भर्खरै :

ओकिनावा टापुबाट संरा अमेरिकी सेना हटाउने पक्षमा ओकिनावावासी जनता

टोकियो, १३ अक्टोबर । संरा अमेरिकी सैनिक अखडा रहेको जापानको ओकिनावा टापुका नयाँ गर्भनर डेनी तामाकीले जापानी प्रधानमन्त्री सिन्जो अबेलाई भेटेर ओकिनावा टापुबाट संरा अमेरिकी सैनिक अखडा हटाउन माग गरेका छन् । उनले विवादास्पद अमेरिकी सैनिक अखडा हालको स्थानबाट हटाएर ओकिनावाकै अरु कुनै भूभागमा राख्ने प्रस्तावको ओकिनावाका जनता विरोधमा रहेको बताएका छन् ।
‘हेनोकोमा नयाँ सैनिक आधार स्थापना गर्ने प्रस्तावप्रति मैले विरोध जनाएको छु र ओकिनावाका जनताले गर्भनरको चुनावमार्फत् पनि यो मत व्यक्त गरिसकेका छन् । मैले प्रधानमन्त्री अबेलाई ओकिनावाका जनताको आवाजप्रति गम्भीर हुन आग्रह गरेको छु ।’ उनले भने ।
अबेले संरा अमेरिकी जलसेनाअन्तर्गत हवाई अखडा ओकिनावाको धेरै जनसङ्ख्या भएको गिनोवान सहरबाट नागो जिल्लाको हेनोको जिल्लामा सार्ने प्रस्ताव गरेका छन् । तर गिनोवानको सट्टा हेनोको सहरमा सारे पनि त्यसको कुनै अर्थ नहुने ओकिनावाका जनताको विचार छ । उनीहरूले संरा अमेरिकी सैनिक अखडा जापानबाट बाहिर जानुपर्ने मत राख्दै आएका छन् ।
गर्भनर तामाकीले यो विषयमा ओकिनावा सरकार र जापानको केन्द्रीय सरकारबीच मतभेद भएको पत्रकार भेटघाटमा बताएका थिए । उनले यो समस्या समाधानको लागि वाशिङ्टनलाई समेत गुहार्न पछि नहट्ने धारणा राखे । उनले आफू सैनिक व्यारेक अन्यत्र सार्ने प्रस्तावको विरोधमा उभिने प्रतिबद्धता व्यक्त गरे ।
“संरा अमेरिकी सैनिक व्यारेक ओकिनावाकै अन्यत्र सार्ने प्रस्तावको यसअघिका दुई जना गर्भनर पनि विपक्ष उभिएका थिए । मेरो यो विचारमा यो विषयलाई लिएर संरा अमेरिकी सरकार पनि चुप बस्न मिल्दैन ।” उनले बताए ।
प्रधानमन्त्री अबेको कार्यालयमा भएको भेटवार्तामा गर्भनर तामाकीले संरा अमेरिकी सैनिक अखडाबारे जापान र संरा अमेरिकाबीच भएको सम्झौताका ‘आधारभूत पक्षमै पुनरावलोकन’ गर्नुपर्ने धारणा राख्नुभयो ।
संरा अमेरिका–जापान सैनिक सम्झौता (सोफा) को विषयमा ओकिनावा टापुको सरकार र केन्द्रीय सरकारले खटाएका स्थानीय अधिकारीहरूबीच पटक–पटक विवाद हुँदै आएको छ ।
संरा अमेरिकी सैनिकहरूबाट भएका दुर्घटना वा अपराध तथा ओकिनावामा रहेका अमेरिकी हतियारका कारण कुनै समस्या आए त्यसवापत जापानी सरकारी अधिकारीले कुनै किसिमको कारबाही गर्न सक्दैनन् । जापानी जनताको लागि लाग्ने कानुन संरा अमेरिकी सैनिकलाई उन्मुक्ति हुने गरेको छ ।
द्विपक्षीय सम्झौताको यही प्रावधानका कारण संरा अमेरिकी सैनिक वा हतियारबाट कुनै प्रकारको दुर्घटना भए त्यस ठाउँमा जापानी प्रहरी र अनुसन्धानकर्तालाई समेत प्रवेश निषेध गरिने गरेको छ । कोही पनि सैनिकलाई कुनै पनि अपराधमा गिरफ्तार गर्न वा अनुसन्धानको दायरामा ल्याउन जापानी सरकारी अधिकारीलाई छुट छैन ।
ओकिनावाका पूर्व गर्भनर ताकेशी ओनागाको निधनपश्चात गएको अक्टोबर ४ बाट त्यहाँको गर्भनर पदमा निर्वाचित भएका तामाकीले केन्द्रीय सरकारसमक्ष ओकिनावामाथि अन्यायपूर्वक भार थोपर्ने काम नगर्न भनेका छन् ।
अघिल्ला गर्भनर ओनागाको निधनअघि संरा अमेरिकी सैनिक अखडा निर्माणको लागि जग्गा अधिग्रहणको लागि बनाइएको विधेयकलाई असफल बनाइदिएका थिए । अहिलेका गर्भनर तामाकीले ओनागाप्रति आफूले विश्वास गर्ने भन्दै उनको र ओकिनावाका जनताको सपना आफूले पूरा गर्न चाहेको धारणा राखे ।
ओकिनावामा संरा अमेरिकी सैनिक अखडा बनाउने प्रस्ताव असफल बनाउन आफू तत्पर रहने उनको धारणा थियो ।
संरा अमेरिकी सैनिक अखडा भएको ओकिनावामा टापुका अमेरिकी सिपाहींबाट जापानी महिलामाथि बलात्कार, संरा अमेरिकी सैनिकको सैन्यअभ्यासका क्रममा हुने दुर्घटनाका कारण जापानी जनताले दुःख पाएका छन् । बितेका सात दसकदेखि ओकिनावा टापुमा संरा अमेरिकी सैनिक अखडा रहँदै आएको छ ।
ओकिनावाका जनता आफ्नो ठाउँबाट मात्र होइन, जापानबाटै नै संरा अमेरिकी सैनिक टापु हटाउनुपर्ने पक्षमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *