भर्खरै :

साल्गीको बलात्कृत आँसु

पारिजात
कानपुरको एउटा कहिल्यै घाम नछिर्ने कोठामा, पूर्वी झ्यालबाट बिहान हुनुको आभास बिस्तारै भित्र पस्छ । ध्वाँसे उज्यालोमा देखिन्छ, एउटी तरुनीको अस्तव्यस्त लास जस्तो शरीर । कोठाको कुनामा राखिएको खाटमाथि पल्टिएको छ । लाज उदाङ्गिएको उसको शरीरलाई हेर्दा यस्तो लाग्छ मानौं यौन भोका पुरुषहरूले उसलाई रातभरिमा दसौंपल्ट बलात्कार गरेर फालिदिएका छन् । कोठामा ठर्राको हलुका गन्ध रुमल्लिरहेको छ । ओछ्यानभरि बेलीको फूल किच्चिएर मिच्चिएर छरिएका छन्, निर्मम हत्केलाहरू निमोठ्दै फालिदिए जस्तो, ठीक त्यो तरुनीको ज्यँुदो लासजस्तै ।
एक छिनपछि अचानक तर्सेर ऊ ब्युँझन्छे र सोच्छे ‘छि … कति नराम्रो सपना देखिछु, लुम्रीझुम्री भएकी मेरी आमा त हरियो टपरीमा भात खाइरहेकी ।’ आँखामा कचल्टिएको निद्रा बिझाइरहेको छ, सारा शरीर दुखिरहेको छ तैपनि बिस्तारै उठेर ऊ झ्यालको उज्यालोसम्म आउँछे त्यही अस्तव्यस्त अवस्थामा । लाज त सयौंपल्ट उग्राएर सयौंपल्ट पचिसकेको छ । त्यसैले लाज मरिसकेको छ उसको मानसमा । शरीरसँग लाजको अब कुनै साइनो छैन । छेउमा राखिएको ऐना टिपेर आफ्नो अनुहार हेर्छे, निकै बीभत्स भएछ हिलोपानीले चुटेको पोष्टर जस्तो । ओठबाट भागेर लिपिस्टिक च्युँडो, गर्धन जतासुकै पुगेछ, गालाको लाली बेपत्ता, गाजल आँखाबाट बगेर गालाभरि पोतिएछ ।
विरक्तिसाथ ऐना झट्कारेर फालिसकेपछि ऊ फेरि झ्यालबाट छिरेर ध्वाँसे उज्यालोलाई आत्मसात् गर्दै सोच्न थाल्छे, यहाँबाट नेपाल उत्तरपट्टि पर्छ । सिन्धुपाल्चोकमा पनि यतिखेर घाम लागिसक्यो होला । यहाँ घाम देख्नै पाइँदैन, एक वर्ष भयो घाम देख्न नपाएको, ए…नी…लै… लैै यतिखेर कान्लानेरको दुधिलोको रुखको पात घाममा टल्किरहेको होला । अब माली गाईको बाच्छी आ… बाँ गरेर कराउँछे । आबा ‘म्हाने पेमे’ सिध्याएर अघि नै डाँडाको घ्याङतिर लागिसके होलान् । आमा रुँदै गाईलाई घाँस हाल्दै होली र भन्दै होली मन मनमा बुढेसकालको टेको त्यो साल्गी कहाँ गइहोली, मरिसकीं कि बाँचेकी होली, कुन पापीले भगायो होला त्यसलाई, त्यसलाई नजर लाउने थुप्रै थिए, फर्केर आउली कि नआउली । भीरबाट खसेर कतै मरी पो राखेकी छ कि भनी लाठेहरू लगाएर पहरा हुँदो खोजे होलान् मलाई पनि, पोहोर सुन्तली हराउँदा खोजेजस्तै । सुन्तली पनि त फर्केर आइन, लास पनि पाएन । “ए साल्गी मोरी यतिखेरसम्म सुतिबस्छेस्, अल्छिनी, हामी त बैंसमा यतिबेलासम्म तीन भारी घाँस ओसारिसक्थ्यौं, खानका काल ।”
जन्मदै मेरो कपाल लामो लामो थियो रे र मेरी आमाले मलाई साल्गी भनेर नाउँ राखिदिएको मेरो यो बाबियोको कुचोजस्तो लामो कपाल देखेर दौंतरीहरू मलाई गिज्याउने गर्थे, “मन परेकोसँग पोइल जान नपाए यो सानीलाई आफ्नै कपालले पासो हालेर मर्न भियाउँछ ।” अब मेरी आमाले मकैको जाँडमा फिर्के लगाउँछे । लश्करी बाख्रीले कति खोजी होली मलाई, ब्याउने थिई बिचरी । सोच्दा–सोच्दै उसका बासी आँखाहरूबाट तपतप आँसु चुहुन थाल्छ । पेटीकोटको घेरोले ऊ आफ्ना आँखा पुस्छे ।
कोठा बाहिर एउटी प्रौढाको कर्कश स्वर गुञ्जन थालेको छ, “लौंडियो उठो, कितनी देरतक सोते रहेते हैं ये लोग । नहाओ, धोओ, नाश्ता करो, दिनभर पडे रहो … ।”
भर्खर सपनामा आफ्नी आमालाई देखेकी साल्गीको मन सिन्धुपाल्चोकको डाँडा गाउँबाट फर्किन मान्दैन । आँसु पुछ्दै ऊ मनमनमा दोहो¥याउँछे, ‘मेरी आमा रातभरि लोग्नेमान्छेहरूको सास गन्हाउने यो कोठामा एकछिन पनि बस्न मन लाग्दैन, भागेर आऊँ त कसरी आऊँ । यो बिरानो मुलुकमा मेरो ढोका बाहिरको सडक पनि मेरो लागि अचिनारु छ । ल्वाँगे घर्तीले नेपालमा हिँड्, गलैँचा बुन्ने कारखानामा काम लगाइदिन्छु, थुप्रै पैसा कमाउँछेस् भनी भगाएर ल्याएको, यो कुन नर्कमा ल्याएर छोडिदियो ल्वाँगे पापीले मलाई यो होटलमा । हो, एकछिन बस्दै गर म एकैछिनमा आउँछु भनी गएको ल्वाँगे एक वर्ष भइसक्यो फर्केर आएन । म तिम्रो अनुहार कहिले हेर्न पाउँला मेरी आमा ।’ मैलो पेटीकोटले आँसु पुछ्दै ऊ घुँक्कघुँक्क रुन्छे ।
अब कोठामा फिक्का उज्यालो छरिन्छ । कता–कता रिक्सा र मोटरको हर्न बजेको सुनिन्छ । सरदार्नीको कोठाबाट भजनसँगै तमाखुको वास बाहिरिँदै छ । साल्गीलाई केही गर्न मन लाग्दैन, आमा बिरामी पो परिन् कि न, आबालाई केही पो भयो कि ? बस, यति सोच्छे, रुन्छे । हुँदा–हुँदा ऊ झ्यालअघिको भुइँमा लमतन्न परेर पस्रन्छे । वर्ष दिनअघिको विगतको एक पाना पर्लक्क पल्टिन्छ ।
लश्करी बाख्री चराउन गएकी थिई ऊ, मामाघरबाट पेवा दिएको बाख्रा । दसैंताकको रमाइलो घाम लागिरहेको थियो । घाम र झ्याउँकिरीको आवाजमा दशैंको बास चल्न थालिसकेको थियो । अप्ठ्यारो डिलमा उम्रेको एेंसेलुको फेदमा लश्करी चरिरहेकी थिई । त्यसैको अलिक पर बसेर साल्गी पोल्टोबाट मकै भटमास झिक्दै खाँदै थिई । उसको भावना अर्कैतिर बगिरहेको थियो । उसलाई माग्न आउने थुप्रै भइसकेका थिए तथापि उसका आबा आमाले उसलाई उसकै मामाको छोरोसँग दिने तय गरे । खाइवा लामा हो, थान्का राम्रो लेख्छ, पैसा कमाउँछ, दाजुभाइको छोरीसँग रीत के खाने ? नखाने … । आफ्नै मामाको घरमा छोरी सुखमा बस्छे । आमा यसै भन्थी तर कुरो छिनिसकेको थिएन, बिहे गरिदिनलाई अलिकति पैसा त चाहिन्छ ।
त्यति नै खेर मास्तिरबाट सुसेल्दै ल्वाँगे घर्ती झरेको थियो र हाँस्दै उसलाई एउटा फेटावाल चुरोट दिएको थियो । चुरोट सल्काइदिँदै ल्वाँगे घर्तीले भनेको थियो । “क्या होई साल्गी, नेपाल घुम्न जाने होइन ?”
“जान्नँ, त्यो एकपल्ट हेरेकै ठाउँ त हो नि” उसले नाक चेप्राइ–दिएकी थिई ।
ल्वाँगेले फेरि भनेको थियो, “तँ गएको जस्तो हो र अहिलेको नेपाल । कस्तो भइसकेको छ गाँठे, तर मैले तँलाई घुम्न मात्र जान भनेको होइन नि, पैसा कमाउन पो भनेको त ।”
त्यसपछि जिज्ञासाले भरिए उसले सोधेकी थिई, “प… पैसा… ?”
उसको जिज्ञासालाई ल्वाँगेले यसरी प्रस्टाइदिएको थियो, “हेर साल्गी, अहिले नेपालमा गलैंचा बुन्ने कारखाना थुप्रै खुलेको छ । तैँले भनेको ठाउँमा म लगाइदिन्छु । पहिलो महिनादेखि नै चार सय रुपियाँ दिन्छु भनेको छ, कम हो चार सय रुपियाँ भनेको ¤ के विचार छ, जान्छेस् ?”
महिनाको चार सय रुपियाँ कमाउने कुरा सुन्दा उसको आँखा बिस्फारित भएको थियो र सोचेकी थिई, यतिका पैसा ल्याएर आमा आबालाई दिन पाए त …. त्यसपछि ऊ बोलेकी थिई, “आमा–आबाले दिँदैनन् ।”
“सोधेर हेर् न एकपल्ट, दिएन भने हिँड् न सुटुक्कै’ ल्वाँगेले सल्लाह दिएको थियो ।
आमा–आबा छोडेर जानपर्ला भनी उसको मुटु एकपल्ट चिमटेको जस्तो भयो । उसले भनेकी थिई, “आमा–आबा रोएर मर्लान् ?”
खप्पिस ल्वाँगे घर्तीले उसलाई अन्तिमपल्ट फकाएको थियो, “नेपालमा गलैंचा कारखानामा काम गर्न गएकी छ भनी हल्ला फिजाई राखिदिउँला नि । अनि त एक–दुई दिनपछि खोज्दै–खोज्दै कारखानामा नै आइपुगिहाल्छन् नि, दशैं मनाई हाल न ।”
दशैं सिद्धिएर तिहार आउनअघि ल्वाँगे घर्तीले एकदिन साल्गीलाई भालेको डाकैमा डाँडा कटाइदियोे । त्यसपछि साल्गी कहिल्यै नेपाल पुगिन । लश्करी बाख्री कानै पे … गरेर कराएको जस्तो लाग्यो उसलाई । उसका बासी आँखाबाट फेरि आँसुको ओइरो बगेर आयो ।
सपनामा आमा देखेकी भएर आज उसलाई पटक्कै उठ्न मन लागेको छैन, खान मन पनि छैन । ऊ घरीघरी ल्वाँगे घर्तीलाई आफ्नै मनको हतियारले टुक्रा–टुक्रा काट्दै, क्षतिविक्षत पार्दै बसिरहन्छे । यसरी उसको आक्रोश पटक्कै शान्त हुँदैन । उसलाई त्यही झ्यालबाट हाम फाल्न मान लाग्छ, तर सक्दिन । सास छउन्जेल आस हुन्छ, सोच्छे, कतै एक दिन यहाँबाट भाग्न सकिएला कि ¤ भाग्यको कुरो को भन्न सक्छ ।
वेश्यालयभित्रको दिन कति एकरस, कति नीरस, कति उजाड, असङ्ख्य व्यथा, आँसु, विवशता र मनको धोकोहरूले अचानो पारेको पर्खाल भरेङ र मझेरीहरू लिएर एउटा यस्तो कारावास बनेको हुँदो हो जहाँ असङ्ख्य पवित्र आत्माहरूले बिनाअपराध आजीवन कारावासको सजाय पाउँछन्, जहाँ निरपराधहरूले सधैं मानसिक र शारीरिक यन्त्रणा एकनास भोगिरहेका हुन्छन् । साल्गी जस्तैहरूको कौमार्यको रगतले सिँगारिएका कोठाहरूमा घोर विसङ्गत क्षणहरू हाई काढ्दै बाँच्दा हुन् । ती पवित्र आत्माहरू सिफिलिस, तिरस्कार, मूल्यहीन मृत्यु र बेवारिस लास भएर जीवनको टुङ्गो लगाउनपर्ने । सरदार्नी र दलालहरू सधैं भनिरहँदा हुन्, “आखिर क्या फरक है तुम लोगोंका जीवन बाहर और भितर ?”
साल्गीलाई उठ्ने, नुहाउने, खाने केही गर्ने पनि जाँगर चल्दैन । त्यसै पनि जीवनप्रतिको जिज्ञासा नाउँको भावना वेश्यालयभित्र हुँदैन । जतिसुकै नुहाए पनि, धोए पनि यहाँको फोहोरी वातावरण फेरिने होइन क्यार, मनको पवित्रता कसले देखोस् । दिनभरि आलस्यलाई यता फर्काऊ उता फर्काऊ, अर्को कुनै इलम त छैन । घोर विसङ्गतिको अनुभूति हुन थाल्छ साल्गीलाई, तर ऊ परिभाषा गर्न जान्दिन । उसको शरीरबाट अझ पनि लोग्ने मान्छेको दुर्गन्ध हराइसकेको छैन, उसले सिन्धुपाल्चोकबाट लिएर आएको आफ्नो मौलिक सुगन्ध कता हरायो कुन्नि ? साँझ पर्छ, भद्दा मेकअपमा सजिएर निस्कन पर्छ झ्यालतिर अश्लील साउती गर्नलाई । सस्तो प्रशाधन र बेली–चमेलीको चर्को बासनाले टाउको फुट्ला जस्तो हुन्छ, फेरि त्यसमाथि थपिन्छ पिएर आउनेहरूका रक्सीको गन्ध । सस्तो अगरबत्तीको धुवाँ, बासना उफ् ¤ वेश्यालय हो यो, यहाँ योभन्दा बेग्लै केही हुँदैन ।
साल्गी फेरि सोचाइमा बग्न थाल्छे । ठीक यतिखेर सेलो हाल्दै जाँतोमा मकै पिँधिरहेकी हुन्छे ऊ । आबाको उही, “ऊँ म्हाने पेमे” कति शान्ति दिन्छ कल्पना गर्दा पनि आबाको त्यो ग¥हुङ्गो स्वरमा घरभरि गुन्जिरहेको ऊँ म्हाने पेमे । तर यहाँ, यहाँ त ब्वाँसो, हाप्सिलो जस्तो लोग्ने मान्छेहरू घरमा स्वास्नीहरूलाई छलेर, पर्खाएर खुरुखुरु आउन थाल्छन् । अनि कराउन थाल्छन्, “वो वो नेपालिन चाहिये ।” कहिले छिन–छिनमा फेरिन्छन्, कहिले रातभरिलाई रिजर्भ । छि ¤ कति घिनलाग्दा हुन्छन् यी लोग्ने मान्छेहरू ।
यसरी साल्गीको थकान र विवशता भारतीय मुद्रासँग साटिएर सरदार्नीको पर्सभरि भरिँदै छ । एउटा भारतीय लोग्ने मान्छेले चरम सुख प्राप्त गरिरहेको बेला साल्गीको मनमा विद्रोहको भावना जाग्न थाल्छ । ‘टाढाको देउताभन्दा गाउँको भूत काम लाग्छ भन्थे तर पैसा तिरेर लुट्ने यी ब्वाँसाहरू भन्दा त्यो ल्वाँगे घर्ती डरलाग्दो हो, त्यो गाउँको भूत । मेरो पनि भूत ।’
त्यो भारतीय लोग्ने मान्छे उठेर गइसक्दा साल्गीको विद्रोह आँसु भएर पग्लन थाल्छ, ‘के कसैले पनि ल्वाँगे घर्ती र म गाउँबाट सँगै हराएको थाहा पाएन ? के कसैले पनि ल्वाँगे घर्तीलाई एक वचन सोधेन ? के ल्वाँगे घर्तीलाई मेरा गाउँलेहरू अब कहिल्यै चिन्दिैनन् ? किन ? ल्वाँगे घर्तीले पापको फल किन भोग्दैन ? किन ल्वाँगे घर्तीलाई कसैले खुकुरीले छपक्क काटेर दुई टुक्रा बनाइदिँदैन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *