीरिक, मानसिक, यौनजन्य र आर्थिक हिंसा गर्ने जो कोहीलाई पनि सजायको व्यवस्था छ । महिलाविरुद्ध हुने सबै हिंसाहरूको अन्त्य गर्नुपर्दछ । दक्षिण एसियामा ५० प्रतिशत महिला आफनो जिवनमा कुनै न कुनै समयमा घरेलु हिंसाको शिकार हुन्छन् । महिलामाथि हुने हिंसा विश्वव्यायी छ । विश्वभरमै यसले प्रत्येक ३ मा १ महिलालाई पीडा पु¥याउने वा ज्यानै लिने गरेको छ । नेपालमा पनि दाइजोको निहुँमा महिलाको ज्यानसम्म पनि गएको छ । दाइजोकै कारण महिलाहरूलाई जिउँदै जलाउने जस्तो अमानीवय कार्यहरू पनि हाम्रो समाजमा भैरहेको छ । यस्ता कुकार्यलाई तत्कालै हटाउनुपर्दछ ।
घरेलु हिंसा हुनका विभिन्न कारणहरू छन तीमध्ये पनि मुख्य–मुख्य कारणहरू यसप्रकार छन् ः–
-परम्परागत कुरीतिलाई अझै पालना गर्नु,
-पितृसतात्मक सामाजिक संरचना,
-गरिबी,
-अशिक्षा,
-जनचेतनाको कमी,
-महिलाहरूलाई आफ्नो हक अधिकारको बारेमा जानकारी नहुनु,
-महिलाहरूले आफूमाथि भएको हिंसाको विरुद्घ आवाज नउठाउनु,
-समाजमा बदनामी हुन्छ भन्ने डरले घरेलु हिंसाका घटना बाहिर नआउनु, जसले गर्दा हिंसा गर्ने मानिसलाई उत्साहित पार्नु,
-महिलाले आफूले आफैलाई कमजोर ठान्नु,
-समाजले महिलालाई समानताको नजरले हेर्न नसक्नु,
-कानुनमा समानताको अधिकार लेखिए पनि व्यवहारमा लागू हुन नसक्नु,
-महिलालाई आत्मरक्षासम्बन्धी तालिम नदिनु,
-महिलाको सामाजिकीकरणको प्रक्रियामा उसलाई कमजोर पार्नु,
-जन्मेदेखि छोरा र छोरीलाई फरक किसिमले व्यवहार गर्नु, शिक्षादिक्षा दिनु, (छोरी भए अरुको घर जाने जात भन्दै हाँस्न, बोल्नमा समेत बन्देज लगाउने)
-समानताका पक्षमा बनेका कानुनको कडाइका साथ पालना नहुनु,
-महिला हिंसाविरुद्ध महिलाहरू नै एकजुट हुन नसक्नु,
-समाजमा प्रचलित विभिन्न कुप्रथाहरू जस्तै (देउकी, झुमा, बाधा प्रथा, छुवाछुत, लैङ्गिक विभेद)
वास्तवमा महिलाबिनाको संसार अधुरो छ । महिला र पुरुष एक रथका दुई पाङग्रा हुन । महिला र पुरुष दुवैलाई समान रुपमा अगाडि लैजान सकेमात्र विकास निर्माणका कामहरू अगाडि बढ्न सक्दछन् । यदि यी दुईमध्ये एक पछाडि परेमा देश विकासले गति लिन सक्दैन । हाल हाम्रो देशमा भइरहेको पनि यस्तै हो । वि.सं. २०१३ सालमा पहिलो पञ्च वर्षीय योजना लागू भएको थियो । अहिले हामी १४ औं त्रिवर्षीय योजनामा छांै यहाँसम्म आईपुग्दा पनि देश विकासले गति लिन सकेको छैन, अझै पनि गरिबी, अशिक्षा, बेरोजगारी ज्युकात्युँ रहेको छ । त्यसैले विकासका लागि लैङ्गिक समानता र समता हुन जरुरी छ ।
नेपालको संविधान २०७२ को धारा ३८ मा महिलाको हक व्यवस्था गरिएको छ । यस संविधानमा महिलालाई निम्न हकको व्यवस्था रहेको उल्लेख गरिएको छ ः
-प्रत्येक महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक हुनेछ ।
-प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ ।
-महिलाविरुद्घ धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरीक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।
-राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।
-महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ ।
-सम्पति तथा पारिवारिक मामिला दम्पतिको समान हक हुनेछ ।
यसरी कानुनले महिलालाई विभिन्न हक अधिकार दिए पनि ती अधिकार कानुन मै सीमित रहेको छ, व्यवहारमा देखिंदैन । घरेलु हिंसा घटनुको साटो दिनदिनै बढिरहेको छ । यसलाई बलैमा नियन्त्रण गर्नु आजको आवश्यकता हो । नत्र समाजमा यसले नकारात्मक असर पार्दछ । घरेलु महिला हिंसा महिलाबाट महिलालाई पनि हुने गरेको छ  । जस्तैः सासुले बुहारीमाथि, नन्दले भाउजुमाथि । त्यसैले घरेलु महिला हिंसा कम गर्न सबैभन्दा पहिला महिला सचेत र एकजुट हुनुपर्दछ । घरेलु महिला हिंसाबाट बच्ने निम्न उपायहरू छन् ः
-महिलाका सम्बन्धमा बनेका नियम, कानुनलाई कडाइका साथ पालना गर्नुपर्दछ ।
-घरेलु महिला हिंसाविरुद्घ जनचेतना फैलाउनुपर्दछ ।
-महिलाले पनि आफूमाथि भएको हिंसाका विरुद्घ आवाज उठाउनुपर्दछ ।
-पीडित महिला आफनो बेइज्जत हुन्छ भनी चुपलागेर बस्नुहुँदैन । त्यस्तालाई कानुनको कठघरामा उभ्याउनुपर्दछ र समाजले पनि त्यस्ता महिलालाई हौसला र साथ दिनुपर्दछ ।
-महिलाहरूलाई पनि आत्मरक्षासम्बन्धी विभिन्न किसिमका तालिमहरू दिनुपर्दछ जसले गर्दा उनीहरू हरेक पाइलामा सुरक्षित हुन सक्दछन् ।
-महिला र पुरुषबीच रहेका विभिन्न असमानताका खाल्डाहरू छन्, तिनीहरूलाई पुर्न सबैलाई शिक्षित र सभ्य बनाउनुपर्दछ ।
-सामाजिकीकरणको प्रक्रियामै छोरा र छोरीबीचको भेदभाव हटाउनुपर्दछ । दुवैलाई समान रुपमा शिक्षा दीक्षा दिनुपर्दछ । हाल भैरहेको छोरी भ्रुणहत्या तत्कालै रोक्नुपर्दछ । यदि यो क्रम बढ्दै जाने हो भने भविष्यमा महिलाको सङ्ख्या कम हुँदै जानेछ र यसले अरु नकारात्मक पक्षहरूको सृजना गर्नेछ ।
-नेपालमा विद्यमान विभिन्न कुसंस्कार, कुपरम्परालाई हटाउँदै जानुपर्दछ । जस्तैः छाउपडी, छुवाछुत, देउकी, झुमा, दाइजो प्रथा इत्यादि ।
-महिलालाई दोस्रो वर्गको नागरिकजस्तो व्यवहार गर्नुहुँदैन ।
-समाजमा रहेको नीति नियमहरू पनि महिलामैत्री हुनु जरुरी छ ।
-हिंसा गर्ने व्यक्ति वा समुहलाई समाजबाटै बहिष्कार गर्नुपर्दछ ।
-महिलालाई विभिन्न तालिम दिएर आर्थिक रुपमा सशक्त बनाउनुपर्दछ ।
-महिला हिंसा घटाउन पुरुषहरूलाई पनि जनचेतनामुलक कार्यक्रममा सहभागी गराउनुपर्दछ ।
-पिडकलाई सक्दो कडा सजाय दिनुपर्दछ ।
-महिलाले पनि आफुलाई कमजोर ठान्नुहुँदैन ।
मानव समाजको उत्पतिलाई खोत्लने हो भने सुरुको समाज मातृसतात्मक रहेको थियो भन्ने भनाइ विभिन्न समाजशास्त्रीको भनाइ छ । त्यति बेलाको समाजमा महिलाको स्थान राम्रो थियो । अवसर पाएमा महिलाले पनि राम्रो नेतृत्व गर्न सक्दछन् । आजको आधुनिक युगमा राम्रो शिक्षा दीक्षा पाएका महिलाले विभिन्न कार्य कुशलतापूर्वक गर्दै आएका छन् । त्यसैले महिलालाई पनि उचित अवसर दिनुपर्दछ । महिलामाथि हुने हिंसाले समाजलाई कलङ्कित पारेको छ । यस्ता हिंसात्मक क्रियाकलापलाई समाजबाट निर्मूल पार्नुपर्दछ र समृद्ध, सभ्य समाजको निर्माणमा सबैले हातेमालो गर्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *