भर्खरै :

घर छैन, कहाँ मान्ने दशैं ?

रामबहादुर थापा
बागलुङ, २४ असोज । यसपालि बसिमाया परियारलाई दशैं दशा बनेर आएको छ । गएको वर्षायाममा घरबास गुमाउनुभएकी ५२ वर्षीया परियारलाई एउटै कुराको पिरलो छ, दशैं कहाँ मान्ने ? दुुःखी हुँदै उहाँले भन्नुभयो, “छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने ?” चाडबाडको मुखमा यस्तो पीडा भोग्नेमा उहाँमात्र एक्लो हुनुहुन्न ।
काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १४ परिवारको व्यथा समान छ । गत असार ११ गतेको भीषण वर्षाले गाउँ भासिएपछि काउलेका बासिन्दा विस्थापित बनेका हुन् । १३्र दलित र एक जनजाति परिवारका ४६ सदस्य अहिले छिमेकीको आश्रयमा छन् । इन्द्रबहादुर परियारले यसपालि दशैंमा आफ्नो आँगन, दैलो टेक्न पाउने हुने छैन ।
दुबईबाट दशैंमा घर आउन लाग्नुभएका परियारकी श्रीमती सुमित्रा र तीन छोरा आफन्तको घरमा बस्छन् । “घरगोठ सबै भत्कियो, गरेर खाने बारी पनि चिराचिरा छ” सुमित्राले दुःखेसो पोख्नुभयो । १६ महीने काखको छोरा अमितसँगै तीन छोरा साथमा लिएर उहाँ अहिले विस्थापनका कष्टपूर्ण दिन काटी रहनुभएको छ ।
विस्थापित बनेकामध्ये अधिकांश परिवार कोठा भाडामा लिएर दुःखजिलो गरी बसेका छन् । दैनिक मजदूरी गरेर जीविका चलाउने परिवार थातथलो नै गुमेपछि विचल्लीमा परेका हुन् । घरगोठ, खेती गर्नलाई भएको सानो जमीन पनि खण्डमा परिणत भएको छ । ७२ वर्षीय डिलबहादुर परियारले खाइनखाई रु. दुई लाख खर्चेर बनाएको घर गुमाउनुपरेको बताउनुभयो ।
सत्तरी वर्षीया श्रीमती बिजुला परियारको साथमा उहाँ पनि छिमेकीको घरमा भाडामा बस्नुहुन्छ । “महिनाको रु. एक हजारमा बसेका छौं”, उहाँले भन्नुभयो, “सरसामान, लत्ताकपडा, खाने, सुत्ने सबै एउटै कोठामा छ ।” महिनौं बित्दासमेत विस्थापित परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन् । पुनःस्थापनाको लागि पहल अघि बढे पनि ठोस काम हुन सकेको छैन ।
घरबाससँगै खेती कमाउने जग्गा पनि गुमेपछि विस्थापित परिवार चरम समस्यामा परेका हुन् । “बिहान, बेलुकाको छाक टार्नै धौ–धौको अवस्था छ” विस्थापित हीराकुमारी पुनले भन्नुभयो, “राहत र पुनःस्थापनाको लागि आश्वासनमात्र आउँछ ।” सरकारी निकायका पदाधिकारी र स्थानीय जनप्रतिनिधिले नआत्तिनुस् हामी छौं भनेर ढाडसमात्रै दिने गरेको विस्थापितको गुनासो छ ।
“आशैआशमा यत्रो महिना बित्यो, सबै आउँदा, भेट्दा केही पाउने भइयो भन्ने लाग्छ” विस्थापित बसिमाया परियारले भन्नुभयो । वडाध्यक्ष शिव कँडेलले प्रारम्भिक चरणको राहत बाँडे पनि क्षतिपूर्ति र पुनःस्थापनामा ढिलाइ भएको स्वीकार गर्नुभयो । विस्थापित परिवारको लागि बस्ती बसाल्न सुरक्षित ठाउँमा जग्गा खोज्ने प्रक्रिया अघि बढेको उहाँको भनाइ छ ।
सोही वडाको सिर्पाली र लामराती भन्ने ठाउँमा जग्गा हेर्ने काम भइरहेको जनाइएको छ । चौध घर बनाउन करीब रु. २५ लाख मूल्य बराबरको जग्गा व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । जग्गा खरीदकै लागि बिहुँकोट समाज जापानले आर्थिक सङ्कलन अभियान थालेको छ । उक्त अभियानबाट हालसम्म रु. चार लाख उठेको जनाइएको छ ।
अन्य क्षेत्रबाट पनि सहयोग जुट्ने क्रम सुरु भएको वडाध्यक्ष कँडेलले बताउनुभयो । गुल्मी समाज जापानबाट पनि रु. एक लाख २० हजार राहत जुटेको छ । उक्त रकम दशैं खर्चस्वरुप विस्थापित परिवारलाई सोमबार वितरण गरिएको थियो । तत्कालै अस्थायी टहरा बनाएर विस्थापितलाई राख्ने गाउँपालिकाको प्रतिबद्धता भने पूरा हुने सकेको छैन ।
दीर्घकालीन पुनःस्थापनाको लागि समय लाग्ने हुँदा अस्थायी संरचना बनाउने योजना गाउँपालिकाको थियो । गाउँपालिका अध्यक्ष अम्मर थापाले जग्गा व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउनुभयो । “सार्वजनिक जग्गामा राख्दा समस्या निम्तने हुँदा सकभर निजी जग्गा खोज्नुस् भनेका छौं” उहाँले भन्नुभयो, “जग्गा भयो भने घर बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्छ ।”
जग्गा भएको खण्डमा जनता आवास कार्यक्रमबाट पनि घर निर्माण गर्न सकिने बताइएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग छेउ काउलेको जमिन धसिदा लोकमार्ग पनि जोखिममा छ ।
भू–गर्भविद्को टोलीले पनि स्थलगत अवलोकन गरी काउलेमा बस्ती राख्न नमिल्ने निष्कर्ष निकालेको थियो । जमिन भासिन थालेपछि पहिरोको डरले गाउँले बेलैमा सुरक्षित ठाउँतिर लागेका कारण त्यतिबेला कुनै मानवीय क्षति भने हुन पाएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *